|

जाजरकोट (ओलरिजा) जिल्ला सरमुकामका सडक नीला पालले भरिभराउ भएको छ। भूकम्पका कारण घर भत्किएर खुल्ला आकाशमुनि बसिरहेका स्थानीयवासीलाई सशस्त्र प्रहरीले निर्माण गरेको टेन्टले केही राहत दिएको छ।

पुराना शैलीका सबै घर भत्किएपछि विस्थापित स्थानीयवासीलाई चिसोबाट जोगाउन र सुरक्षित रूपमा राख्न सशस्त्र प्रहरीले पालको टेन्ट बनाई भूकम्प पीडितलाई सहयोग गरेको हो। त्यस्तै सशस्त्र प्रहरीले त्रिभुवन माध्यमिक विद्यालयको प्रांगणमा समेत टेन्ट निर्माण गरी सर्वसाधारणलाई भूकम्पबाट जोगाउन थालेको छ।

पटकपटकको परकम्पले गर्दा घरमा बस्ने अवस्था नभएका र घर भत्किएका त्रिभुवन माध्यमिक विद्यालयमा निर्माण गरिएको टेन्टमा रात कटाउने गरेको छन्। भेरी नगरपालिका–२ का प्रदीप खड्काले विद्यालयमा बनाएको टेन्टमा बस्दा सुरक्षित रहेको अनूभूति भएको बताए। 

सशस्त्र प्रहरीको टोली राहत वितरण भइरहेको पालिकाका विभिन्न वडामा पनि पुगेको छ। राहत सामग्री वितरणमा सहयोग गर्ने , भूकम्पबाट पीडित भएका स्थानीयबासीलाइ सम्झाइबुझाइ गर्ने देखि पालबाट टेन्ट निर्माणमा सघाउने काममा लागेको छ। 

नलगाड नगरपालिका–२ रिजामा पुगेको सशस्त्र प्रहरी बलको टिमले त्यहाँ राहत वितरणमा भारी सहयोग गरेको थियो। मानसिकरूपमा तनावमा रहेका सर्वसाधारणलाई सम्झाइबुझाइ गर्ने काम समेत सशस्त्र प्रहरीले गरिरहेको छ। 

सदरमुकाम भन्दा बाहिरका पालिकामा सरकारी निकायको ध्यान कम पुगेको पाइएको छ। पटक पटक परकम्प गइरहेकोले भूकम्पबाट कसरी जोगिने भन्ने विषयमा समेत स्थानीयबासीलाई पर्याप्त जानकारी नभएको पाइएको छ।​ सशस्त्रले टेन्ट निर्माण गरे पनि स्थानीय तहले कपडा उपलब्ध नगराउँदा बस्नेहरू चिसोले समस्या भएको बताउँछन्। भेरी नगरपालिका–३ का गणेश थापाले पटकपटक माग्दा समेत कपडा नपाएको बताए। 

सदरमुकाम बाहिर भने अधिकांश ठाउँमा राहत सामग्री पुग्न सकेको छैन। राहत वितरणमा मापदण्ड निर्माण नगरी जथाभावी बाँड्दा समस्या भइरहेको छ। भूकम्पबाट पीडित नभएकालाई समेत राहतको नाममा विभिन्न सामग्री उपलब्ध गराउँदा सामग्री अभाव देखिएको हो। 

स्थानीय तहसँग सहकार्य गरेर आफैँ गाउँ ,गाउँमा पुगेका संघ,संस्थाले आफू अनूकुल ठाउँमा राहतको नाममा सबैलाई सामग्री तथा खाद्यान्न वितरण गर्दा समस्या देखिएको हो। स्थानीय तहले भूकम्पपीडितको नामावली संकलनगर्दैगर्दा एकिन तथ्यांक नभएर वडाध्यक्षले आफू निकट दलका कार्यकर्ता अघिपछि लगाएर राहत वितरण गर्न खोज्दा पीडितभन्दा पनि गैरपीडितले राहत पाएको गुनासो बढेको छ। 

नगरपालिकामा राहत सामग्री दाखिला गरि कर्मचारीको रोहवरमा वितरण गरिएको सामग्री मात्र पादरर्शी भएको नलगाड नगरपालिका –२ रिजाका श्यामलाल गौतमले बताए। त्यस्तै बारेकोट गाउँपालिकामा सोमबार दिउँसो भूकम्पको केन्द्रविन्दु रहेको बारेकोटमा केही राहत पुगेको छ। 

गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीका अनुसार भारी मात्रामा घर भत्किएका कारण सर्वसाधारण खुला आकाशमुनि बसिरहेका छन्। उनीहरूलाई  चिसोबाट जोगाउनु मुख्य चुनौती रहेको अध्यक्ष गिरीले बताए। बारेकोट जाजरकोटको सबै भन्दा बढी चिसो हुने ठाउँ हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.