|

काठमाडौं : हस्पिटालिटी क्षेत्रमा चार दशक अनुभव सँगालेको बाराही ग्रुपले पोखराको सेदीमा छ अर्बको लगानीमा पाँचतारे होटल सञ्चालनको तयारी गरेको छ।

कम्पनीले काठमाडौँमा पत्रकार सम्मेलन गरी बाराहीले एक हजार २०० जना क्षमताको सभाहलसहित उक्त होटल निर्माण भइरहेको जानकारी दिएको छ। ६३रोपनी क्षेत्रफलमा निर्माण हुँदै गरेको होटलमा १७१ कोठा निर्माण गरिनेछ। 
     
होटलमा क्यासिनो, स्पा, फिटनेस सेन्टरलगायत सुविधा रहने छ। पब्लिक लिमिटेड कम्पनी रहेको बाराही सेदी लिमिटेडको आईपीओमा समेत जाने योजना बनाएको छ। 

सन् २०२४ भित्रै सञ्चालनमा ल्याउने योजना रहे पनि कोभिड–१९ महामारीका कारण निर्माण अवरुद्ध भएको बाराही हस्पिट्यालिटीका संस्थागत निर्देशक योगेन्द्र थापाले बताए। बाराही ग्रुपको नेतृत्वमा निर्माणाधीन होटल सन् २०२६ भित्र सञ्चालनमा ल्याइने भएको छ। भौतिक पूर्वाधारतर्फ ४६ प्रतिशत काम सम्पन्न भएको उनले जानकारी दिए।
     
हस्पिटालिटी क्षेत्रको लामो अनुभवलाई पाँचतारे सुविधासम्पन्न होटलमार्फत सेवा विस्तार गर्न लागिएको निर्देशक थापाले जानकारी दिए। बाराही सेदी लिमिटेडको नामबाट पब्लिक लिमिटेड दर्ता गरी निर्माण भइरहेको होटलको छिटै आईपीओ निष्कासन गर्ने योजना रहेको उनले बताए। अन्तर्राष्ट्रियस्तरको सभा सम्मेलन गर्ने र खर्चालु पर्यटकलक्षित पाँचतारे होटल निर्माण गरिएको निर्देशक थापाले बताए। 

‘पोखरामा पाँचतारे फूलबारी रिसोर्ट बन्द भएपछि लक्जरी पाँच तारे होटलको अभाव महशुस भयो। हाइ–इन्ड पर्यटकलाई सेवा दिने विश्वाससहित कम्पनीले सन् २०२६ सम्म होटल सञ्चालनमा ल्याउने योजना बनाएको हो’, उनले भने।

सरकारले पोखरामा सन् २०१४ मा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) समिट आयोजना गर्ने योजना बनाएको थियो। तर, पोखरामा पाँचतारे होटल नहुदाँ काठमाडौंमा आयोजना गरिएको थियो। पोखरामा लग्जरी होटलको अभाव पूर्ति गर्ने बाराही ग्रुपका प्रबन्ध निर्देशक विप्लव पौडेलको पोखरामा पाँचतारे होटल बनाउने योजना अनुरूप परियोजना अघि बढेको थापा बताउँछन्।     

४० वर्षअघि पोखरामा १० कोठाको प्याराडाइज गेस्ट हाउस सञ्चालन गर्दै स्थापना भएको बराही ग्रुपले हाल पोखराको लेकसाइटमा चारतारे होटल बाराही, रासाङकोट माउन्टेन लज, आवास पोखरा, चितवनमा बाराही जङ्गल लज, र काठमाडौँमा चारतारे होटल बाराही काठमाडौँ सञ्चालन गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.