ठाउँ पहिचान गरी विवरण पठाउन निर्देशन

|
फाइल तस्बिर

काठमाडौं : काठमाडौं महानगरपालिकाले सबै वडाभित्र आधुनिक शौचालय निर्माण गर्ने प्रकृया अगाडि बढाएको छ। महानगरपालिका क्षेत्रभित्र प्रत्येक ५ सय मिटरमा आधुनिक शौचालय बनाउने महानगरपालिकाको नीति अनुरूप शौचालय निर्माण गर्न प्रकृया अगाडि बढेको हो।

महानगरपालिकाले उक्त नीतिअनुरूप आधुनिक शौचालय बनाउन वडा कार्यालयमा सार्वजनिक शौचालय बनाउने स्थान पहिचान गरी खरिद प्रकृयाबाट आधुनिक सार्वजनिक शौचालय बनाउने कार्यको प्रगति विवरण यथाशिघ्र महानगरको सार्वजनिक निजी साझेदारी एकाईमा पठाउन निर्देशन दिएको छ।

महानगरपालिकाको ११ औं नगर कार्यपालिकाको २०७९/०९/१८ को निर्णयबाट सम्बन्धित वडा क्षेत्रभित्र सार्वजनिक शौचालय बनाउन उपयुक्त स्थान पहिचान गरी आधुनिक शौचालय बनाउने अधिकार वडा कार्यालयलाई दिएको छ।

यसै विषयलाई प्राथमिकतासाथ अगाडि बढाउन गत असोज १५ गते सबै वडा सचिव, शहरी आयोगको विज्ञ, प्रशासन विभाग प्रमुख लगायतबाट सार्वजनिक निजी साझेदारी एकाईको बैठकमा भएका निर्णय कार्यान्वयन गर्न असोज १७ गते नै सबै वडा कार्यालयलाई महानगरपालिकाले अनुरोध गरेको थियो।

महानगरको सार्वजनिक निजी साझेदारी एकाईका प्रमुख डा शिवराज अधिकारीले महानगरपालिका क्षेत्रभित्र प्रत्येक ५ सय मिटरमा आधुनिक शौचालय निर्माण गर्ने प्रकृया अगाडि बढिसकेको जानकारी दिए।

सर्वसाधारणहरूका लागि सार्वजनिक शौचालय अति आवश्यक भएकोले उक्त निर्माणमा विशेष प्राथमिकता महानगरले दिएको उनको भनाइ छ।

उनले भने, ‘महानगरपालिका प्रमुखको निर्देशानुसार ठाउँ पहिचान गर्न अनुरोध गरिएको छ।’ उनका अनुसार सबै वडा कार्यालयले सार्वजनिक शौचालय बनाउन पहिचान गरेको स्थानको ड्रइङ्ग, डिजाइन तयार गरी खरिद प्रकृयालाई प्राथमिकता राखि अगाडि बढाउनु पर्नेछ।

कतिवटा आधुनिक शौचालय बनाउने भन्ने कुरा स्थान पहिचान गरी खरिद प्रकृयाबाट आधुनिक सार्वजनिक शौचालय बनाउने कार्यको प्रगति विवरण आएपछि मात्रै यकिन हुने उनले बताए। 

३२ वडामा ६० वटामात्र शौचालय

काठमाडौं महानगरपालिकाभित्र ३२ वडा छन् तर महानगरभित्र हाल ६० वटा मात्रै सार्वजनिक शौचालय रहेको सार्वजनिक निजी साझेदारी एकाईका प्रमुख डा अधिकारी बताउँछन्। जसकारण शौच गर्न शहरवासीलाई समस्या भइरहेको छ।

भएका शौचालयहरू पनि नियमित सफा नहुँदा नाक थुनेर शौच गर्नुपर्ने र वरिपरी हिँड्न नसक्ने बाध्यता छ तर यी शौचालय अहिले वडाबाट मर्मत तथा सरसफाइ गरेर सञ्चालनमा आएको दावी महानगर गर्छ।  

सार्वजनिक निजी साझेदारी एकाईका प्रमुख डा अधिकारीका अनुसार ती ६० वटा शौचालयमध्ये ९ वटामात्रै आधुनिक शौचालय निर्माण गरिएका छन्। अन्य आधुनिक शौचालय निर्माण भएपछि शहरवासीलाई सहज हुने उनको भनाइ छ।

एउटा आधुनिक शौचालय निर्माणमा २५ लाख लाग्ने

सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख डा अधिकारीका अनुसार सबै वडामा आधुनिक शौचालय निर्माण गर्दा कति खर्च लाग्छ भन्ने हाल यकिन छैन। यसअघि निर्माण गरिएका आधुनिक शौचालयहरूमा भने एक वटा शौचालय निर्माणमा २० देखि २५ लाख रुपैयाँ लागत परेको उनले बताए।

महानगरपालिकाले स्वयम्भूलगायत क्षेत्रमा स्मार्ट शौचालय निर्माण गरेको छ। ‘पुससम्ममा सबै विवरणहरू हामी कहाँ आइपुग्छ, त्यसपछि कति शौचालय निर्माण हुने र लागतबारे थाहा हुन्छ,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.