भ्यानसहित २ प्रहरी अझै बेपत्ता

|
File Photo

चितवन : नारायणगढ मुग्लिन सडक खण्डको कालिखोला नजिकै गएराति खसेको पहिरो हटाएपछि आज साँझ साँढे ६ बजेबाट यातायात सञ्चालनमा आएको छ। १७ घण्टाभन्दा लामो समयपछि यातायात सञ्चालनमा आएको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए। 

राती १ बजेर ५ मिनेटको समयमा कालिखोलामा पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो। सोही पहिरोमा परेर प्रहरीको भ्यान र एउटा ट्रक बगेको थियो। ट्रक भीरमा अड्किएको भएपनि २ जना प्रहरी र भ्यान बेपत्ता छ। दुई प्रहरीको शव भने निकालिएको छ।

मुग्लिनबाट करिब ३ किलोमिटर नारायणगढतर्फ कालिखोला नजिकै पहिरो खसेको थियो। त्यसअघि राती ९ बजेर ४० मिनेटको समयमा ४ किलो भन्ने स्थानमा पहिरो खसेर अवरुद्ध भएको सडक खुलाएर फर्कने क्रममा १ बजे पहिरोमा गाडी परेको थियो।

नारायणगढ मुग्लिन सडक आयोजनाका ईन्जिनियर शिब खनालका अनुसार पहिरोले सडकको ४० मिटर क्षेत्र पुरेको थियो। क्साभेटर, लोडर गरी ४ वटा मेसिन पहिरो पन्छाउन प्रयोग गरिएको थियो। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तका अनुसार सवारी जामका कारण नारायणगढतर्फ केन्द्रीय बस टर्मिनल र आँपटारी तथा मुग्लिनतर्फ कुलिनटारसम्म सवारी लाम लागेका छन्। 

थप पहिरो नखसे सडक सहज हुन कम्तिमा ६ घण्टा लाग्ने ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्त बताउँछन्। 

भ्यानसहित २ प्रहरी अझै बेपत्ता 

राती १ बजेर ५ मिनेटको समयमा कालीखोला नजिकै माथिबाट एक्कासी पहिरो खसेर ईलाका प्रहरी कार्यालय मुग्लिङको ना.१ झ. १३९० नम्बरको भ्यान सहित दुई प्रहरीको अवस्था अझै पत्ता लागेको छैन।  ना.५ ख. ७८२७ नम्बरको ट्रक भने भीरमा अड्किएको अवस्थामा भेटिएको छ।

आज बिहान धादिङ खनियाबास गाउँपालिका ४ वस्ने २९ वर्षका प्रहरी सहायक निरीक्षक निश्चलकुमार तामाङ र बारा हरैया ६ वस्ने वर्ष ३० का प्रहरी जवान दिपककुमार मास्केको शव नदी किनारमा पुरिएको अवस्थाबाट निकालिएको छ।

गोर्खा मकैसिंह १ वस्ने वर्ष ३१ का प्रहरी जवान लिलबहादुर चेपाङ र तनहु रुपाकोट ३ बस्ने वर्ष २१ को प्रहरी जवान सन्दीप कार्की बेपत्ता छन्। ना.५ख.७८२७ नं.को ट्रकका चालक  रामकुमार लामा र सहचालक मकवानपुरका सानु ब्लोनलाई उपचारका लागि भरतपुर ल्याईएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.