|

काठमाडौं : सेप्टेम्बर २१, विश्व अल्जाइमर्स दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नारा  ‘कहिल्यै धेरै चाँडो पनि हुँदैन, कहिल्यै ढिलो पनि हुँदैन’ नाराका साथ बिहीबार यो दिवस मनाउन लागिएको हो।

रोगको पहिचान समयमै गर्ने र यो रोग हुन बढावा दिने मुख्य कारकतत्वलाई समयमै पहिचान गरेर बिर्सिने रोगबाट बच्नका लागि आह्वान गरिएको छ। यो दिवस सन् १९९४ देखि मनाउन थालिएको हो। अल्जाइमर्स  जसलाई बिर्सिने रोगका रूपमा बुझ्ने गरिन्छ। नेपालमा हाल बिर्सिने रोगबाट एक लाख ११ हजार व्यक्ति पीडित छन्। 

नेपाल पक्षघात संघका अध्यक्ष एवं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ न्यूरोलोजिष्ट डा राजु पौडेल नेपालमा ६५ वर्ष माथि उमेरका ६ दशमलव ५ प्रतिशत व्यक्तिमा विर्सिने रोग लागेको बताउँछन्। ‘जति मानिसको उमेर बढ्दै जान्छ, त्यति नै बिर्सिने रोगसमेत बढ्छ’, उनले भने, बिर्सिने रोगीमध्ये ८० प्रतिशतभन्दा बढीमा अल्जाइमर्स हुन्छ।’

विश्वमा हरेक तीन सेकेण्डमा एक व्यक्तिलाई अल्जाइमर्स हुने गरेको छ।विश्वमा हरेक वर्ष एक करोड व्यक्तिलाई अल्जाइमर्स हुने गरेको छ। डा. पौडेल विश्वभर हाल छ करोडभन्दा बढी व्यक्तिलाई अल्जाइमर्सको समस्या रहेको बताउँछन्। 

विश्वको तथ्यांकअनुसार ६५ वर्षदेखि ७५ वर्षसम्मका पाँच प्रतिशत जनसङ्ख्या, ७५ वर्षदेखि ८५ वर्षसम्मका १३ प्रतिशत र ८५ वर्ष पार गरेका एक तिहाइ व्यक्तिमा अल्जाइमर्स हुने गरेको छ। विश्वको तथ्याङ्कलाई हेर्दा विकसित मुलुकभन्दा अल्पविकसित र अविकसित मुलुकमा बढी अल्जाइमर्सका रोगी देखिन्छन्।

बिर्सिने रोगीमध्ये ५८ प्रतिशत पुरुष र ४२ प्रतिशत महिला रहेका छन्। डा. पौडेल अल्जाइमर्सका बिरामी वार्षिक नेपालका प्रत्येक अस्पतालमा एक सयभन्दा बढी जाने गरेको बताउनुहुन्छ। सम्झना शक्तिमा विस्तारै ह्रास आउने र सामान हराउने वा बिर्सने, आफू परिचित ठाउँमा पनि हराउने र बाटो बिर्सने÷बिराउने, कुनै पनि कामको योजना गर्ने शक्तिमा असक्षमता, पहिले राम्रोसँग गर्नसक्ने कामजस्तै, बोल्ने, लेख्ने, पढ्ने काममा समस्या र व्यक्तित्वमा परिवर्तन विस्मृति अर्थात् बिर्सिने रोगका लक्षण हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.