|
तस्वीर सौजन्य : भीमसिंह साउद

काठमाडौँ/धनगढी/अछाम : अछाम जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र रामारोशनमा आयोजना हुने भनिएको अन्तरराष्ट्रिय सम्मेलन जमघट मात्र रहेको पाइएको छ। 

‘रेन्बो फेमिली’ तथा ‘रेन्बो ग्यादरिङ युनिटी’ नामक नेटवर्कमार्फत विभिन्न देशका नागरिक अछाम पुगेका छन्। अझै कतिपयको आउने क्रम जारी छ भने केही रोकिएका छन्। 

एक सातादेखि अछामका विभिन्न स्थानमा रोकिएका उनीहरू सामाजिक सञ्जालबाट परिचालित ‘रेन्बो फेमिली’, ‘रेन्बो ग्यादरिङ युनिटी इन नेपाल’, ‘वर्ल्ड रेन्बो नेपाल–२०२३’ र ‘वर्ल्ड रेन्बो फेमिली’ नामक फेसबुक पेजमार्फत गरिएको आह्वानमा नेपाल भित्रिएका हुन्। ती फेसबुक पेजमध्ये रेन्बो फेमिली २०७२ सालदेखि सक्रिय रहेको पाइएको छ। 

विश्वका अन्य स्थानमा भएका यस्तै जमघटका आधारमा प्रतिबन्धित लागुऔषध सेवनदेखि ‘मर्डर’ सम्म हुने खालका जमघट कसको आयोजनामा हुन लागेको हो भन्ने खुलाइएको छैन। 

सामाजिक सञ्जालबाट पठाइएको निमन्त्रणामा सेप्टेम्बर १५ देखि सुरु हुने जमघटमा सहभागिता जनाउन केही विदेशी नागरिक रामारोशन पुगिसकेका छन् भने ५ सय जनाभन्दा बढीले कार्यक्रममा सहभागी हुनेबारे सामाजिक सञ्जालमार्फत नै आयोजकलाई जानकारी गराएका छन्।

विदेशीलाई नेपाल भित्र्याउन सामाजिक सञ्जालमा सक्रिय फेसबुक पेजमा हजारौँ सदस्य छन्। त्यसमध्येको ‘रेन्बो ग्यादरिङ युनिटी इन नेपाल’ नामक फेसबुक पेजका एडमिन तथा मोडरेटरमा दुई जना नेपाली छन्। 

आफूलाई कालिका कन्स्ट्रक्सनको इन्जिनियर बताउने अमित दाहाल उक्त पेजका एडमिन हुन् भने यञ्जन आचार्य पेज मोडरेटर हुन्। 

उनीहरूले सन् २०१९ मा उक्त पेज बनाएर यस्ता क्रियाकलापबारे जानकारी दिने, सोधिएको जिज्ञासाको जवाफ दिनेलगायतका काम गर्दै आएका छन्।  

कालिका कन्स्ट्रक्सनले भने अमित नामक कर्मचारी आफ्नो कम्पनीमा कोही पनि नरहेको जनाएको छ। 

यसरी विदेशीलाई नेपाल भित्र्याएर जमघट गर्न अछामकै उदय रोकाया, अनुप केसी, सुजन खनाललगायतले समेत काम गरेको पाइएको छ। 

उदय रोकायाले ‘सुन्दर रामारोशनमा स्वागत छ’ भन्दै कार्यक्रम स्थलमा पुग्न नेपाल प्रवेश गर्ने छोटो र सहज सडक मार्ग, नेपाल भित्रिइसकेपछि अछामसम्म पुग्ने मार्गबारे सामाजिक सञ्जालमार्फत सुझाव दिइरहेका छन्।

जमघटमा सहभागी हुन भारतको दिल्ली, गोवा, तिब्बतको लद्दाखलगायतका ठाउँमा पुगेका विदेशीले नेपाल भित्रिने छोटो मार्गबारे उक्त ग्रुपमा जिज्ञासा गरिरहेका छन्। 

जवाफमा रोकायालगायतका नेपाली युवाले कैलालीको गौरीफन्टा, महेन्द्रनगरको वनबासा र बैतडीको झुलाघाट नाका हुँदै स्थल मार्गबाट नेपाल भित्रिन सहज हुने भन्दै विदेशीलाई सुझाइरहेका छन्।

जमघट गर्न दिने वा नदिने भन्नेबारे अछाम जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक बसे पनि गृह मन्त्रालयबाट आदेश नआएको भन्दै स्थानीय प्रशासनले थप विदेशीलाई जिल्ला प्रवेश गर्न दिएको छैन। 

गृह मन्त्रालयका सूचना अघिकारी उमाकान्त अधिकारीले रामारोशनमा जमघट गर्न कुनै निकायबाट अनुमति लिए नलिएको, कार्यक्रमको प्रकार, कार्यक्रम सञ्चालनको अवधि र सुरक्षा चुनौतीबारे प्रस्ट नभएकाले छलफल जारी रहेको बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यति ठूलो सङ्ख्यामा पर्यटक के कति कारणले रामारोशन पुगे भन्नेबारे कुनै आधिकारिक जानकारी गराएको छैन। 

ठूलो सङ्ख्यामा नेपाल प्रवेश गरेका विदेशीको आगमनका कारण, बसाइ अवधिबारे पर्यटन मन्त्रालयले अनभिज्ञता देखाइरहेको छ। 

रेन्बो फेमिली सन् १९६० ताका नेपाल आउने गरेको हिप्पी संस्कृतिपछिको तर समान विशेषता रहेको नयाँ ग्रुप हो।  विश्वभर ‘हिप्पी प्याराडाइज’ भनेर चिनिएको नेपालमा अहिले गाँजा प्रतिबन्धित छ।

सुदूरपश्चिममा दबाब

यसै विषयलाई लिएर सुदूरपश्चिम सरकारमा दबाब बढेको छ। सामाजिक विकासमन्त्री झपटबहादुर साउदले मङ्गलबार मुख्यमन्त्री कमलबहादुर शाहसँग छलफल गरेका छन्। रामारोशन क्षेत्र साउदको निर्वाचन क्षेत्र हो। 

यसैबीच पर्यटनसमेत हेर्ने जिम्मेवारी पाउनुभएका सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामीले विभिन्न देशका पर्यटक अछाम पुगेकोबारे आफ्नो मन्त्रालयलाई जानकारी नै नरहेको बताएका छन्। उनले भने, ‘रामारोशनका लागि पर्यटक आएको हामीलाई आधिकारिक जानकारी छैन।’

रामारोशन गाउँपालिकाको कार्यालयले भने ‘वर्ल्ड रेन्बो फेमिली’ नामक जमघटका लागि विदेशी पर्यटक आएको जनाएको छ। 

अहिलेसम्म अछाममा २ सयको हाराहारीमा विदेशी पर्यटक पुगिसकेको जनाइएको छ। सुरक्षा संवेदनशीलता रहेको र कार्यक्रमको अनुमति नलिएका कारण उनीहरूलाई स्थानीय प्रशासनले विभिन्न ठाउँमा रोकेको छ। 

रामारोशन गाउँपालिकाले भेला भएका विदेशी सामाजिक रूपमा प्रतिकूल असर नगर्ने गरी बसेकाले सेप्टेम्बर १५ देखि अक्टोबर १५ सम्म १ महिनाका लागि उनीहरूको जमघटलाई अनुमति दिन माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाएको छ। 

गृह मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट आएको आदेशअनुसार आफूले काम गर्ने अछामका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए। 

अछाम प्रवेशको पूर्वी नाका भएर आएका ४४ जनालाई बेलखेतमा रोकेपछि ३२ जना छिमेकी जिल्ला दैलेखको राकम बजारमा बसेका छन्। 

पश्चिमी नाका चौखुट्टेमा १३४ जना त्रिपाल टाँगेर ५ दिनदेखि बसिरहेका छन्। जिल्लाभित्र प्रवेश गरिसकेकामध्ये रामारोशनको पाटनमा ५६ र जयगढमा ५ जना रहेको अछाम प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.