|

धनकुटा : जिल्लाको धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय जीर्ण बन्दै गएको छ। 

२०४० मा ८६५ रोपनीमा स्थापित उक्त विद्यालयमा बाली विज्ञान र पशु विज्ञानतर्फ तीन वर्षे डिप्लोमा र १८ महिने प्रि–डिप्लोमाको अध्यापन हुँदै आएको छ। 

जिल्लाको एकमात्र कृषि प्राविधिक पढाइ हुने विद्यालयका नामले चिनिने यो विद्यालय कुनै बेला पर्यटकीय क्षेत्रका रुपमा समेत चिनिन्थ्यो। तर अहिले यहाँ निर्मित ४७ भवन जीर्ण अवस्थामा छन्। यस वरिपरिका रमणीय चिया बगान, माछा पोखरीलगायत स्थल अव्यवस्थित छन्।

बनेका भवन, प्रयोगशाला तथा विभिन्न पूर्वाधार जीर्ण बन्दै जाँदा अध्ययन, अध्यापनमा समस्या हुँदै आएको विद्यालयका प्राचार्य शङ्कर कोइरालाले जानकारी दिए। मर्मतसम्हारका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा समस्या भएको उनको भनाइ छ। ‘भवनका विषयमा विद्यार्थीको गुनासो आइरहन्छ’, कोइरालाले भने, ‘लाइभस्टक र प्रयोगशाला जीर्ण हुँदा प्रयोगात्मक परीक्षा नै रोकिने गरेको छ।’

हाल विद्यालयको अन्य शीर्षकमा आएको रकमबाट मिलाएर टालटुल गरी शिक्षालय सञ्चालन गरिरहेको उनले जानकारी दिए। शिक्षालयको भवन तथा संरचना मर्मत गर्न करिब चार करोड जति खर्च लाग्ने प्राचार्य कोइरालाले बताए।

वार्षिक एक सय ६० जना भर्ना लिने यस शिक्षालयमा हाल ३२० विद्यार्थी अध्ययनरत छन्। सीटीईभीटीबाट सम्बन्धन प्राप्त देशभरिका ६५ आंगिक शिक्षालयमा कोशी प्रदेशअन्तर्गत सात वटा रहेका छन्। यसमा यो धनकुटाको एकमात्र पुरानो शिक्षालय हो। पछिल्लो समयमा स्थानीय तहमा नै प्राविधिक शिक्षा सञ्चालनमा आउन थालेपछि यहाँ अध्ययन गर्न आउने विद्यार्थीको सङ्ख्यामा कमी आएकाले यसलाई बचाउनसमेत चुनौती थपिएको प्राचार्य कोइरालाको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.