|

काठमाडौँ : मुख्य चाडपर्वको मुखमा बजार अनुगमनलाई तीव्र पारेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज ४ लाख २० हजार रुपैयाँ जरिवाना तिराएको छ।

नियमित अनुगमनका क्रममा भाँडाकुँडा, खाद्यवस्तु, पानी लगायतका पसललाई १० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना गरिएको हो। विभागका निर्देशक आनन्दराज पोखरेलका अनुसार आजको अनुगमनबाट ५ जना व्यापारीलाई जरिवाना, ८ पसललाई सामान्य निर्देशन र ८ वटै पसलबाट कागजात माग गरिएको छ।

आज एक भाँडा पसल र खाद्य वस्तु पसलले खरिद बिल बिजक नराख्दा १० हजार रुपैयाँ जरिवानामा परेको छ। त्यसैगरी दर्ता प्रमाणपत्र नराखी चलाएको पानी पसलले मूल्यसूची नराखेको पाइएपछि १ लाख रुपैयाँ जरिवाना गरिएको निर्देशक पोखरेलले बताए।

त्यस्तै न्युरोडस्थित एक व्यापारीले रिलेबलिङ गरेको, गुणस्तर, परिमाण मूल्य तथा नापतौलमा हेरफेर गरेको पाइएपछि दुई लाख रुपैयाँ जरिवाना गरिएको छ। सोही वर्गीकरणमा परेको अर्का एक पसलले दर्ता प्रमाणपत्र र मूल्यसूची नराख्दा १ लाख रुपैयाँ जरिवानामा परेको छ।

हिजोको अनुगमनमा १ लाख ४५ हजार जरिवाना गरिएको थियो। बजार अनुगमनका क्रममा जरिवानामा परेका व्यापारीले एक साताभित्र जरिवाना तिर्नुपर्ने प्रावधान छ। केही व्यापारीबाट जरिवाना रकम तिराउन बारम्बार ताकेता गर्नुपर्ने विभागका निर्देशक पोखरेलले बताए। जरिवाना तिर्न अटेरी गर्ने पसललाई भने सिल गर्नसक्नेसम्मको अधिकार विभागसँग छ।

पसल र व्यापारीको ठगीबारे दिनहुँमा विभागमा उजुरी आउने गरेको निर्देशक पोखरेलले बताए। उनले विभागमा आउने यस्ता उजुरी र नियमित रूपमा विभागले बजार अनुगमन गर्ने गरेको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.