|

काठमाडौं : निर्वाचन आयोगले आयोगका पूर्व सचिव गोपीनाथ मैनालीलाई 'व्यवसायिक र नैतिक अनुशासनभित्र राख्ने वातावरण सिर्जना गर्न' सरकारलाई आग्रह गरेको छ। मैनालीले आफ्नो पदीय र व्यवसायिक मर्यादा नाघेको दावी गर्दै आयोगले पहिलो चरणको निर्वाचनमा मैनालीले आयोगलाई 'बाधा, अवरोध र असहयोग गरेको' उल्लेख गरेको छ।

मन्त्रिपरिषदले असार ८ गते आयोगका सचिव मैनालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको थियो। सचिव मैनालीले आफूलाई बदनियत राखेर सरुवा गरिएको विभिन्न मिडियाहरूमा बताउँदै आएका छन्। उनले निर्वाचन आयोगमा नियमविपरीत खाडी खरिद गर्ने योजनालाई साथ नदिएका कारण आफूलाई सरुवा गरिएको दावी मिडियाहरुमा गर्दै आएका छन्। तर निर्वाचन आयोगले त्यसलाई भ्रमक र तथ्यहीन भनेको छ। 

'सचिवको सरुवाको विषयलाई लिएर आमसञ्चारमध्यम तथा सामाजिक सञ्जालहरूमा अनर्गल, भ्रामक तथा तथ्यहीन समाचारहरू प्रकाशित भएकोमा ध्यानाकर्षण भएको' आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ।

१. पदीय आचारण विपरीत मिथ्या प्रचार

आयोगले पूर्व सचिव मैनालीले आफ्नो पदीय र व्यवसायिक मर्यादा नाघेको बताएको छ। उनले निजामती प्रशासको आचारण र मर्यादा विपरीत गैर जिम्मेवार अभिव्यक्ति दिएको आयोले उल्लेख गरेको छ। 'सरकारका कुनै पनि सचिवले नेपाल सरकार मन्त्रीपरिषद्बाट भएका सरुवाका विषयलाई लिएर आमसञ्चारमाध्यममा संवैधानिक आयोगका बारेमा मिथ्या प्रचराबाजी गर्दै अन्तर्वार्ता दिई आफ्नो पदीय र व्यवसायिक मर्यादा नाघी निजामती प्रशासकको आचरण र मर्यादा विपरीत गैर जिम्मेवार अभिव्यक्ति दिनु दुर्भाग्यपूर्ण हो', आयोगको विज्ञप्तिमा उल्लेख छ।  

२. पहिलो चरणको निर्वाचनमा आयोगमाथि बाधा

आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा पूर्व सचिव मैनाले नियतबस आयोगलाई बाधा, अवरोध र असहयोग गरेको दावी गरेको छ। 'पूर्वसचिव गोपीनाथ मैनालीले नियतबस पुर्‍याएका विभिन्न बाधा, अवरोध, असहयोगलाई न्यूनीकरण गर्दै आयोगले असहज वातावरणमा पनि प्रथम चरणको स्थानीय तह निर्वाचन सुसम्पन्न गरेको' विज्ञप्तिमा लेखिएको छ।

३. अनावश्यक धम्की र दवाव दिए

आयोगले पूर्व सचिव मैनालीले आयोगलाई बारम्बार गैर जिम्मेवारपूर्ण र अनावश्यक दवाव र धम्की दिएको दावी गरेको छ। 'आयोगका पूर्वसचिव गोपीनाथ मैनालीको अव्यवहारिक परामर्श, बारम्वार गैर जिम्मेवारपूर्ण र अनावश्यक दवाव र धम्कीको बावजुद पनि मतपेटिका लगायत विभिन्न निर्वाचन सामग्रीहरूको व्यवस्थापन गरी एक करोड ६० लाख मतपत्र छपाई गर्ने, एक करोड ४० लाख भन्दा बढी मतदाता नामावली छपाई गर्नुका साथै सोही संख्यामा मतदाता परिचयपत्रको छपाई र मतदाता शिक्षा लगायतका कार्यक्रमहरूलाई समयमै व्यवस्थापन गरी पहिलो चरणको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गरिसकेको' आयोगको विज्ञप्तिमा उल्लेख छ।

४. निर्वाचन आयोगको गरिमामा आघात पुर्‍याए

आयोगले संवैधानिक आयोग तथा आयोगका पदाधिकारीहरूको मानमर्दन हुने गरी भ्रम फैलाई निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र गरिमामा आघात पुर्‍याएको' आरोप लगाएको छ। 'मन्त्रिपरिषदको निर्णयबाट सरुवा भएपछि पूर्व सचिव मैनालीले गरिमामय संवैधानिक आयोग तथा आयोगका पदाधिकारीहरूको मानमर्दन हुने गरी हुँदै नभएको लाञ्छाना लगाई आमजनसमुदायमा भ्रम फैलाई निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र गरिमामा आघात पुर्‍याएको' आयोगले जनाएको छ।

५. भ्रामक र आधारहीन प्रचारबाजी

आयोगले मैनालीलाई व्यवसायिक र नैतिक अनुशासनभित्र राख्न आग्रह गरेको छ। मैनालीले निजामती प्रशासनको आचारण र मर्यादा विपरीत भ्रामक र आधारहीन प्रचारबाजी गरेको दोहोर्‍याएको छ। 'निजामति प्रशासनको आचारण र मर्यादा विपरीत भ्रामक र आधारहीन प्रचारबाजी गर्दै गरेका आयोगका पूर्व सचिव गोपीनाथ मैनालीलाई व्यवसायिक र नैतिक अनुशासनभित्र राख्ने वातावरण सिर्जना गर्न आयोग सरकार समक्ष आग्रह गर्दछ', विज्ञप्तिमा भनिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.