|

चितवन : ‘यसो निदाउन खोजेको एउटा टायरको चक्कामा ड्याम्म ढुंगाले लाग्यो। अनि हुटतिर पनि ढुंगा खस्न थालेपछि म निस्कएँ। सानु (सहचालक) लाई उठभन्दा मान्दै मानेन, सुतिरह्यो। अरु गाडीका यात्रु सबै ओर्लिएर पहिरो नआउने तिर भागे, म पनि गाडी छाडेरपछिपछि भागेँ। अनि एक्कैछिनमा स्वाँऽऽऽ गरेको आवाज आयो। ‘लौ ! पुलिसको भ्यान सोहोरेर लग्यो, खोलामै पुर्‍यायो' भनेर यात्रुहरु चिच्चाए। अनि हाहाकार मच्चिन थाल्यो,’ शुक्रबार बिहान मुग्लिन नारायणगढ सडक खण्डमा पहिरो गएको घटना सम्झँदै ट्रकचालक मकवानपुर मनहरीका २७ वर्षीय रामकुमार लामाले भने।

उनका सहयोगी (सहचालक) अहिले कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचाररत छन्। मुग्लिन कालिखोलाको पहिरोमा प्रहरी भ्यानसँगै सोहोरिएर बगाएको ना.५ ख. ७८२७ नम्बरको ट्रक लिएर लामा काठमाडौंबाट दिउँसो ३ बजे हिँडेका थिए। नागढुंगा पार गर्दा साँझ ६ बज्यो। ९ बजे मलेखु आइपुगे, मुग्लिन आउँदा ११ बज्यो। अलि अगाडिबाट जाम सुरु भयो। ‘लगातार पानी पर्न थाल्यो, बसहरुको लाइन ठूलो थियो, अलि अगाडि आइसकेपछि माथिबाट ढुंगा झर्न थाल्यो, त्यो बेला फर्कन खोजेको मिलेन,’ चालक लामा सम्झन्छन्। 

उनीसँगै रहेको एउटा बस अलि अगाडि गयो। मुग्लिनबाट करिब ३ किमी अगाडि, कालिखोला नपुग्दै सडकमा ढुंगा झर्न थाल्यो। ‘मेरो गाडी बगाएको ठाउँमा पहिला बस थियो। मुग्लिन प्रहरीको ना १ झ १३९० नम्बरको भ्यान अगाडिको पहिरो पन्छाएर साइरन बजाउँदै मुग्लिनतर्फ बढ्दै थियो। त्यो  बेला बस अली अगाडी उल्टो साइडमा च्यापेर राख्यो। अनि बसले छाडेको ठाउँमा पहिरो खस्ने ठाउँ कटाएर मैले ट्रक राखेँ,’ लामाले भने।

प्रत्यक्ष देखेका कुरा विस्तार लगाउँदै उनले भने ‘एक्कै छिनमा स्वाँ.. गरेको आवाज सुनियो । लौ पुलिसको भ्यान सोहोरेर लग्यो । खोला मै पुर्यायो भनेर यात्रुहरुले भने । तल हेरेको बत्ती पिलिल्ल बल्दै थियो । हामीले सोच्यौं पुलिसको भ्यान बलेको होला भनेर ।’ 

उनले आफ्नो गाडी त बत्ती निभाएका थिए । त्यो मेरो ट्रक हो भन्ने उनलाई शंकै छैन । पहिरो कटेर जानसक्ने अबस्थै थिएन । अरु पुलिसहरु आधा एक घण्टापछि खोज्न तलगए । एक जना चिच्याएको आवाज आयो । प्रहरीहरु त्यता तिर गए । उसलाई निकाले । 

निन्द्रै खुलेन, कसरी छाड्ने गाडी ? - सानु ब्लोन, सहचालक

ट्रकका चालकले अलि अगाडीदेखि नै नसुत भनेका थिए। अगाडि सिटमा बसेका उनी चालकले कराएपछि पछाडिको सिटमा गएर सुते। अनि गाडीबाट झर्ने बेलामा पनि चालकले धेरै कराउँदा उठ्दै उठेनन् सानु ब्लोन।

‘निद्रा लागिराथ्यो कसरी उठ्नु, ब्लोनले भने। उनी भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज, मेडिकल वार्डको ४५७ नम्बर शय्यामा उपचाररत छन्। माइनर अपरेशन गरेर आराममा छन्। खुट्टामा र आँखा नजिक चोट छ। गाडी बग्दा उनी पनि सँगै बगेका थिए।

तलपुग्दा पनि ट्रकभित्र नै थिए र बाँचे। ‘त्यो बेला मलाई केही थाहा भएन। तल पुगेपछि पो अब बाँच्दिनजस्तो लाग्या'थ्यो। धन्न बाँचें,’ उनले भने।

पहिरोमा परेर प्रहरीका एक असई र एक जवानको मृत्यु भयो भने अन्य दुई जवान बेपत्ता छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Driver kasto pagal jasto ho jyan bachawne kura ma laprbahi garexa kuter bhay pani wthawnu parne ho tyo marrko bhay k huntheo bichara khalasi