news

|

संखुवासभा : सरकारले संखुवासभामा १ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको काम अघि बढाउने भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महत र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतसहितको टोली माथिल्लो अरुण आयोजना आएका हुन्।

टोलीले माथिल्लो अरुणको बाँध, ऊर्जागृह र सुरुङ मार्गको अवलोकन गरेको छ।

शुक्रबार मन्त्री महत र बस्नेत, संखुवासभाका संघीय सांसद दीपक कार्की, प्रदेशसभा सदस्य राजेन्द्र कार्की, ऊर्जा सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र विश्व बैंककी प्रबन्धनिर्देशक आना वियर्डे, एशियाली विकास बैंकका महानिर्देशक रमेश सुब्रमण्यम सहितको टोलीले आयोजनास्थल निरीक्षण गरेको हो।

सरकारले प्राधिकरणको सहायक कम्पनीमार्फत आयोजना निर्माण गर्ने निर्णय गरेको हो। प्राधिकरणले आयोजना निर्माण गर्न माथिल्लो अरुण जलविद्युत् लिमिटेड नामक कम्पनी स्थापना गरिसकेको छ।

भोटखोला गाउँपालिका–४ छोग्राङमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले माथिल्लो अरुण जलविद्युत् आयोजना देखिने गरी कार्यान्वयनको चरणमा पुग्न लागेको बताए।

सीमित स्रोत भए पनि माथिल्लो अरुणलाई कार्यान्वयनको चरणमा लैजान राम्रो बजेट विनियोजन गरिएको उल्लेख गरे। लगानीका लागि स्थानीयले चाहिएजति शेयर पाउने बताउँदै मन्त्री महतले देशका लागि अत्यन्त महत्वपूर्ण आयोजना अब लगानी जुटाउने तहमा पुगेको उल्लेख गरे।

आयोजनाको निर्माण सन् २०३१ भित्र सम्पन्न गर्ने लक्ष्य छ। आयोजनालाई आवश्यक २२५ हेक्टर निजी जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण भइसकेको छ। आयोजनाबाट करिब २२ घरधुरी विस्थापित हुनेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.