|

जनकपुरधाम : हावाहुरी र असिनापानीका कारण मध्य तराईका जिल्लामा यस वर्ष आँप उत्पादनमा निकै कमी  आएको छ। माग अनुसारको उत्पादन हुन नसकेपछि जनकपुरमा मात्र भारतको पश्चिम बंगाल, उतरप्रदेश लगायतका स्थानबाट ७० प्रतिशत भन्दा बढी आँप आयात भएको छ।

जनकपुरस्थित थोक फलफूल बजारमा दैनिक खपत हुदै आएकोमध्ये स्थानीय उत्पादन २ टन रहेको छ भने ६ टन भन्दा बढी भारतबाट आयात गरिएको जनकपुर फलफूल व्यवसायी संघका महासचिव भुवनेश्वर पूर्वेले जानकारी दिए।

उनले भने 'स्थानीय उत्पादनको आँप मिठो हुन्छ तर, के गर्ने उपभोक्ताको माग अनुसार बाहिरबाट आयात गर्नुपर्ने बाध्यता छ।' बजारमा आँपको माग अत्याधिक रहेका कारण जिरो माइलस्थित फलफूल बजारमा दैनिक १ हजार भन्दा बढी खुद्रा व्यवसायीहरु खरिदको लागि आउने गरेका छन्।

माग अनुसारको आँप नफलेपछि खुद्रा व्यवसायीले ग्रामीण क्षेत्रमा पनि जनकपुरबाट खरिद गरेर लाने गरेको पूर्वेले बताए। मालदह र दशहरी प्रतिकिलो ५०–५० रुपैयाँमा बिक्री हुदै आएको छ भने बम्बई प्रतिकिलो ६० रुपैयाँसम्म थोकमा बिक्री हुँदै आएको छ।

गत वर्ष ६१ करोड २० लाख रुपैयाँ भन्दा बढी मूल्यको झण्डै १७ हजार ५ सय मेट्रिक टन आँप उत्पादन भएको धनुषामा यस बर्ष ४ हजार मेट्रिक टन भन्दा कम उत्पादन हुने जिल्ला कृषि विकास कार्यालयको अनुमान छ।  आँप उत्पादनको पकेट क्षेत्रको रुपमा रहेको पूर्व पश्चिम राजर्मागको ढल्केवर, भरतपुर, लवटोली, गोदार लगायतका स्थानमा पनि यस वर्ष खासै आँप नफलेको कृषि विकास कार्यालयका योजना अधिकृत सुरेन्द्र गोइतले बताए।

आवश्यकता अनुसारको उत्पादन नभएपछि गत वर्षको तुलनामा यस बर्ष बजारमा आँप महंगो रहेको छ। झण्डै २३ सय हेक्टर भन्दा बढी जग्गामा आँपको खेति भइरहेको धनुषामा वर्षेनी ३५ हेक्टर जग्गामा आँपको रुख लगाउने क्रम रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.