|

काठमाडौं : विराट कोहलीको शतकको मद्दतमा भारतले आईसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकालाई २ सय ४३ रनको फरकिलो अन्तरले पराजित गरेको छ। 

भारतले दिएको ३२७ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाल २७.१ ओभरमा ८३ रन बनाएर अल आउट भयो। ​

दक्षिण अफ्रिकाका क्विन्टन डी कक ५, टेम्बा बभुमा ११, रस्सी भान डेर डुसेन १३, एडन मारकरम ९, मार्को जोन्न १४ र हेनरी क्लासेन १ रन बनाएर आउट भए। भारतीय बलरसामु कुनै पनि खेलाडीले खुलेर खेल्न सकेनन् ।

खेलमा रविन्द्र जडेजाले ५ तथा मोहम्मद शामी र कुलदीप यादवले दुई दुई  विकेट लिए।

त्यसअघि कोलकातास्थित इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको भारतले ५० ओभरमा पाँच विकेट गुमाउँदै ३२६ रन बनाएको थियो।  कप्तान तथा ओपनर रोहित शर्मा २४ बलमा ४० रन बनाउँदै कागिसो रबाडाको बलमा आउट भए। शुभमन गिल पनि २३ रनमा आउट भए। 

तेस्रो विकेटका लागि कोहली र श्रेयस ऐअरले एक सय ३४ रनको साझेदारी गर्दै इनिङसलाई बलियो स्थितिमा पुर्याएका थिए। श्रेयस ७७ रनमा लुंगी एगिडीको बलमा क्याच आउट भएका थिए। के एल राहुल भने ८ रनमानै पवेलियन फर्किए। ​

कोहली १०१ रनमा अविजित रहे। उनले ४८ ओभर तीन बलमा रबाडालाई एक रन प्रहार गर्दै आफ्नो ३५ औं जन्मदिनमा आफैंलाई शतक उपहार दिए। योसँगै उनले सचिन तेन्दुल्करको नाममा रहेको सर्वाधिक ४९ ओडीआई शतकको कीर्तिमान बराबरी गरेका हुन्।​

कोहलीले करियरको २ सय ७७ औं ओडिआईमा यो उपलब्धि हात पारेका हुन् भने यही उपलब्धी हात पार्न सचिनले ४ सय ५१ ओडिआई खेलेका थिए।

सेमिफाइनल पुगिसकेको घरेलु टोली भने जारी प्रतियोगितामा अपराजित छ।  उसको ८ खेलबाट १६ अंक भएको छ। प्रतियोगिता अन्तरगत आज बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.