|

विराटनगर : स्थानीय तह निर्वाचनको दोस्रो चरणको मतदान मोरङमा शान्तिपूर्ण र उत्साहजनक ढंगले भएको छ। विराटनगर महानगरपालिकाका केही वडामा भने अझै मतदान भइरहेको छ। यसबाहेक जिल्लाका अन्य मतदान केन्द्रमा मतदान सम्पन्‍न भएको छ। 

अहिले निर्वाचन आयोगका अधिकारीलाई मत गणनाको लागि मत पेटिका संकलन गर्ने चटारो छ। मतदाताहरुलाई भने मत खसालेदेखि नै कसले जित्छ भन्ने कौतुहलता छ। 

 मोरङमा बुधबार राती १०–११ बजेसम्ममा मतपेटिका संकलन भइसक्ने मुख्य निर्वाचन कार्यालय मोरङका सूचना अधिकृत भक्तबहादुर भट्टराईले जानकारी दिए। ‘मतपेटिका संकलनको तयारी भइरहेको छ,’ भट्टराईले भने, ‘मत पेटिका संकलन पछि सर्वदलीय बैठक बसेर मत गणनाको काम सुरु हुन्छ।’ 
मोरङमा ७० प्रतिशत भन्दा बढी मत खसेको निर्वाचन आयोगले अनुमान गरेको छ। मोरङमा कुनै पनि मतदानस्थलमा अप्रिय घटना नभएको भट्टराईले जानकारी दिए। 
मौसमको अनुकूलता

यसैपनि मध्य असारमा गरिएको निर्वाचनमा वर्षाहुने र मतदाता तथा मतपत्र भिज्ने समस्या हुने आँकलन गरिएपनि मोरङमा पानी परेन। अत्याधिक गर्मी हुने मोरङमा बुधबार मतदान भइरहँदा चर्को घाम पनि लागेन। मोरङको उत्तरी क्षेत्रमा बिहान ७ बजेभन्दा अगाडि वर्षा भएको भएपनि दिउँसो मौसम सफा रह्यो। 

निर्वाचन कार्यालयका सूचना अधिकृत भट्टराईले मौसमको अनुकूलताका कारण आफूहरुलाई पनि सजिलो भएको बताए। बिहान परेको पानीका कारण बढेका खोलाको बाढी पनि दिउँसो कम हुँदै जाँदा मतदातालाई मतदानस्थल आउन सजिलो भएको थियो।

मतदाताको उत्साहजनक सहभागिता

मतदाता बिहान ७ बज्नअघि नै मतदानस्थल पुगेका थिए। कतिपय मतदानस्थलमा मतदाता कम भएका कारण दिउँसो लाइन थिएन भने कतिपय स्थानमा भने ५ बज्नु अगाडिसम्म मतदाताको लाइन लामै थियो।

वर्षाका कारण या अन्य कारणले मतदाता मत हाल्न आउँदैनन् कि भन्ने आशंकालाई यस पटकको निर्वाचनले गलत साबित गरिदिएको छ। अधिकांश मतदानस्थलमा ७० प्रतिशतकै हाराहारीमा मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.