मुख्यमन्त्रीसँग ४२ तोला सुन र पाँच सय तोला चाँदी

|

पर्वत : सार्वजनिक पद धारण गरेका व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण पेश गर्नुपर्ने व्यवस्था भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० मा गरिएको छ।

गत वैशाख १४ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारका मन्त्रीहरूले आचारसंहिता अनुसार असार दोस्रो साताभित्रै सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने थियो। निर्धारित समयभित्रै सम्पत्ति विवरण सार्वजनिक नगरी ढिलै भए पनि मुख्यमन्त्री पाण्डेसहित अन्य मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छ।

गोरखाको पालुङटार नगरपालिका–१ खोपलाङ डाँडागाउँ स्थायी घर भएका मुख्यमन्त्री पाण्डेले पालुङटारमा पाँच रोपनी, १० आना, एक पैसा क्षेत्रफल तथा काठमाडौं महानगरपालिका–३ मा २१२ वर्ग मिटर क्षेत्रफलको पैतृक जग्गा भएको खुलाएका छन्। यस्तै पालुङटारमा नै तीन वटा कित्तामा ३५ रोपनी भन्दा धेरै, कपिलवस्तुमा चार कट्ठाभन्दा धेरै र भक्तपुरको सूर्यविनायकमा नौ रोपनीभन्दा धेरै पैतृक जग्गा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा उल्लेख छ।

यस्तै चल सम्पत्तिको विवरण अन्तर्गत पैतृक, जग्गा बिक्री र तलब गरेर ४२ तोला सुन, ५०० तोला चाँदी, दुई सेट र मोती एक सेट रहेको छ। यस्तै एभरेस्ट बैंक, नबिल बैंक, एस‍बीआई बैंक र कृषि विकास बैंकमा आफ्नो नाममा २४ लाख ९६ हजार, प्रभु बैंक र ग्लोबल आईएमआई बैंकमा श्रीमती बिना शर्मा पाण्डे तथा छोरा सुयोग्य राज पाण्डेको नाममा गरेर ६४ लाख आठ हजार रुपैयाँ रहेको मुख्यमन्त्री पाण्डेले खुलाएका छन्। आफू, श्रीमती र छोराको नाममा विभिन्न कम्पनीका ७५ हजार कित्ता शेयर, राष्ट्रिय वाणिज्य बैंकमा रहेको ५० लाख रुपैयाँमध्ये २३ लाख रुपैयाँ निकालेको, श्रीमती बिनाको नाममा ३२ लाख रुपैयाँको मारुती कार रहेको गत भदौ २६ गते पेश गरिएको सम्पत्ति विवरणमा उल्लेख छ।

गोरखाकै भीमसेन थापा गाउँपालिका घर भएकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले आफ्ना श्रीमान्, आमा र दाइको नाममा गोरखा, नवलपुर, ललितपुर र जुम्लामा जग्गा रहेको, सुन चाँदी हुँदै नभएको, बैंक मौज्दात एक लाख ७० हजार रुपैयाँ रहेको, एक लाख बराबरको शेयर रहेको, छ लाख ७५ हजार रुपैयाँ ऋण अरूका लागि दिएको, एक थान स्कुटर रहेको, २६ हजारको मोबाइल फोन सेट र सात हजार रुपैयाँको घडी रहेको उल्लेख गरेकी छिन्।

स्याङ्जाको वालिङ नगरपालिका–८ घर भएकी ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले एक हजार दुई ६९ वर्ग मिटर क्षेत्रफल भएको जग्गा मणिप्रसाद तिवारीको नाममा रहेको, स्याङ्जामा थप करिब सात रोपनी तथा नवलपुरमा दुई कट्ठा जग्गा रहेको उल्लेख गरेकी छिन्। यस्तै नगद २३ लाख रुपैयाँ, सुन २२ तोला र चाँदी ४० तोला रहेको, १७ लाख रुपैयाँ बैंक मौज्दात रहेको, एक लाख ८३ हजार रुपैयाँ शेयरमा लगानी रहेको, विभिन्न मितिमा गरेर ९५ लाख रुपैयाँ ऋण लिएको, एउटा मोटरसाइकल र दुई वटा स्कुटर रहेको तिवारीले खुलाएकी छिन्।

यस्तै नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० को देवचुली नगरपालिका घर भएका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले एक रोपनी सात आना क्षेत्रफलमा साढे दुई तलाको घर रहेको, पाँच हजार २१ वर्ग मिटर क्षेत्रफल रहेको जग्गा रहेको, ४० तोला सुन र २० तोला चाँदी रहेको बताएका छन्। तर बैंकमा रहेको रकम, शेयर कारोबार, ऋणबारे स्टेटमेन्ट उपलब्ध भएपछि मात्रै उल्लेख गर्ने मन्त्री जिसीले लेखेका छन्। आफ्नो नाममा एउटा ट्र्याक्टर रहेको पनि उनले उल्लेख गरेका छन्।

म्याग्दीको मालिका गाउँपालिका घर भएका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले तीन रोपनी पाँच आना क्षेत्रफलमा घर रहेको, बुबा र आफ्नो नाममा गरेर ५० रोपनी पैतृक जग्गा रहेको उल्लेख गरेका छन्। सात तोला सुन, ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार, ६० लाख ऋण लिएको, एक ट्र्याक्टर र एक मोटरसाइकल रहेको, संयुक्त लगानीमा एक्स्काभेटर खरिद गरेको उनको विवरणमा उल्लेख छ।

यस्तै तनहुँको भिमाद घर भएका आर्थिक मामिला मन्त्री जितप्रकाश आले मगरले एक हजार ८७ वर्ग मिटरमा घर रहेको, तनहुँका विभिन्न स्थानमा २५ कित्तामा जग्गा रहेको, २१ तोला सुन र २७ तोला चाँदी रहेको, तीन लाख ३३ हजार रुपैयाँ बराबरको शेयर कारोबार रहेको, ३४ लाख ७० हजार रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन्। आफूसँग एउटा मोटरसाइकल, १२ बोरको एकनाले बन्दुक र छ रोपनी क्षेत्रफलमा निजी वन रहेको पनि आले मगरले विवरण पेश गरेका छन्।

बागलुङको रायडाँडा घर भएका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्र बहादुर थापाले दुई आना क्षेत्रफलमा घर रहेको, अंशवण्डा नभई आफ्नो नाममा विभिन्न जग्गा रहेको, १७ तोला सुन र दुई किलो चाँदी रहेको, दुई लाख २५ हजार रुपैयाँ बैंक मौज्दात रहेको, झन्डै १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार रहेको, वित्तीय संस्थाबाट ऋण लिएको, एउटा ट्र्याक्टर र एउटा बोलेरो जिप पनि आफ्नो सम्पत्तिका रूपमा रहेको उनले विवरण पेश गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.