|
फाइल फोटो

काठमाडौं : बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन भन्दै ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने भएको छ।

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस् क्लब कुपण्डोलको आयोजनामा यही भदौ ९ गते शनिबार ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुन लागेको हो ।  

नाराका उपाध्यक्ष शिशिर खनालले बागमती नदी सभ्यताको पहिचान, संरक्षण र संवर्धनका साथै र्‍याफ्टिङ र जल पर्यटनको उजागर गर्नका लागि र नदी महोत्सव तथा महाजलयात्रा गर्न लागिएको जानकारी दिए।

ललितपुरको कुपण्डोलस्थित बागमती पुलबाट बिहान ७ः०० बजेदेखि शुरु हुने महाजलयात्रामा १५ वटा डुंगामार्फत जलयात्रा गरिने उपाध्यक्ष खनालले बताए।  काठमाडौँ सहरका साथै वाग्मती नदीको वातावरण दूषित भएको भन्दै महोत्सव आयोजना गर्न लागिएको उनको भनाइ छ।

सामाजिक र धार्मिक इतिहास बोकेको सुन्दर र महत्त्वपूर्ण बागमती नदी ढलमा परिणत भएको भन्दै पछिल्लो समय अभियन्ताले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन्। महोत्सव तथा महाजलयात्रा सम्पन्न गर्न पाँच लाख रुपैयाँ लाग्ने आयोजकले जनाएको छ।

बाजागाजासहित सुरु हुने महोत्सव तथा महाजलयात्रामा सबैलाई नदीनजिक पुर्याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा तिनीहरूको सरोकार राख्ने अवस्था सिर्जना गराउने नाराले जनाएको छ । सोही अवसरमा सहभागीले नदी सरसफाइसमेत गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.