|

मकवानपुर : सञ्चारकर्मी, फिल्म निर्देशक तथा साहित्यकार डब्बु क्षेत्रीले 'नमस्ते काठमान्डू' यौन विद्रोहबारे लेखिएको बताए। कथासंग्रह सस्तो यौन पुस्तक नभएर यौनले निम्त्याउने समस्याविरुद्ध विद्रोहबारे भएको उनको भनाइ छ।

चलचित्र पत्रकार संघ मकवानपुरद्वमरा 'नमस्ते काठमान्डू'माथि शनिबार हेटौंडामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै क्षेत्रीले यौनका बारेमा नेपाली समाजमा हुने गरेको संकुचित धारणापछि त्यसले निम्त्याउने विकृति र विद्रोहका घटनालाई कथाबो रुप दिएर पुस्तक ल्याएको बताए।

उनले भने, 'नमस्ते काठमान्डू'का कथाहरुमा यौन अश्लिलता नभएर यौन विद्रोह छन्। कथा पढेर यौन अपराध गर्नबाट सचेत रहन यसले सावधानी गराउँछ।’

पत्रकार ध्रुव अधिकारीले सहजीकरण गरेको अन्तर्क्रियामा कथाकार क्षेत्रीले पत्रकारिता गर्दा समाजमा देखेको घटनालाई कथामा बुनेको बताए। आफूले समाजमा देखेका घटनाहरुलाई कथामा ढालेर प्रस्तुत गरेको उनको भनाइ छ। साथै क्षेत्रीले आफ्ना कथा सबै उम्मेर समूहका व्यक्तिले पढ्न सक्ने जिकिर गरे। यसमा समावेश अधिकांश कथा महिलाको पक्षमा रहेको उनको भनाइ छ।

यौनपीडामा पिल्सिएर पीडा लुकाई बाँच्न विवश पात्रहरूको प्रतिनिधि पीडा र अन्यायविरुद्धको आवाज आफ्ना कथाहरुले उठाएको क्षेत्रीले बताए।

चलचित्र विकास बोर्डका सदस्य एवं चलचित्र निर्माता/वितरक नरेन्द्र महर्जनले नमस्ते काठमान्डूका कथाहरुले पाठकमा यौनबारे सचेतना जगाउने बताए। पत्रकारिता र चलचित्र निर्देशनमा आफूलाई स्थापित गरेका क्षेत्रीले 'नमस्ते काठमान्डू'मा पनि अब्बल कथा ल्याएको महर्जनको भनाइ छ।

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाईंले कतिपय कथाहरु केस स्टडीका हिसाबले विभिन्न घटनालाई उठान गरेर सशक्त र रोचक रुपमा 'नमस्ते काठमान्डू'मा प्रस्तुत गरिएको बताए। यौन कथा भन्नासाथ परिवारमा लुकेर पढ्ने प्रचलन अहिले पनि रहेको स्मरण गराउँदै 'नमस्ते काठमान्डू' परिवारका सदस्यसँग पढ्न सकिने उनले बताए। सँग्रहका कथा रोचक र नौला हुनुका साथै यसले यौन अपराध सम्बन्धि शिक्षा तथा मानवीय यौन मनोविज्ञापन बुझ्न सघाउने पनि बताए।

'नमस्ते काठमान्डू'को प्रकाशक संस्था शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेलले कथामा नयाँ प्रयोग आफूले 'नमस्ते काठमान्डू'मा पाएको बताए। पटक्कै अश्लिल नभएको नविन र प्रयोगवादी कथा भएकै कारण क्षेत्रीको कथा संग्रह प्रकाशन गर्न अघि सरेको उनको भनाइ छ। पौडेलले पाठकबाट सोचेभन्दा राम्रो प्रतिक्रिया आएको जानकारी गराए।

चलचित्र पत्रकार संघ मकवानपुरद्वारा शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर शाखा अध्यक्ष हरि हुमागाईं र चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जनले 'नमस्ते काठमान्डू'को लोकार्पण गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.