|

रुसको निजी सैन्य समूह वागनर समूहका प्रमुख येभगेनी प्रिगोजिनसहित १० जना सवार विमान दुर्घटना भएको छ। 

दुर्घटनाग्रस्त एम्ब्रेर लिगेसी जेटमा रहेका वाग्नर प्रमुख येभगेनी प्रिगोजिनसहित सबै १० यात्रुको शव फेला परेको रुसी आपत्कालीन सेवाले आज जनाएको छ।

हिजो प्रिगोजिनको मृत्युको खबर सुनेपछि धेरै रुसी अचम्ममा परेका थिए। प्रिगोजिनले दुई महिनाअघि असफल विद्रोह सुरु गरेर राष्ट्रपति भ्लादिमिर पुटिनलाई चुनौती दिएका थिए। प्रिगोजनसमेत सवार उक्त जेट समस्याका कुनै सङ्केत नै नदेखाई अचानक खसेको फ्लाइट ट्र्याकिङ डेटामा देखिन्छ।

त्यसपछि करिब ३० सेकेन्डमा उक्त जेट २८ हजार फिटको उचाइबाट ८ हजार फिटभन्दा तल खसेको थियो। नागरिक उड्डयन प्राधिकरणका अधिकारीका अनुसार उनीहरूको ध्यान अहिले दुर्घटनाको कारण पत्ता लगाउनेतर्फ केन्द्रित भएको छ।

प्राधिकरणले दुर्घटना अनुसन्धान गर्न विशेष आयोग गठन गरेको छ। प्रहरीले दुर्घटनास्थल वरपरको क्षेत्रलाई ‘सिल’ गरेको छ।

को हुन् येभगेनी प्रिगोजिन?

सेन्ट पिटर्सबर्गमा सन् १९६१ मा जन्मिएका हुन्  येभगेनी प्रिगोजिन। उनी १८ वर्षको उमेरमै चोरीको आरोपमा पक्राउ परी दोषी ठहर भएका थिए । सन् १९८१ मा पुन दोस्रोपटक पनि चोरी अपराधमा पक्राउ परेपछि भने उनलाई १२ वर्षको जेल सजाए सुनाइएको थियो ।

करिब १० वर्ष कैद सजाय काटेपछि सन् १९९० मा शोभियत संघको विघटन हुँदा उनी रिहा भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

त्यसपछि व्यवसायमा छिरेका उनले सन् १९९५ मा रेस्टुरेन्ट खोलेका थिए। उक्त रेस्टुरेन्टमा ठूला व्यापारीहरू आउने क्रममा एकदिन उनको भेट अहिलेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको थियो।

पुटिनसँगको आफ्नो निकटताको फाइदा उठाउँदै प्रिगोजिनले खानपानको व्यवसाय सुरु गरे र रूसी सेना र स्कूलका बच्चाहरूलाई खुवाउन सरकारी ठेक्का लिन थालेका थिए।  जसका कारण उनलाई पुटिनको भान्सेको रुपमा चिनिन्छ।

विश्वभर रुसी प्रभाव पुनःस्थापित गर्नका लागि उनले सन् २०१४ मा वाग्नर समूह गठन गरे। जसको प्रमुख उनी थिए।  यस निजी सेनामा सेवानिवृत्त सैन्य अधिकारी र जवानहरू समावेश थिए तर  वाग्नर समूहमा अपराधीहरू पनि समावेश भएको आरोप थियो।

वाग्नर समूहले पनि क्रेमलिनबाट समर्थन पाएको बताइन्छ। रूसले युक्रेनमा आक्रमण गर्दा वाग्नर समूहका लडाकुहरू अगाडि तैनाथ गरिएका थिए।

प्रिगोजिनले आफूसँग ५० हजार सैनिक रहेको र तीमध्ये ३५ हजार अग्रमोर्चामा रहेर लडिरहेको बताएका थिए । अमेरिकाले पनि युक्रेनमा वागनर समूहबाट ५० हजारले लडिरहेको आँकलन गरेको थियो, जसमध्ये १० हजार भाडाका र अन्य ४० हजार कैदीबन्दी रहेको आरोप अमेरिकाको रहेको छ।

तर युक्रेन युद्ध हुँदै गर्दा गत महिना  बाख्मुतको वाग्नर प्रशिक्षण शिविरमा मिसाइल आक्रमण भएको भन्दै रुसी सेनालाई कारवाही गर्ने चेतावनी दिएका थिए।

उक्त हमलाले वाग्नर समूहलाई धेरै नोक्सान पुगेको थियो। उनले भिडि‌ओमार्फत रुसविरुद्ध सैन्य कु गर्ने जनाएका थिए। विद्रोहको धम्की दिएको २४ घण्टामै वागनर समूह पछि हट्न सुरु गरेको थियो। जसले गर्दा रुसमा सैनिक विद्रोह टरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.