|

सुनसरी : दोस्रो चरणको निर्वाचन अन्तर्गत सुनसरीको १२ वटा स्थानीय तहका १२४ मतदान केन्द्रमा हुने  निर्वाचनको तयारी पुरा भएको छ। जिल्ला निर्वाचन कार्यालय सुनसरीको अनुसार सम्पुर्ण मतदान केन्द्रका मतपेटिका तथा निर्वाचनको लागि आवश्यक पर्ने सामाग्रीहरु सम्बन्धित केन्द्रमा पुगिसकेको छ।

ढुवानी गर्दा टुटफुट भएका मतपेटिका तथा अन्य निर्वाचन सामाग्रीको सट्टा सो स्थानमा निर्वाचन सम्बन्धी थप सामाग्री पठाउने काम भइरहेको जिल्ला निर्वाचन कार्यालय सुनसरीका सुचना अधिकारी शान्तिबहादुर अधिकारीले जानकारी दिए। 

४ लाख २१ हजार १५९ जना मतादाता रहेको सुनसरीको १२ वटा स्थानीय तहको प्रमुखको लागि १३० जना उम्मेदवार चुनावी मैदानमा छन्। उपप्रमुखको लागि लागि १०६ जना उम्मेदवार छन्।

जिल्ला निर्वाचन कार्यालय सुनसरीको तथ्यांक अनुसार १२१ वटा वडाध्यक्षका लागि ७७९ जना उम्मेदवारहरु प्रतिस्प्रर्धामा छन्। त्यसैगरी खुला सदस्यमा १२९२ जना उम्मेदवार भएका छन्। महिला सदस्यका लागि ६१२ जना र दलित महिला सदस्यका लागि ५७१ जनाले प्रतिस्पर्धा गर्नेछन्।

१ सय २४ वटा वडा रहेको सुनसरीमा ६ सय ४४ जना जनप्रतिनिधि चुनिने छन्। साथै निर्वाचित गाउँ तथा नगरसभाले गाउँकार्यपालिकामा दलित तथा अति सिमान्तकृत समुदायबाट २ जना र नगरकार्यपालिकामा ३ जना निर्वाचित वा मनोनित गर्ने व्यवस्था रहेको जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी शान्तिबहादुर अधिकारीले बताए। 

सुनसरीमा धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, दुहवी नगरपालिका, रामधुनी नगरपालिका, बराह नगरपालिका, कोशी गाउँपालिका, हरिनगरा गाउँपालिका, भोक्राहा गाउँपालिका, बर्जु गाउँपालिका, देवानगञ्ज गाउँपालिका र गढी गाउँपालिका रहेका छन्।

३ लाख ५० हजारले मतदान गर्ने अनुमान  

चार लाख मतदाता रहेको सुनसरीमा ८० आज ३ बजेसम्म ६५ प्रतिशतले मात्रै मतदाता परिचयपत्र लिएका छन्। । भोली मतदान गर्ने समयमा समेत मतदाता परिचय पत्र वितरण गरिने भएको हुँदा भोलीसम्म ८०–८५ प्रतिशतले मतदाता परिचय पत्र लिने जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ।

यो हिसाबले सुनसरीमा साढे तीन लाख मतदाताले मतदान गर्ने निर्वाचन कार्यालयको अनुमान छ। निर्वाचन कार्यालयका अनुसार मतदाता परिचय पत्र नभएका व्यक्तिले समेत स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउनेछन्। त्यसका लागि मतदाता नामवलीमा नाम दर्ता भएको हुनुपर्नेछ। 

मतदाता नामवलीमा नाम दर्ता भएका व्यक्तिले नागरीकता वा अन्य सरकारी परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था रहेको छ। साथै मंगलबारसम्ममा मतदाता परिचय पत्र लिन छुटेका व्यक्तिले मतदान गर्ने दिन नै पनि परिचय पत्र लिएर मतदान गर्न पाउने व्यवस्था रहेको निर्वाचन कार्यालयले जनाएको छ। 

सुरक्षा व्यवस्था मजबुद 

सुनसरीको सम्पुर्ण मतदान केन्द्र तथा बुथमा सुरक्षा व्यवस्था मजबुद बनाइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीको अनुसार सम्पुर्ण मतदान केन्द्रका सुरक्षाकर्मीहरु तयारी अवस्थामा बसेका छन्। 

नेपाल प्रहरीले प्रत्येक बुथमा पुग्ने गरी प्रहरी निरीक्षक (इनिस्पेक्टर) को कमाण्डमा मोबाइल गस्ती खटाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रविण धितालले जानकारी दिए।

उनका अनुसार प्रहरीको गाडी अपुग भएको ठाउँमा भाडाको गाडी लिएर समेत मोबाइल गस्ती गरिएको  छ। प्रत्येक मतदान केन्द्रमा पुग्ने गरी प्रहरी, शसस्त्र प्रहरी र नेपानी सेनाको टोली समेत खटाइएको छ। 

सिमानाका बन्द, सवारी सञ्चालनमा रोक 

सुनसरीको भारतसँग जोडिएको नाकाहरु पूर्ण रुपमा बन्द भएका छन्। ११ गते राती १२ बजेदेखि बन्द भएको सिमानाका मतदान कार्य सकिएपछि मात्रै खुल्ने प्रहरी नायब उपरीक्षक धितालले बताए। 

उनका अनुसार आज (मंगलबार) राती १२ बजेदेखि कुनै पनि सार्वजनिक तथा व्यक्तिगत सवारी साधन चलाउन पाइने छैन्। सरकारी सवारी साधन वा निर्वाचनको लागि प्रयोग भएका सवारी साधनबाहेक अन्य कुनै पनि सवारी साधन बुधबार मतदान नसकिएसम्म सञ्चालन गर्न पाइने छैन्। 

जिल्ला प्रशासन कार्यालयबाट स्वीकृती लिएको सवारी साधन भने चलाउन पाइनेछ। यसका साथै दमकल तथा एम्बुलेन्सहरु पनि सञ्चालनमा आउनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.