|

विराटनगर : आइतबार रातीदेखि चुनाव प्रचार प्रसारको समय सकिए पनि यो दुई दिनमा हुने आन्तरिक चलखेल र लेनदेनले चुनाव प्रभावित पार्ने आँकलन गरिन्छ। मौन अवधिमै दलहरुले अबाञ्छित ढंगबाट मत खरिद गर्ने, उम्मेदवारहरुबीच नै अघोषित गठबन्धन बन्ने र प्रचारको समयमा देखिएको जनमत पनि कतिपय बेलामा उल्टिने गरेको छ।

दोस्रो चरणमा चुनाव हुन लागेको एक मात्र महानगरपालिका विराटनगरमा प्रमुख दलहरुले प्रतिष्ठाको विषय बनाएकोले मौन अवधिमा विराटनगरमा भित्रभित्रै के खेल हुन्छ भन्नेमा दलहरु चनाखो छन्। खासगरी नेपाली कांग्रेसले आफ्नो किल्लाको रुपमा दावी गर्ने विराटनगरमा माओवादी केन्द्र र संघीय समाजवादी फोरम तथा एमाले र लोकतान्त्रिक फोरम गठबन्धन गरी चुनाबी मैदानमा खडा भएपछि यहाँको प्रतिस्पर्धा रोचक बनेको छ।

चुनाव प्रचारको लागि सबै दलहरुले आफ्नो केन्द्रीय तहका नेताहरुलाई ल्याएर परिचालन गरेका छन्। कांग्रेसका नेताहरु डा.शेखर कोइराला, डा.मिनेन्द्र रिजाल, महेश आचार्य, सुजाता कोइराला लामो समयदेखि विराटनगरमै छन् भने विमेलन्द्र निधिसहितका नेताहरु पनि अन्तिम चुनावी प्रचारमा सहभागी भएका छन्।

उता एमाले–लोकतान्त्रिक फोरम गठबन्धन गरेको छ। चुनाव प्रचारमा एमाले अध्यक्ष केपी ओली, महासचिव ईश्वर पोखरेल, नेता सुरेन्द्र पाण्डेदेखि माधव नेपालसम्म विराटनगर आएका छन् भने लालबाबु पण्डित जीवन घिमिरेलगायत नेताहरु यहाँकै बासिन्दा भएकोले सक्रिय छन्। संयुक्त गठबन्धनको चुनावी अभियानमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार पनि सहभागी भइसकेका छन्।

माओवादी केन्द्र र संघीय समाजवादी फोरमले पनि आपसमा गठबन्धन गरेका छन्। चुनाव प्रचारमा माओवादी महासचिब रामबहादुर थापा, नेता गोपाल किराती, सावित्रीकुमार काफ्ले, फोरम अध्यक्ष उपेन्द्र यादवलगाय नेताहरु सहभागी भएका छन्। सबै दलहरुले चुनावी अभियानको क्रममा आफ्नो पक्षमा लहर आएको भन्दै चुनाव जित्ने दावी गरिरहेका छन्।

विगतमा के थियो अवस्था?

हाल १ लाख १४ हजार मतदाता रहेको विराटनगर महानगरपालिकाको क्षेत्रमा गत संविधानसभा निर्वाचनमा करिब एक लाख मात्र मतदाता थिए। साविक विराटनगर उपमहानगर जोडिएका मोरङका ५, ६ र ७ नम्बर निर्वाचन क्षेत्रमा करिब १ लाख ६० हजार मतदाता थिए। विराटनरबाट मात्र गत संविधानसभामा कसले कति मत ल्याएको थियो भन्ने तथ्यांक पाउन मुश्किल छ।

विराटनगर जोडिएका तीन निर्वाचन क्षेत्रमा भने कांग्रेस नै विजयी भएको थियो। ५ मा फोरम नेपाल दोस्रो, माओवादी तेस्रो तथा एमाले चौथो बनेको थियो। ६ मा भने फोरम लोकतान्त्रिक दोस्रो, एमाले तेस्रो र माओवादी चौथो थियो भने ७ मा फोरम लोकतान्त्रिक दोस्रो, माओवादी तेस्रो र एमाले चौथो बनेको थियो।

तीन क्षेत्रमा कांग्रेसले ३८ हजार, फोरम नेपालले २१ हजार, फोरम लोकतान्त्रिकले १९ हजार, माओवादीले १४ हजार र एमालेले १२ हजार ल्याएको थियो। जुन मतमा महानगरभित्रको मत सरदर करिब ६२.५ प्रतिशत रहेको अनुमान गर्न सकिन्छ। जसअनुसार कांग्रेसको मत २३ हजार, फोरम नेपालको १३ हजार, लोकतान्त्रिकको ११ हजार, माओवादीको ९ हजार र एमालेको ७ हजार थियो।

अहिले थपिएका करिब १५ प्रतिशत मत समानुपतिक रुपमा दलहरुले पाउने हो भने कांग्रेसको करिब २६ हजार, फोरमको करिब १५ हजार, लोकतान्त्रिकको करिब १३.५ हजार, माओवादीको १०.५ हजार र एमालेको ८ हजार मत हुन्छ । तर, विगतकै ट्रेन्डमा मत यस पटक झर्छ भन्ने छैन।

के होला यसपटक?

चुनावमा १ लाख १४ हजार मतदातामध्ये सरदर ७० देखि ७५ प्रतिशत मतदान भएमा ८० देखि ८५ हजार मत खस्नेछ। जसमध्ये अहिले कांग्रेस, माओवादी–फोरम गठबन्धन र एमाले–लोकतान्त्रिक गठबन्धनबीच त्रिपक्षीय प्रतिष्पर्धा हुँदा ३० हजारसम्म मत ल्याउने उम्मेदवार विजयी हुनसक्ने अनुमान गर्न सकिन्छ।

विगतकै ट्रेन्डमा मतदान भएमा कांग्रेस एक्लै प्रतिस्पर्धामा आउने देखिन्छ। किनकी उसकै करिब २६ हजार मत रहेको देखिन्छ। यस्तै माओवादी फोरम गठबन्धनको मत विगतलाई आधार मान्दा २५.५ हजार र एमाले–लोकतान्त्रिक गठबन्धनको मत करिब २२ हजार छ। दलहरुबीचको समीकरणको कारण महानगरमा तीन उम्मेदवारबीच कडा टक्कर हुने देखिन्छ।

विराटनगरमा कांग्रेसले माओवादी–फोरम गठबन्धनलाई र सो गठबन्धनले कांग्रेसलाई प्रतिस्पर्धी मानेका छन्। दुबै गठबन्धनको बुझाई एमाले गठबन्धन तेस्रो हुन्छ भन्ने छ। तर, एमालेले भने कांग्रेसलाई प्रतिष्पर्धी मानेको छ । उसले माओवादी–फोरम गठबन्धन तेस्रो हुने बताइरहेको छ। दलहरुबीचको समीकरण जस्तो भए पनि उनीहरुभित्रको आन्तरिक किचलोको कारण चुनाव परिणाम फरक पर्ने विश्लेषण हुने गरेको छ।

निर्वाचनमा सहभागी नभएको राष्ट्रिय जनता पार्टीको मत पनि विराटनगरमा छ। उसको करिब ४/५ हजार मत रहेको अनुमान गरिएको छ। राजपाका उम्मेदवार नरहेकोले उनीहरुको मत कता जान्छ भन्ने विषयले पनि निर्वाचन परिणाम तलमाथि पार्नसक्छ। अर्कोतिर विराटनगरमा करिब ४० हजार मधेसी मतदाता छन्। उनीहरुको भोट पनि अहिलेको चुनावमा निर्णायक हुने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.