|

संखुवासभा : संखुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका–१ स्थित बुद्धचोकमा रहेको राज खुकुरी उद्योगले पुर्ख्यौली पेसालाई आधुनिकीकरण गरेर लाख रुपैयाँभन्दा बढीको कारोवार गरिरहेको छ।

राज खुकुरी उद्योगले पुर्ख्यौली पेसालाई उद्योगका रूपमा विकास गरेको हो। राज खुकुरी उद्योगले खुकुरी उत्पादन गरेर बजारमा बेचेर वार्षिक १५ लाख रुपैयाँभन्दा बढीको कारोवार गरिरहेको छ।

करिब ३० वर्षअघि स्थापना भएको राज खुकुरी उद्योगले चित्लाङे, सिरुपाते खुकुरी, खुडा, तरवार जस्ता विभिन्न खुकुरी उत्पादन गरिरहेको राज दर्नालले बताए। देश, विदेशमा पहिचान बनाएको खुकुरीले दक्ष कालीगड अभावमा मागअनुसार उत्पादन गर्न समस्या भएको सञ्चालक दर्नालले बताए।

पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले खुकुरी बनाउने कालीगड पेसा लोप हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ। संखुवासभामा उत्पादित खुकुरी, धरान, विराटनगर, काठमाडौँ र चीनसम्म निर्यात हुने गरेको सञ्चालक दर्नालले बताए। कालीगड पेसालाई जोगाउन खुकुरी उद्योगलाई राज्यले लगानी गर्नुपर्ने उद्योग सञ्चालक दर्नालले बताए। उद्योगमा राज्यले लगानी नगर्दा पछिल्लो समय युवाशक्ति विदेश पलायन हुने लहर चलेको उनको भनाइ छ। 

यहाँ उत्पादन भएका खुकुरी आकारअनुसार न्यूनतम रु. एक हजार पाँच सयदेखि अधिकतम रु. २० हजारसम्म पर्ने गर्दछ। चीन निर्यात हुने खुकुरी नाका बन्द भएपछि ठप्प भएको उनको भनाइ छ।

कोरोनापछि आर्थिक मन्दीले खुकुरीको व्यापार समेत घटेको व्यवसायीको भनाइ छ। राज खुकुरी उद्योगमा दैनिक पाँचजनाले रोजगारी समेत पाएका छन्। यहाँ उत्पादित खुकुरी कोसेलीको रूपमा सेना, प्रहरी लगायत सुरक्षानिकायमा बिक्री हुने गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.