|

  •  अनिल खत्री-

 गुल्मी : दोस्रो चरणमा असार १४ गते हुने स्थानीय निर्वाचनको लागि प्रमुख तीन दलका प्रभावशाली नेता जिल्लामा भोट माग्न व्यस्त देखिएका छन्। दुई नगर र १० गाउँपालिका रहेको गुल्मीमा प्रमुख दल मध्येको नेपाली कांग्रेसबाट जिल्लामा प्रभाव राख्ने तथा जिल्लाबाटै निर्वाचित सांसद चन्द्र भण्डारी जिल्लाका विभिन्न स्थानीय तहका उम्मेदवारहरुलाई मत माग्न गृह जिल्लामा छन्।

उनी खासगरी जिल्लाका क्षेत्र नं २ मा पर्ने गाउँपालिकाहरुमा मत माग्न व्यस्त छन्। भण्डारी निर्वाचनको मिति नजिकिएसँगै झण्डै एक हप्ताको लागि जिल्लामा रहनेछन्। जिल्लामा रहुन्जेल उनले नेपाली कांग्रेस र स्थानीय तहका उम्मेदवारहरुलाई मत माग्न व्यस्त छन्।

उनी शुक्रबार मात्रै रुरु गाउँपालिका र छत्रकोट गाउँपालिकामा हुने कार्यक्रममा व्‍यस्त छन्। दुई गाउँपालिकामा कांग्रेस माओवादीको चुनावी तालमेल भएको छ। तालमेल भएका गाउँपालिकाहरुमा कांग्रेस माओवादीको संयुक्त कार्यक्रम आयोजना गरेका छन्।

प्रमुख दल मध्येकै नेकपा एमालेका दुई केन्द्रीय सचिव झण्डै २ सातादेखि गुल्मीमा एमालेको पक्षमा मत माग्दै हिँडेका छन्। एमाले सचिव प्रदीप ज्ञवाली र गोकर्ण बिष्ट जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका गाउँपालिकाहरुमा पुगेर मत माग्न व्‍यस्त बनेका छन्।

एमाले नेता प्रदीप ज्ञवाली विषेश गरी २ नम्बर क्षेत्र र १ नम्बर क्षेत्रमा केन्द्रित छन् भने नेता गोकर्ण बिष्ट क्षेत्र नम्बर ३ र १ , २ का धेरै गाउँपालिकाहरुमा पुगेर मत माग्ने गरेका छन्। दुवै केन्द्रीय नेताको गृह जिल्लामा उनीहरु आफ्नो प्रभाव भएका ठाउँमा एक अर्को क्षेत्रमा आयोजित सभामा पुग्ने गरेका छन्। विष्ट क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन्।

ज्ञवाली र विष्ट सँगै गुल्मीमा केही दिन केन्द्रीय सदस्य ठाकुर गैरे समेत जिल्लामा आयोजित कार्यक्रममा व्यस्त थिए। एमालेकै केन्द्रीय नेतामध्ये प्रेस चौतारी नेपालका निवर्नमान अध्यक्ष राजेन्द्र अर्याल पनि झण्डै २ साता भन्दा वढी गुल्मीमा छन्। उनि पनि उम्मेदवार र एमालेको पक्षमा मत माग्न व्यस्त छन्। प्रमुख दल मध्येकै माओवादी केन्द्रले पनि केन्द्रमा प्रभाव र जिल्लामा उनकै माग भए अनुसारका नेताहरु जिल्लामा आउने गरेका छन्।

माओवादी केन्द्रले पनि अर्घाखाँचीबाट निर्वाचित सांसद टोपबहादुर रायमाझीलाई जिल्लामा हुने कार्यक्रममा ल्याएको  छ। रायमाझी शुक्रबार मात्रै छत्रकोट गाउँपालिकाको खज्याङ्ग, दिगाम, रुरु गाउँपालिकाको रिडीमा आयोजित कार्यक्रममा सहभागी गराउने भएको छ। रिडी र छत्रकोटमा कांग्रेस नेता भण्डारी र माओवादी नेता रायमाझीले संयुक्त रुपमा सम्बोधन गर्नेछन्।

रायमाझीले आफ्नो गृह जिल्लामा मत माग्ने सँगै छिमेकी जिल्लाका पनि कार्यक्रममा व्‍यस्त रहनेछन्। उनी गुल्मीको धुर्कोट गाउँपालिकामा आयोजित कार्यक्रमहरु पनि व्‍यस्त रहने पार्टीले जनाएको छ। केन्द्रले थप केन्द्रीय सदस्य सुदर्शन बराल, दिनेस पन्थी, बुद्धि जिसी, अशोक थापा लगायतका केन्द्रीय सदस्यहरु पनि जिल्लाका विभिन्न स्थानमा मत माग्न व्‍यस्त छन्। जिल्लास्तरमा रहेका केही नेताहरु उम्मेदवार बनेका छन् भने केहि प्रचारमा रहे पनि केन्द्रीय नेताले प्रभाव पर्ने हुँदासमेत उनीहरु जिल्लामा ल्याउने प्रचलन छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.