|

काठमाडौँ: नेपाल प्रज्ञाप्रतिष्ठानले हरेक वर्ष आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सव शुक्रबार सम्पन्न भएको छ। महोत्सवमा देश विदेशबाट प्रतियोगीका रूपमा प्राप्त कवितामध्ये पाँच कविता पुरस्कृत हुने प्रतिष्ठानको परम्पराअनुसार यस पटक पनि पाँच कविता पुरस्कृत भएका छन्।

यस पटकको महोत्सवमा खोटाङका कवि चन्द्र रानाहँछा प्रथम भएका छन्। उनको 'आँधीको यात्रा' कविताले पहिलो हुने अवसर पाएको हो।

यसरी नै भोजपुरका कवि सुवास राई 'क्याप्टेन'को 'फरक' शीर्षकको कविता दोस्रो भएको छ भने दाङका कवि दीपेन्द्र उपाध्यायको 'लोकतन्त्र', काभ्रेपलाञ्चोककी उर्मिला कोइरालाको 'उज्यालोको आत्मकथा' र काठमाडौँकी कवि अमृता स्मृतिको 'फूलहरू जान्दैनन् युद्ध गर्न' शीर्षकका कविताले तृतीय स्थान प्राप्त गरेका छन्।

प्रथमले ३० हजार रूपैयाँ, द्वितीयले २५ हजार रुपैयाँ र तृतीयले जनही २०/२० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। राष्ट्र प्रमुखका हातबाट पुरस्कृत कविहरूलाई पुरस्कार प्रदान गर्ने चलन रहिआएको छ।

प्रतिष्ठानले दिएको जानकारीअनुसार यसपटक कविता प्रतियोगिताका लागि २२९ कविता प्राप्त भएका थिए। निर्णायकहरू डा. मधुसूदन गिरी, डा. खुमनारायण पौडेल, वासुदेव अधिकारी, विधान आचार्य र उपेन्द्र सुब्बा रहेको प्रतिष्ठानले जानकारी दिएको छ।

प्रतिष्ठानको हीरक जयन्तीको समापन पनि विभिन्न कार्यक्रमसहित शुक्रबार नै भएको छ।

हेर्नुस नतिजा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.