|

बर्दिवास : न्यूनतम तापक्रम घटेसँगै महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन्। 

अचानक चिसो बढेपछि उपचारका लागि आउने श्वासप्रश्वासका बिरामी  बढेका बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा किशोर अधिकारी बताए। अहिले दैनिकजसो सरदर ३०–४० जना श्वासप्रश्वासका  बिरामी उपचारका लागि बर्दिबास अस्पताल आउने गरेको उनले जानकारी दिए।

‘अस्पतालमा बिरामी बढेका छन्, अहिलेका बिरामीमा श्वासप्रश्वास र हाडजोर्नी दुख्ने समस्याका बढी भेटिएका छन्’, उनले भने, ‘खासमा बढ्दो चिसोमा आवश्यक सावधानी र सम्भार नअपनाइँदा बिरामी बढ्ने गरेका हुन्।’ यस्ता बिरामीमा ग्रामीण बस्तीका वृद्धवृद्धा र महिला बढी रहेका जनाइएको छ। 

मौसमअनुसार खानपान अन्य आहारव्यहारमा ध्यान नदिँदा श्वासप्रश्वास, हाडजोर्नी दुख्ने र आँखाका बिरामी बढेका अस्पतालका मेडिकल अधिकृत डा.चन्द्रमणि खत्री बताए। जिल्ला सदरमुकामस्थित जलेश्वर जिल्ला अस्पताल, गौशाला र सम्सीस्थित प्राथमिक स्वास्थ्य केन्द्र र जिल्लाका १५ वटै स्थानीय तहमा रहेका स्वास्थ्यचौकी र अन्य निजीस्तरमा सञ्चालित अस्पतालमा पनि श्वासप्रश्वास र आँखाका बिरामी आउने क्रम बढेको छ।

जिल्लाका सबैजसो मुख्य सडकमा उड्ने धुलो, जाडो छल्न प्लाष्टिक, भिजेका पतिङ्गर, पुराना टायर र फोहर लुगामा आगो सल्काएर तापिने ‘घुर’को धुँवाले श्वासप्रश्वास र आँखाको समस्या बढाएको स्वास्थ्य कार्यालय महोत्तरीका निमित्त प्रमुख सुनिता गुप्ताले जानकारी दिइन्। जिल्लाको मध्य र दक्षिणी भेगमा यस्तो समस्या दलित र गरिबका झुपरबस्ती (पराले झुप्राका बस्ती) मा बढी देखिएको उनको भनाइ छ।

चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा बिहान–बेलुका जाडो छल्ने उपायका लागि काम गर्न स्थानीय तहसँग सामाजिक संघसंस्थाले आग्रह गरेका छन्। ‘क्षति हुन थालेपछि मात्र राहतका पोका बोक्ने बानी छ हाम्रो, अब स्थानीय तहको नेतृत्व चनाखो हुनपर्छ’, प्रयास महोत्तरीका अध्यक्ष प्रवीण कर्णले भने, ‘अहिलेको तदारुकताले पछि अप्ठ्यारो बेला व्यवस्थापन गर्न सजिलो हुन्छ।
 
मङ्सिरमै लगलगी कमाउने चिसो बढेपछि पुस र माघ झनै चिसो बढ्ने अड्कलले गरिब बस्तीमा चिन्ता बढेको छ। यसैबीच जिल्ला समन्वय समितिको कार्यालय महोत्तरीले जिल्लाका १५ वटै स्थानीय तह र जिल्ला दैवीप्रकोप उद्धार समितिसँग चिसोबाट बर्सेनी हुँदै आएको जनधनको क्षति हुन नदिन पूर्वसतर्कता र आवश्यक तयारीका लागि आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.