|

ताप्लेजुङ​ : जंगलको बिचमा वर्षौँदेखि व्यावसायिक चौँरीपालन गरिरहेका मिक्वाखोला गाउँपालिका–५ का ४६ वर्षीय मिलनदोर्जे शेर्पा। त्यहाँ मानव बस्ती,  सडक,  बिजुली र  सञ्चारको पहुँच छैन।

अनकन्टार जङ्गलको बीचमा एकोहोरो कुकुर भुकेको आवाजमात्रै सुनिन्छ। चकमन्न जङ्गलको बिचमाफैलिएको विशाल चौँरीखर्क। कलकल सुसाइरहेको हिमाली खोल्सो। चाँदीजस्तै टल्किने हिमालका चुचुरा नियाल्दै उनको दिन बितिरहेको छ।

शेर्पाको पुर्ख्यौली पेशा चौँरीपालन हो। तर उहाँ केही समय पुर्ख्यौली पेशा छाडेर होटल व्यसायमा लागे। उनले संखुवासभा  र काठमाडौंमा १३ वर्ष होटल सञ्चालन गरे। व्यवसाय गर्दा आफ्नो पुर्खाले गरेको पेशा सम्झना आइरहन्थ्यो। ‘होटल व्यवसाय मन परेन , बिक्री गरेर पुर्ख्यौली पेशामै फर्किन मन लाग्यो’, उनले भने  शेर्पासँग अहिले तोक्पेगोला क्षेत्रमा २५० भन्दा बढी चौँरी छन्। चार वर्षअघि एउटा चौँरी ७० हजारदेखि एक लाख ४० हजारसम्ममा चीनमा निर्यात हुन्थ्यो। कोभिड–१९ का कारणले टिप्ताला नाका बन्द भएसँगै चौँरी बिक्री ठप्प भएको छ।

चिनिया बजारमा राम्रो मूल्यमा चौँरी निर्यात हुने देखेपछि होटल व्यवसाय छाडेर चौँरीपालन लागेका शेर्पा अहिले निराश छन्। ‘होटल बेचेर यहाँ आइयो। गोठ विस्तार गरे। तर नाका नखुल्दा चौँरी बिक्री हुन छाड्यो’, उनले भने।

फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाका तेन्जिङ शेर्पा चौँरीगाईसँग रमाउन थालेको ६५ वर्ष भयो। उहाँको समुद्र सतहबाट चार हजार तीन सय मिटर उचाइको मौवाटारमा गोठ छ। छोराछोरीलाई अंशका रूपमा चौँरी बाँडेर पनि उहाँसँग अहिले ४०  छन्। बाह्र दुहुना छन्। बिहान उठ्नेबित्तिकै एक गिलास दूध चिया लिएपछि झिसमिसेदेखि दुहुना चौँरी बटुलेर दूध दुहुँदा घाम लागिसक्छ।

चौँरीलाई चरन क्षेत्रमा पुर्याएर गोठमा आएर खाना खाँदा आधा दिन गइसकेको हुन्छ। बिहान दुहेको दूधलाई मोही, घ्यू र छुर्पी बनाउँदासम्ममा घाम क्षितिजपारि पुगिसक्छ। साँझ परेपछि छरिएका चौँरीलाई जम्मा गर्दै आफ्नो गोठमा ल्याउँदासम्म चन्द्रमा उदाइसक्छ। पहिले चौँरी र बाछा बिक्रीबाट राम्रो आम्दानी हुन्थ्यो।  अहिले चौँरीलाई नुन खुवाउनसमेत मुस्किल भएको शेर्पाले बताए। मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रका तेन्जिङनुपु शेर्पा अहिले चौँरीगोठमा चौँरी स्याहार्नमा व्यस्त छन्। उनले पनि विगत चार वर्षदेखि चौँरी बिक्री गर्न सकेका छैनन्।

मौवटारमा चार, सिञ्जेमा पोखरी क्षेत्रमा दुई र याङ्मा क्षेत्रमा नौवटा चौँरीको घुम्तीगोठ छ। मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोला क्षेत्रमा ३५ गोठमध्ये १७  घुम्ती गोठ रहेको मिक्वाखोला गाउँपालिकाका पशु शाखाका पशु प्राविधिक महेन्द्र अधिकारीले बताए।

ताप्लेजुङ हिमाली जिल्ला भएकाले यहाँ धेरै लेकाली बस्ती छन्। हिमाली बस्तीमा बासोबास गर्ने समुदाय पशुपालनमै निर्भर हुँदै आएको छ। दैनिक चौँरी चराउँदैमा उनीहरूको दिन बित्छ। यहाँका चौँरीको मुख्य बजार चीन हो। चीनमा राम्रो बजार मूल्यमा बिक्री हुने भएकाले हिमाली क्षेत्रका समुदाय चौँरीपालनप्रति आकर्षित हुन्छ।

तर कोभिड–१९ का कारणले गर्दा बन्द भएको टिप्ताला नाका चार वर्षमा पनि नखुल्दा चौँरीपालक चिन्तित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.