|

वीरगंज : निर्वाचनको विरोधमा राष्ट्रिय जनता पार्टी नेपालले आइतबार बिहानै वीरगंजमा मोटरसाइकल र्‍याली प्रदर्शन गरेको   छ । सहिद र घाइते परिवारलाई उचित क्षतिपूर्ति, संविधान संशोधन गर लगायतका नारा लगाउँदै राजपाले वीरगंजको घण्टाघरबाट मोटरसाइकल र्‍याली निकालेको हो। घण्टाघरबाट निस्केको र्‍याली माईस्थान, आदर्शनगर, घडिअर्वा हुँदै पुनः माइस्थानमा नै आएर कोणसभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै पार्टीका महासचिव शिव पटेलले आफूहरुको माग पूरा नभएसम्म कुनै पनि निर्वाचनमा सहभागी नहुने बताए। संविधान संशोधन आफूहरुको बटमलाइन रहेको भन्दै उनले उक्त माग पूरा नभए असोज २ मा हुने निर्वाचनमा पनि सहभागी हुन नसकिने प्रस्ट पारे।

नवलपरासीमा आफ्ना कार्यकर्तामाथि प्रहरीले गोली चलाएको घटना उल्लेख गर्दै उनले प्रहरी दमन नरोकिए आन्दोलन चर्काउने चेतावनी दिए। र्‍यालीमा पार्टीका केन्द्रीय सदस्य नेजामुदिन समानी, जिल्ला अध्यक्ष प्रेमबाबु पटेल, कृष्ण पटेल, नगर अध्यक्ष ओमप्रकाश सर्राफलगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो। यसअघिका प्रदर्शनमा उल्लेख्य मात्रामा सहभागिता जनाउने कार्यकर्ताहरु आजको र्‍यालीमा भने निकै कम मात्रामा उपस्थित भएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.