कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

|

काठमाडौं : छात्रवृत्ति कोटामा नाम निकालेका विद्यार्थीले शिक्षण संस्थाले भर्ना शुल्क लिन खोजेको गुनासो गरेका छन्।

काठमाडौं महानगरपालिकाले सम्बन्धित कलेजहरूलाई भर्ना पत्र लिएर आएका विद्यार्थीलाई निःशुल्क भर्ना गर्न निर्देशन दिए पनि ती शिक्षण संस्थाहरूले अटेर गरेका हुन्।

ती शिक्षण संस्थाहरूले शुल्क लिन खोजेको, भर्ना गर्न विभिन्न बहाना गरी दुःख दिएको भन्दै महानगरपालिकाको शिक्षा विभागका प्रमुख शिक्षा अधिकारी सीताराम कोइरालाकहाँ विद्यार्थीहरू गुनासो गर्न जाने गरेका छन्। 

महानगरपालिकाले कक्षा–११ को छात्रवृत्तिका लागि साउन २० गते लिएको परीक्षाको म्याचिङ नतिजा र प्रथम भर्नाको योग्यता क्रमको अन्तिम सूची प्रकाशन गरिसकेको छ। पहिलो चरणमा २ हजार ३२२ जना विद्यार्थीहरूले छात्रवृत्ति कोटामा अध्ययन गर्न पाएका छन्।

महानगरपालिकाका अनुसार विज्ञान विषयमा १ हजार ४५२ जना, व्यवस्थापन विषयमा ७४५ जना, कानुनमा ४३ जना, मानविकीमा ४ जना, शिक्षामा ५ जना, सिभिल इञ्जिनियरिङमा ४४ जना, कम्प्युटरमा १८ जना र इलेक्ट्रिकलमा ११ जना परीक्षार्थीले छात्रवृत्ति कोटामा भर्ना हुन पाउने महानगरपालिकाले जनाएको छ।

यस्तै, महानगरपालिकाले दोस्रो चरणमा छनोट भएका विद्यार्थीहरूको नाम तथा अन्तिम भर्ना सूचना पनि सार्वजनिक गरिसकेको छ। 

महानगरपालिका भन्छ : शुल्क माग्ने शिक्षण संस्थालाई कारबाही हुन्छ 

काठमाडौं महानगरपालिका शिक्षा विभागले शुल्क माग्ने शिक्षण संस्थाहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ।

महानगरपालिका शिक्षा विभागका प्रमुख शिक्षा अधिकारी काेइरालाले पनि केही शिक्षण संस्थाहरूले छात्रवृत्तिमा अध्ययनका लागि छनोट भएका विद्यार्थीबाट भर्ना शुल्क लगायतका अन्य शुल्क माग गरेको भन्ने गुनासो विभागमा आएको जानकारी दिए।

‘यसप्रति काठमाडौं महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ, कुनै पनि शिक्षण संस्थाले महानगरपालिकाबाट जारी भएको विद्यार्थी भर्नाको पत्र लिएर आएका विद्यार्थीलाई भर्ना गर्नुपर्छ,’ उनले भने।

उनले भर्ना सूचना नै जारी गरी  कुनै पनि शिक्षण संस्थाले महानगरपालिकाबाट जारी भएको विद्यार्थी भर्नाको पत्र लिएर आएका विद्यार्थीलाई भर्ना नगर्ने, भर्नामा शुल्क माग्ने तथा कुनै पनि प्रकारको मानसिक यातना दिएको पाइएमा कारबाही गर्ने बताए।

‘त्यस्तो गरेको पाइएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७४ (संशोधनसहित) तथा विद्यालय शिक्षा नियमावली, २०७४ तथा अन्य प्रचलित कानूनबमोजिम कारबाही हुने छ र यसको जिम्मेवारी सम्बन्धित विद्यालय स्वयम् हुने छ,’ उनले भनेका छन्।

उनका अनुसार छात्रवृत्ति भन्नाले कक्षा ११ र १२ मा विद्यार्थीले शिक्षण संस्थालाई वार्षिक शुल्क भर्ना शुल्क, मासिक शिक्षण शुल्क, कुनै प्रकारको धरौटी र ल्याब/ पुस्तकालयबापत शुल्क तिर्नु नपर्ने गरी अध्ययन गर्न पाउने व्यवस्था भन्ने सम्झनुपर्छ।

‘शुल्क लिएको भन्ने जानकारी आएको छैन’

यता, सम्बन्धित कलेजहरूले अहिलेसम्म भर्ना शुल्क लिनेलगायत केही दुःख दिएको विषयमा केही जानकारी नआएको उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को दाबी छ।

हिसानका महासचिव लोकबहादुर भण्डारीले भने, ‘शुल्क लिएको भन्ने खालका केही हामीलाई जानकारी छैन, आएको खण्डमा हामी त्यस विषयमा बुझ्छौँ र नलिन भन्छौँ।’  

काठमाडौं महानगरपालिकाले महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४’ मा व्यवस्था भए बमोजिम महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोटसम्बन्धी परीक्षा यही शैक्षिक सत्रदेखि आफैँले सञ्चालन गरेको हो। यसअघि सम्बन्धित कलेजहरूले नै परीक्षा सञ्चालन गरेका थिए।

महानगरपालिकाले परीक्षा सञ्चालन गरी सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहनदार, पिछडिएको क्षेत्र, जनजाति, आदिवासी, गरिबलगायत छनोटका आधार तयार गरी योग्यता क्रमका आधारमा छात्रवृत्ति प्रदान गरेको जनाएको छ।

(याे पनि)



 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.