|

काठमाडौं : १९औं एसियाली खेलकुद अन्तरगत नेपाल पुरुष क्रिकेटको क्वारटरफाइनलबाटै बाहिरिएको छ। ​ 

यसस्वी जैसवालको शतकप्रेरित भारतले चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदअन्तर्गत् पुरुष क्रिकेटमा नेपाललाई २३ रनले पराजित गरेको हो।  झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २ रनको योगफल तयार पारेको थियो।

भारतका लागि यसस्वीले ४९ बलमा ८ चौका र ७ छक्काको मद्दतमा १ सय रन बनाए। यसैगरी रिंकु सिंहले अविजित ३७, शिवम दुबे अविजित २५ र कप्तान ऋतुराज गायकवाडले २५ रन जोडे।

पहिलो विकेटका लागि यशस्वी र ऋतुराजले १ सय ३ रनको साझेदारी गरेका थिए। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान १ विकेट लिए। 

२ सय ३ रनको विजयी लक्ष्यसहित मैदानमा आएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७९ रनमात्र बनाउन सक्यो। नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाए।  आरिफ शेख २९ रन बनाएर आउट हुँदा  सन्दीप जोराले २९ रन नै बनाएर पेभिलियन फर्किए। कुशल भुर्तेलले २८ रन बनाए। सोमपाल कामीले ७ रन बनाउँदा गुल्सन झाले ६ रन बनाए। यस्तै करण केशी १८ रनमा अविजित रहे। 

भारतका रवि विस्नोइले ​र अवेश खानले​ समान तीन विकेट लिँदा, अर्शद्वीप सिंहले दुई विकेट लिए। साई किशोरले  एक विकेट लिए।  

भारतले सिधैं क्वार्टरफाइनल खेलेको हो। समूह ‘ए’ को नेपालले मंगोसियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो।

आजै भएको महिला कबड्डीमा नेपाल इरानसँग ४३–१९ ले पराजित भएको छ।​ साओशन गुआली स्पोर्टस सेन्टरमा नेपाल पहिलो हाफमा १९–११ र दोस्रो हाफमा २४–८ ले पछि परेको थियो।

समूह ‘बी’ को नेपालले पहिलो खेलमा बंगलादेशलाई ३७-२४ ले पराजित गरेको थियो। अब बुधबार हुने खेलमा इरानले बंगलादेशलाई पराजित गरेको खण्डमा नेपालले सेमिफाइनलमा स्थान बनाउने छ। समेमिफाइनल प्रवेश गरे नेपालले कम्तीमा पनि कास्य पदक पक्का गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.