|

काठमाडौँ: स्थानीय तहको ३३४ स्थानमा भएको निर्वाचनमा नेपाली कांग्रेसले केही तहमा पकड गुमाएको छ भने केहीमा प्रभाव फैलाएको छ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत एक, पाँच र सात नम्बर प्रदेशका ३५ जिल्लामा भएको निर्वाचनमा नेपाली कांग्रेसले दुई जिल्लामा एउटा पनि स्थानीय तहमा जीत हासिल गर्न सकेको छैन। तीन स्थानीय तह रहेको रुकुम र सात स्थानीय तह रहेको धनकुटामा कांग्रेसको उपस्थिति रहेन। रुकुममा माओवादी केन्द्र र धनकुटामा नेकपा एमालेले सबै स्थानीय तहमा विजय हासिल गरेका छन्।

कांग्रेसले प्रभाव फैलाएका स्थानीय तहहरू
कांग्रेसले सबैभन्दा बढी बाजुरा र बैतडीका बहुमत अर्थात ६/६ स्थानीय तहमा जीत हासिल गरेको छ। बाजुरामा ९ र बैतडी १० स्थानीय तह छन्। एउटा मात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा कांग्रेसले गत संविधानसभा निर्वाचनमा एक सिट पनि जितेको थिएन भने बैतडीमा एक सिट जितेको थियो।

अर्घाखाँचीका छ स्थानीय तहमध्ये कांग्रेसले चारवटामा विजय हासिल गरेर प्रभाव फैलाएको छ। २०७० मा भएको संधिानसभा निर्वाचनमा एक सिट पनि नजितेको कांग्रेसले अर्घाखाँचीमा एमाले र माओवादी केन्द्रलाई एक/एकवटा स्थानीय तहमा खुम्च्याउन सफल भएको हो।

नौ स्थानीय तह रहेको दार्चुला र १० स्थानीय तह रहेको अछाममा कांग्रेसले ५/५ स्थानीय तहमा विजय हासिल गरेर आफ्नो पुरानो शाख फर्काएको छ। करिव तीन वर्षअघि भएको संविधानसभा निर्वाचनमा कांग्रेसले यी दुवै जिल्लाबाट एक सिटमा पनि विजय हासिल गरेको छैन।

कांग्रेसको संगठन कमजोर मानिएका नौवटा स्थानीय तह भएका ताप्लेजुङ, खोटाङ र भोजपुरमा ४/४ स्थानीय तहमा विजय हासिल गरेको छ। यी तीनवटै जिल्लामा २०७० को संविधानसभा निर्वाचनमा कांग्रेसले एक सिट पनि जितेको थिएन। कांग्रेसको संगठन कमजोर मानिएको पाँच नम्बर प्रदेशको प्युठानमा तीन र रोल्पामा एक स्थानीय तहमा विजय हासिल गरेर कांग्रेसले आफ्नो उपस्थिति देखाएको छ।

रोल्पा माओवादी केन्द्रको गढ मानिन्थ्यो भने प्युठानमा एमाले र राष्ट्रिय जनमोर्चाको पकड क्षेत्रको रूपमा चिनिएको छ। मत परिणाममा अस्वाभाविक परिवर्तन नआएमा कांग्रेसले १६ स्थानीय तह रहेको मोरङ र १२ स्थानीय तह रहेको सुनसरीमा बहुमत स्थानीय तहमा विजय हासिल गरेर आफ्नो प्रभाव फैलाउने निश्चित छ।

कांग्रेसले प्रभाव गुमाएका स्थानीय तहहरू
नेपाली कांग्रेसले रुकुम र धनकुटामा पार्टीको उपस्थिति नै स्थानीय तहमा देखाउन सकेन। तीन तह भएका रुकुम र सात तह रहेको धनकुटामा एक तहमा समेत जित्न नसकेको कांग्रेसले विगतदेखि नै राम्रो पकड जमाएको रूपन्देही, सोलुखुम्बु र उदयपुरमा यस पटक कमजोर उपस्थिति रह्यो।

आठ स्थानीय तह रहेको सोलुखुम्वुमा एक, १६ स्थानीय तह रहेको रूपन्देहीमा दुई र १३ स्थानीय तह रहेको कैलालीमा कांग्रेस दुई मात्र स्थानीय तहमा विजय हुन सक्यो। उदयपुरमा एक र कैलालीमा तीन स्थानीय तहको मत परिणाम आउन बाँकी भए पनि यी जिल्ला कांग्रेसको पकड क्षेत्र भनेर चिनिएका थिए।

२०७० को संविधानसभाको निर्वाचनमा एक मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा कांग्रेसले जितेको थियो। तीन निर्वाचन क्षेत्रबाट सांसद जिताएको उदयपुरमा एउटा मात्र स्थानीय तहमा कांग्रेसले जितेको छ। संविधानसभामा कैलालीका चार निर्वाचन क्षेत्रमा जितेको कांग्रेसले हालसम्म दुईवटा मात्र स्थानीय तह जितेर कमजोर उपस्थिति देखाएको छ।

पाँचवटा निर्वाचन क्षेत्र रहेको दाङका सबै क्षेत्रमा कांग्रेसले विजय हासिल गरेको थियो। तर स्थानीय तहको निर्वाचनमा भने कांग्रेसले दाङका १० तहमध्ये तीनवटामा मात्र विजय हासिल गरेको छ। कांग्रेसले छ स्थानीय तह रहेको तेह्रथुममा भने एक मात्र स्थानमा विजय हासिल गरेको छ। यो जिल्लाबाट कांग्रेसका दुई जना सांसद समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.