|

पर्वत: धार्मिक र पर्यटकीय गन्तव्य मानिने हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीदेखि मुक्तिनाथसम्मको १२ किलोमिटर सडकमा कालोपत्रे हुने भएको छ।

सोमबारदेखि मुक्तिनाथको रानीपौवासम्म कालोपत्रे गरिने मुस्ताङका जिल्ला इञ्जिनियर रवीन्द्र तिवारीले जानकारी दिए। कालोपत्रे गर्ने अवधिभर कागबेनीबाट सो बाटो हुँदै मुक्तिनाथ सवारी आवगमनमा रोक लगाइएको छ। वैकल्पिक बाटोको रूपमा झोङ पुटाकबाट यातायात सञ्चालन गर्ने पनि तिवारीले बताए। 

कालोपत्रेका लागि ४५ दिनको समय दिइएका कारण दिनको १२ देखि १४ घण्टा काम गरेर तोकिएकै समयमा कालोपत्रे पूरा गरी सडक हस्तान्त्रण गर्ने निर्माण कम्पनी एपेक्स जेभी र एपेक्स अमित जेभी कन्सट्रक्सनले जनाएका छन्।

जिल्ला इन्जिनियर तिवारीले वर्षातको समय कालोपत्रे मौसम अनुकुल नभए पनि मुस्ताङमा मौसमको तापक्रम मिल्ने र पानी नपर्ने भएकाले कालोपत्रे गर्न असहज नहुने बताए। कालोपत्रे सडकको चौडाइ ३.७५ मिटर रहने छ। ग्रामिण पुनर्निर्माण तथा पुनःस्थापना आयोजना (डोलिडार)को आयोजनामा उक्त सडकको काम २ वर्षअघि सुरु भएको थियो। डोलिडारले उक्त १२ किमि सडक कालोपत्रेका लागि दुईखण्ड गरी करिब २० करोड रुपैयाँ लगानी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.