|

कास्की : पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ।

एकेडेमीका संरक्षकसमेत रहेका एमालेका अध्यक्ष ओलीको सम्मानमा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता गर्न लागिएको एकेडेमीका अध्यक्ष धुव्र आचार्यले बताए। प्रतियोगिता पोखरा रंगशालाको क्रिकेट मैदानमा मंसिर ७ गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा सात प्रदेश, विभागीय नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको एक गरी ११ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा च्याम्पियन टोलीलाई पाँच लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ। यसैगरी उपविजेता टोलीलाई दुई लाख ५० हजार रुपैयाँ  शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने अध्यक्ष आचार्यले जानकारी दिए।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को नियम अनुसार खेलाइने प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद ३० हजार, ‘बेस्ट बलर’ रु २० हजार, र ‘म्यान अफ द म्याच’ले नगद पाँच हजार रुपैयाँ पुरस्कार पाउने छन्।

पोखरामा हुने क्रिकेटको राष्ट्रियस्तरको प्रतियोगिताले नयाँ खेलाडी उत्पादन तथा खेल कौसल प्रदर्शनका लागि सहयोग पुग्ने पूर्वराष्ट्रिय खेलाडी एवं एकेडेमीका क्रिकेट विभाग प्रमुख शक्ति गौचनले बताए।

सबैका लागि खेलकुद’ को नारासहित विसं २०६६ पुस १७ गते एकेडेमीको स्थापना भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.