|

काठमाडौं : संघीय समाजवादी फोरम नेपालको तर्फबाट प्रमुखका उम्मेदवारमाथि अज्ञात समूहले आक्रमण गरेको छ। नेपालगञ्ज उपमहानगरका फोरम उम्मेदवार कमरुद्दिन राईनमाथि शुक्रबार राति दश बजे एमालेको पार्टी कार्यालयअगाडि आक्रमणको प्रयास भएको हो।

मुखमा नकाप बाँधेर मोटरसाइकलमा आएको समूहले गाडीमा अन्धाधुन्ध इँटाले हान्दै राईमाथि आक्रमण गरेको फोरम नेपाल बाँकेले जनाएको छ। इँटा प्रहारबाट बा.९च ६५२९ नम्बरको गाडीका सिसा फुटेको छ। उम्मेदवार राईनलाई भने कुनै चोटपटक लागेको छैन। फोरम नेपालले घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरेर कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ।

आक्रमण हुँदा राइन र उनका ड्राइभर गाडीमा थिए। उनीहरु चुनावी प्रचार–प्रसार सकेर जमुनाहास्थित घरतर्फ जाँदै गर्दा आक्रमण भएको हो। आक्रमण गर्नेहरु अहिलेसम्म पक्राउ परेका छैनन्।

आक्रमण र दुर्व्यवहारविरुद्ध संघीय समाजवादी फोरमका नेता–कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन्। उनीहरुले शुक्रबारै राति नाराजुलुससहित त्रिभुवन चोकमा विरोधसभा आयोजना गर्दै दोषीलाई तत्काल कारबाही गर्न माग गरेका थिए।

संघीय समाजवादी फोरम नेपालका प्रमुख उम्मेदवार राइनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले केन्द्रको सामूहिक योजनामा आफूमाथि आक्रमण भएको आरोप लगाएका छन्। उनले भने, ‘फोरमको चुनावी लोकप्रियताले उनीहरु आत्तिएका छन्। त्यसैले ममाथि आक्रमणको प्रयास गरेका हुन्।’ धार्मिक र जातीय समीकरणले अति संवेदनशील मानिएको नेपालगञ्जमा विगतमा भएजस्तै साम्प्रदायिक दंगा भड्काउने प्रमुख तीन दलको योजनाअनुसार घटना भएको राइनको दाबी छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले घटनामा संलग्नको खोजी कार्य भइरहेको जनाएका छन्। प्रजिअ पन्थले भने, ‘अनुसन्धान गरी घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरीलाई मैले निर्देशन दिइसकेको छु, जो कोही भए पनि कारबाही हुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.