|

पर्वत : गत सोमबारदेखि पोखरामा सुरु भएको नेकपा (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशनमा तेस्रो दिनसम्म आइपुग्दा पनि कमिटी निर्माणका लागि सहमति हुन सकेन। सहमतिको प्रयासका लागि समय व्यवस्थापन गर्न ‘क्लस्टर’ मिलाउने भनेर लामो समय हुँदा पनि कमिटी बन्न सकेन।

एमालेमा गुट उपगुट नरहने भनी केन्द्रीय अध्यक्ष के.पी शर्मा ओलीदेखि अन्य नेताहरूले भन्दै आएका थिए। सोमबार अधिवेशनको उद्घाटन सत्रमा भाषण गरेका नेताहरूले पनि एमालेमा गुट उपगुटको राजनीति नभई पार्टीको राजनीति गर्ने बताएका थिए। तर कमिटी निर्माणको क्रममा अन्ततः अघोषित प्यानल जस्तै उम्मेदवारहरू तयार भएका छन्।

निर्वाचनलाई नेताहरूको प्रतिष्ठा र पार्टीमा आफ्नो पकड देखाउने दाउमा लाग्दा सहमति नभएपछि अन्ततः चुनाव नै पक्का भएको छ। पार्टीका महासचिव शङ्कर पोखरेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहका बेग्लाबेग्लै अघोषित ‘प्यानल’ तयार भएका छन्। पार्टी उपाध्यक्ष विष्णु पौडेल र पृथ्वीसुब्बा एका पट्टी रहँदा शङ्कर पोखरेल र स्थायी कमिटी सदस्य खगराज अधिकारी अर्को समूहमा रहेका छन्।

गुरुङ समूहको तर्फबाट प्रदेश कमिटीका वर्तमान अध्यक्ष नवराज शर्मा (म्याग्दी) नै अध्यक्षका उम्मेदवार बनेका छन् भने स्थायी कमिटी सदस्य अधिकारी समूहबाट केन्द्रीय सदस्य मायानाथ अधिकारी (लमजुङ) अध्यक्षका दाबेदार छन्। गुरुङ समूहको उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, उपसचिवमा कास्कीका दामबहादुर विक र उपसचिव महिलामा पर्वतकी मञ्जु अधिकारी रहँदा अधिकारी समूहको उपाध्यक्षमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का बाबुराम बि.क, सचिवमा कास्कीका रश्मि आचार्य, उपसचिवमा म्याग्दीका सन्तोष रावल र उपसचिव महिलामा कास्कीकी मिना गुरुङ उम्मेदवार तय भएका छन्।

अन्तिम समयसम्म पनि सहमतिको प्रयास सफल नभएपछि महासचिव पोखरेलको साथ पाएको अधिकारी समूहले मङ्गलवार राति नै आफ्ना उम्मेदवारहरू तय गरिसकेको थियो भने गुरुङ समूहले बुधबार बिहान मात्रै आफ्ना उम्मेद्वारहरूको टुङ्गो लगाएको हो। अध्यक्षमा नै लड्न वर्तमान कमिटीका उपाध्यक्ष मोहन रेग्मी (स्याङ्जा), वर्तमान सचिव धनञ्जय दवाडी (लमजुङका), एमाले बागलुङका अध्यक्ष हिराबहादुर के.सी. नाम पनि चर्चामा आएका थिए।  लमजुङका दवाडी भने गुरुङ समूहबाट सचिव पदका उम्मेदवार बनेका छन्।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठलाई हराएपछि एकाएक चर्चामा आएकी नेकपा एमालेकी वर्तमान सचिव पद्मा अर्याल मौन अवस्थामा रहँदै तेस्रो धारमा देखिएकी छिन्। ‘पर्ख र हेर’ को रणनीतिमा रहेकी उनले सहमतिको प्रयासका लागि दुवै पक्षका नेताहरूसँग आफू नजिकका नेताहरूमार्फत सल्लाह गर्दे आएकी छिन्। पार्टीमा गुट उपगुट हुन नहुने अभिव्यक्ति दिएकी उनी आफूले नै कसैलाई च्याप्दा गुटगत राजनीतिमा देखिएको हुन सक्ने भएकाले दोधारमा परेको देखिन्छ।

लमजुङ घर भएका स्थायी कमिटी सदस्य किरण गुरुङ पनि सर्वसम्मतिको पक्षमा रहेको बताउँदै आएका थिए। डेंगी सङ्क्रमण भएकाले आराम गरिरहेको बताएका उनले कुनै पनि गुटप्रति लगाव राखेको नदेखिएको केही नेता बताउँछन्। पद्मा र किरणले पक्षले जुन समूहलाई सहयोग गर्छन् उही समूहको उम्मेदवार बलियो हुने सम्भावना गण्डकीमा देखिएको छ।

 कास्की, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), स्याङ्जा र पर्वतको मत ५२ प्रतिशत छ। त्यसैले यी जिल्लाको मत जसले बढी आफ्नो पक्षमा पार्न सक्छ त्यही पक्षको उम्मेदवारले चुनाव जित्ने सम्भावना रहने नेताहरू एमाले नेताहरू बताउँछन्। कतिपय नेताहरूले यो ‘प्यानल’गत लडाईँ नभएको दाबी गरे पनि फेसबुकमा मतदानका लागि आह्वान गरेका केही कार्यकर्ताहरूले ‘मिक्स प्यानल’ उम्मेदवारलाई मत नमागी एक समूहका उम्मेदवारहरूको लागि मात्रै मत माग्न सुरु गरेका छन्।

गण्डकीका ११ जिल्ला र जनसङ्गठनबाट नौ सय सात प्रतिनिधि सहभागी भएका छन्। अधिवेशनले एक सय ६५ सदस्यको प्रदेश कार्यसमिति निर्वाचित गर्ने छ। बुधबार मतदान गरेर बुधबार नै नतिजा सार्वजनिक गर्ने तयारी एमाले गण्डकीले गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.