|
फाइल तस्वीर

तनहुँ : तनहुँको ब्यास नगरपालिका–११ मा सञ्चालित ‘बाराही–रानीमार्ग’ सडक कालोपत्र तोकिएको समयअघि नै गरिसकिएको छ।

विसं २०८० फागुन ११ गतेसम्म सक्नुपर्ने सम्झौता गरेको मङ्गलादेवी सुवास कन्ट्रक्सन कम्पनीले ८ महिनामै कालोपत्र गरिसकेको हो। काममा तीव्रता दिएका कारण सम्झौता अगावै गत असोजमा कालोपत्र सकिएको निर्माण कम्पनीका प्रतिनिधि सुवासचन्द्र कार्कीले जानकारी दिए। 

ठेक्का सम्झौतालगत्तै योजनास्थलमा उपकरण र आवश्यक मजदुर परिचालन गरी साँघुरो सडकलाई फराकिलो बनाउने, सडकका तलमाथि ग्याबिङसहित पर्खाल, नालीलगायतका काम गरिएको उनले बताए। 

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय तनहुँले योजनाको निर्माण प्रक्रिया अघि बढाएको हो। 

मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालि र पूर्वाधार विकास कार्यालय तनहुँबीच विसं २०७९ फागुन ११ गते ४ करोड ४१ लाख ५० हजार ६०८ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।  

उक्त मार्गले व्यास–११ का स्थानीय लाभान्वित हुने छन्। उक्त वडाको रानीगाउँदेखि पराशर मार्गलाई जोड्दै बराहखोला, निर्बु, दुम्सीचौर, सेवर हुँदै पृथ्वी राजमार्गको तालघरेमा जोडिने वडाध्यक्ष दलबहादुर दुराले जानकारी दिए। यसबाट १ हजारभन्दा बढी स्थानीय लाभान्वित हुने छन्। 

उनले भने‚ ‘उक्त मार्गलाई रिङरोड मार्गको रुपमा विकास गर्ने योजनाका साथ काम गरिरहेका छौँ।’ 

१ हजार ७ सय मिटर प्रिमिक्स किसिमको कालोपत्र र दरै-पँधेरा क्षेत्रमा करिब ४० मिटर पानी कटाउन ढलान गरिसकेको पूर्वाधार विकास कार्यालय तनहुँका इञ्जिनियर राजेश पौडेलले जानकारी दिए। 

२० वर्षअघि ट्र्याक खोलिएको उक्त मार्गमा सडक स्तरोन्नतिदेखि कालोपत्र गरेपछि स्थानीय खुशी भएका छन्।

उक्त मार्गमा स–साना मर्मतबाहेक निर्माण कम्पनीले मुख्य कार्य सम्पन्न गरिसकेको पूर्वाधार विकास कार्यालय तनहुँका निमित्त कार्यालय प्रमुख कृष्ण आचार्यले बताए। 

पूरा भएको उक्त योजनाको अनुगमन गरेर निर्माण कम्पनीलाई काम सम्पन्न भएको प्रमाणपत्र र भुक्तानी दिन बाँकी रहेको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.