|

काठमाडौं : कक्षा–१२ को परीक्षा नतिजा हिजो (मंगलबार) सार्वजनिक भयो। अपेक्षितभन्दा बढी प्रतिशत विद्यार्थीहरू फेल भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार कक्षा १२ को परीक्षामा ४९.०९ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन्। ५१ प्रतिशत मात्रै पास भएका छन्।

विद्यार्थी सबैभन्दा बढी अङ्ग्रेजीमा कमजोर रहेका पाइएको छ। परीक्षामा नियमिततर्फ तीन लाख ७२ हजार ६३७, आंशितर्फक ६० हजार ९५९, ग्रेड वृद्धितर्फ १४ हजार १३५ र २०७२।०७३ को ग्रेडवृद्धितर्फ एक हजार १०६ जना गरी चार लाख ४८ हजार ८३७ जना सहभागी भएको बोर्डले जनाएको छ।

बोर्डका अनुसार यसमध्ये नियमिततर्फ एक लाख ८९ हजार ७११, आंशिकतर्फ १८ हजार ३०, ग्रेडवृद्धितर्फ ६ हजार १४० र २०७२।०७३ को ग्रेडवृद्धितर्फ ६५० जना ग्रेडेड अर्थात् उत्तीर्ण भएका छन्। ५१ जनाको विद्यार्थीको परीक्षा रद्द गरिएको छ भने थप पाँचजनाको परीक्षा रद्द गर्दै आगामी एक वर्षको कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी बोर्डले कारबाही गरेको छ।

६‚९७६ जनाले ल्याए ३.६१ देखि ४ जीपीए 

बोर्डका अनुसार यो वर्षको परीक्षामा ६ हजार ९७६ अर्थात् १.८७ प्रतिशत विद्यार्थीले ३.६१ देखि ४ जीपीए अर्थात् ‘ए प्लस ग्रेड’ ल्याएका छन्। २०७९ को परीक्षामा भने चार हजार १७९ अर्थात् १.१५ प्रतिशत विद्यार्थीले मात्रै ‘ए प्लस ग्रेड’ ल्याएका थिए। २०७९ मा भन्दा यो वर्ष दुई हजार ७९७ अर्थात् ०.७२ प्रतिशत बढी विद्यार्थीले यो जीपीए ल्याएका हुन्।   

यो वर्ष परीक्षा दिएका नियमिततर्फ तीन लाख ७२ हजार ६३७ परीक्षार्थीमध्ये ६ हजार ९७६ विद्यार्थीले ३.६१ देखि ४ जीपीए ल्याएका छन्। त्यसैगरी ३८ हजार ९९९ विद्यार्थीले ३.२१ देखि ३.६० जीपीए, ६९ हजार १७४ विद्यार्थीले २.८१ देखि ३.२० जीपीए, ६३ हजार ७७ विद्यार्थीले २.४० देखि २.८० जीपीए, ११ हजार ४३८ विद्यार्थीले २.१ देखि २.४० जीपीए र ४७ विद्यार्थीले १.६१ देखि २ जीपीए ल्याएको बोर्डले जनाएको छ।

किन धेरै विद्यार्थी फेल ?

शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाको बुझाइमा विभिन्न आधारका कारण कक्षा–१२ को परीक्षामा धेरै विद्यार्थीहरू फेल भएका छन्। उनका अनुसार विद्यार्थीको पठनशैली र शिक्षकहरूको पढाउने शैलीमा प्रश्न उठेको छ। ‘अर्को कारणमा विद्यार्थीहरू पाठ्यक्रम रहरले कि बाध्यताले पढिरहेका छन् भनी सोधखोज गर्नुपर्ने देखियो। विद्यार्थीहरूको रहरमा रहेका कुरा पाठ्यक्रममा छैन पो कि’, उनले भने।

यसैगरी सरकारले ग्रेडिङ प्रणाली लागू गर्‍याे तर यसको वैकल्पिक उपाय नदिएका कारण पनि यो समस्या भएको उनी बताउँछन्। ‘नन ग्रेडेडलाई के गर्ने भन्ने यहाँ विकल्प नै दिइएन’, उनले भने।

यो नतिजाअनुसार सबैभन्दा बढी विद्यार्थी अंग्रेजीमा ननग्रेडेड भएका छन्। यस विषयमा पनि सोधखोज गरी विश्लेषण गर्नुपर्ने शिक्षाविद् कोइरालाले बताए। ‘३ महिनामा कोरियाली भाषा पढे पास गर्न सक्ने अनि १२ महिना पढाउँदा पनि किन अंग्रेजी फेल? यसबारे अध्ययन र विश्लेषण गर्न जरुरी छ’, उनले भने।

सबैभन्दा धेरै अङ्ग्रेजीमा एक लाख नौ हजार ५२७ जना ननग्रेडेड भएका छन्। दोस्रोमा लेखा विषयमा ५२ हजार ७३ तथा सामाजिक अध्ययनमा ५१ हजार १०४ जनाको ननग्रेड आएको छ। सबै विषयमा ३५ प्रतिशत अङ्क ल्याएमात्र ग्रेडेड वा उत्तीर्ण हुने व्यवस्था छ।

‘हाम्रो शिक्षा नतिजामुखी होइन प्रक्रियामुखी मात्रै भयो’

अर्का शिक्षाविद् डा. मीनबहादुर शाही अहिलेको शिक्षा प्रणाली नतिजामुखी नभई प्रक्रियामुखी मात्रै रहेका कारण यसरी विद्यार्थीहरू फेल भएको बताउँछन्। उनले भने, ‘करिब ४९ प्रतिशत विद्यार्थी फेल हुनु भनेको सामान्य होइन, यो अत्याचार नै हो। सरकारको शैक्षिक प्रणाली, नीति गलत छ, माथिल्लो तहमा बसेर मपाइँ गरिरहेका छन्। यसैगरी शिक्षण सिकाइ, शिक्षा प्रणाली नतिजामुखी छैन, जे गरे पनि हुन्छ भन्ने प्रक्रियामुखी मात्रै भयो।’

उनले यहाँको परीक्षा प्रणाली राम्रो नभएको र विद्यार्थीहरूमा चिट चोर्ने, कण्ठ गर्ने प्रवृत्तिका कारण पनि अपेक्षितअनुसार उत्तीर्ण गर्न नसकेको बताए। उनका अनुसार राष्ट्रिय परीक्षा बोर्डका उच्च अधिकारीहरूमा कसरी पास गराउने भन्ने मात्रै सोचाइ छ। कसरी विद्यार्थीहरू सक्षम बनाउने भन्ने सोचाइ उनीहरूमा नभएको उनले बताए।

‘म अहिले पनि विद्यार्थीहरूसँग अन्तरसंवाद गरिरहेको छु’, उनले भने, ‘उनीहरूलाई खास के चाहिन्छ भन्ने बुझिरहेको छु। उनीहरूको अपेक्षा भनेको पढाइसँगै राम्रो रोजगारीको खोजी हो तर राज्यले त्यो अवसर प्रदान गर्न सकेन।’

उनले नेपालको शिक्षा प्रणाली कण्ठमा नभई अनुसन्धानमुखी बनाएमात्रै यस्तो समस्या नदोहोरिने बताए। ‘राज्यले शिक्षकहरूलाई एकाउन्टेबल बनाउनुपर्‍याे,जुन विषयमा उच्च स्तरको सिकाइ भयो उहाँलाई प्रमोशन गर्ने र जिम्मेवार नभए प्रमोशन गरिनुहुँदैन। विद्यार्थीहरूलाई कण्ठस्थ गर्ने नभई अनुसन्धानमुखी बनाउनुपर्छ’, उनले भने।

यसका लागि कक्षा १,२ बाट नै अन्तर र अनुसन्धानमुखी शिक्षा प्रदान गर्न आवश्यक रहेको उनको भनाइ छ। ‘नोट बनाउने होइन‚ अहिले विभिन्न प्रविधिको विकास भएको छ। आफैले पनि सम्बन्धित विषयवस्तुको खोजी,अनुसन्धान गर्नुपर्छ’, उनले भने। 

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि कक्षा–१२ को परीक्षा नतिजाको उत्तीर्ण प्रतिशतलाई लिएर प्रश्न उठाएका छन्।

उनले सामाजिक सञ्जालबाट भनेका छन्, ‘हिजो १२ कक्षाको नतिजा आएछ। मेरो आँखा करिब ५१ प्रतिशत मात्र पास भएकोमा गयो, हाम्रा कोर्स विद्यार्थीमैत्री छैनन् कि हाम्रो कक्षा सञ्चालन उनीहरूको रुचिअनुरूप भएको छैन कि वा विद्यार्थीहरूलाई पढ्न किन बोर लागिरहेको छ ? यो समाचार हेर्दा मेरो मनमा यस्तै प्रश्न खेलिरह्यो, तपाईंहरूको नजरमा खास कारण के हुनसक्छ ?’

गत वर्षभन्दा नतिजामा सुधार : अध्यक्ष शर्मा

परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यो वर्ष ४९ प्रतिशत विद्यार्थी फेल भए पनि गत वर्षभन्दा तीन प्रतिशतले नतिजामा सुधार आएको बताएका छन्। उनका अनुसार गत वर्ष एक लाख ८८ हजार ४१० जना अर्थात् ५१.९० प्रतिशत विद्यार्थी एनजी (अनुत्तीर्ण) भएका थिए। यो वर्ष ४९.०९ प्रतिशत विद्यार्थी एनजी भएका छन्।

गत वर्षभन्दा २.८१ प्रतिशतले एनजी ल्याउने अर्थात् अनुत्तीर्ण हुनेको सङ्ख्या घटेको उनको भनाइ छ। उनले भने, ‘विगतमा भन्दा केही सुधार भएको छ। प्रश्नपत्र मोडालिटी परिवर्तन गरिएको छ, उत्तर परीक्षण मार्किङ स्किलको प्रयोगले पनि नतिजा सुधार भयो।’ 

अध्यक्ष शर्माले शिक्षण सिकाइमा चुकेको ठाउँ पत्ता लगाउन सम्बन्धित निकायसँग अनुरोध गरे। ‘शिक्षण सिकाइलाई राम्रो बनाई सिकाइ प्रभावकारी बनाउन विद्यालय लगायत सम्बन्धित सबै निकाय लागिपर्नुपर्छ,विश्लेषण गर्नुपर्छ। अझै नतिजामा सुधार गर्दै जाने हो। यसमा सबै सरोकारवाला निकायलाई अनुरोध गर्छु’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.