|

दमक : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसकै नीतिमा अरु दलहरु पनि आएको बताएका छन्। शनिबार झापाको दमकमा नेपाली कांग्रेस दमकले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै नेता सिटौलाले राष्ट्रियता, लोकतन्त्र र समाजवाद कांग्रेसको मुल नीति भएको र कम्युनिस्‍ट सबै पार्टीहरुलाई पनि यही बाटोमा डोहोर्‍याउन कांग्रेस सफल भएको बताए।

उनले भने, ‘एमाले, माओवादी र राप्रपा विगतदेखि नै सैद्धान्तिक रुपले  च्युत भइसकेका छन्, उनीहरु पनि हाम्रै नीतिमा आईसके।’ कांग्रेसको अभिभावकीय भूमिकाका कारण देशले संविधान पाएको सिटौलाको दाबी थियो। उनले संबिधान जारी गर्ने नेतृत्व कांग्रेसले गरेको र अब कार्यन्वयनको नेतृत्व पनि कांग्रेसले नै गर्ने बताए।

उनले भने, ‘संविधान कार्यन्वयनको पहिलो खुट्किलो भनेको चुनाव हो, २० वर्षदेखि हुन नसकेको स्थानीय निकायमा पुनर्संरचना गरी हामीले स्थानीय तहको निर्वाचन गर्दै छौं, यसको नेतृत्व कांग्रेसले गरिरहेको छ।’ उनले कांग्रेसले निर्वाचनमा हार्दा देशले नै हार्ने बताए।

उनले भने,‘पहिलो संविधानसभाको चुनावमा कांग्रेसले हारेकै कारण संविधानसभा नै असफल भयो, दोस्रो संविधानसभामा कांग्रेस पहिलो पार्टी भयो र देशलाई संविधान पनि दिन सकियो।’

आफू अस्वस्थ भएको कारण ५ मिनेट मात्र सम्बोधन गरेका सिटौलाले ओलीलाई जनतामाझ ढाँट्दै नहिँड्न आग्रह गरे। उनले भने, ‘ओलीजी, तपाईं जनतालाई ढाँट्दै नहिँड्नुहोस्, तपाईंले विकासमा धेरै राजनीति गर्नुभयो अब विकासमा कसैको राजनीति चल्दैन।’

उनले देशको आर्थिक संमृद्धि कांग्रेसले मात्र गर्न सक्ने बताए। उनले भने, ‘देशको पुरानो र परिपक्व पार्टी भनेको कांग्रेस नै हो, हामीले धेरै संघर्ष गरेका छौँ, त्यसैले देशको विकास कांग्रेसले मात्र गर्छ।’ उनले देशलाई बलियो बनाउने जिम्मा कांग्रेसलाई नै रहेको बताए।

चुनावी सभालाई कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे, विश्वप्रकास शर्मा, सरिता प्रसाईं, प्रमुख पदका उम्मेदवार ढुण्डिराज भण्डारी, उपप्रमुखकी उम्मेदवार रेगिना भट्टराईले सम्बोधन गर्ने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.