news

|

संखुवासभा : संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेशमार्गको मुआब्जा नपाएका व्यक्ति भदौ १६ गतेदेखि आन्दोलनमा छन्।

खाँदबारी नगरपालिका–४, छ्याङकुटीदेखि चिचिला गाउँपालिका–२, दिदिङ सडकखण्डको छुट मुआब्जाको माग गर्दै पीडितले सडक आन्दोलन गर्दै आएका छन्। छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको २४ किलोमिटर क्षेत्रको मुआब्जा पटक पटक माग गर्दा पनि नपाएपछि पीडित अनिश्चितकालीन आन्दोलनमा उत्रिएका हुन्।

आयोजनाको निर्माण सामग्री ढुवानीमा अरुण तेस्रो प्रवेशमार्ग मुआब्जा पीडित संघर्ष समितिले रोक लगाउँदै आएको छ। विद्युत् उत्पादनगृहको प्रवेशकेन्द्र छ्याङकुटीमा भेला भएर उनीहरूले दैनिक नारावाजी गर्दै आयोजनाको ढुवानीका सवारीसाधनमा रोक लगाएको केन्द्रीय संर्घष समिति संयोजक जनीकुमार राईले जानकारी दिए। बैंक खातामा रकम जम्मा हुने ग्यारेन्टी नआएसम्म आन्दोलन नरोक्ने संयोजक राईले बताए।

४५४ रोपनी जग्गाको मुआब्जा नपाएको भन्दै जग्गाधनीले आन्दोलन गर्दै आएका छन्। यसबाहेक जग्गाको मुआब्जा २०४६ सालमै दिए पनि छुट जग्गाको मुआब्जा जग्गाधनीले अझै पाउन सकेका छैनन्। आयोजनाको ६५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ।

गत वैशाख २६ गते छ्याङकुटी–दिदिङ सडक खण्डको छुट मुआब्जा सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी संयोजक भएको मुआब्जा निर्धारण समितिले प्रतिरोपनी ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को बैठकले छुट जग्गाको मुआब्जा दिने निर्णय गरे पनि सरकारले मुआब्जा दिन सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.