|

उदयपुरः उदयपुरको रौतामाई गाउँपालिकामा आफ्ना प्रतिद्वन्द्वीभन्दा ११८ मत बढी ल्याएर जितेका अध्यक्ष हुन्, गजेन्द्रबहादुर खड्का।

उम्मेदवार मनोनय दर्ताको बेला नेकपा एमालेकै रौतामाईका नेता होमबहादुर दाहालले स्वतन्त्र उम्मेदवारी दिएका थिए। तर मनोनय फिर्ता लिने बेला मिलाउन सफल भएका खड्का अहिले निर्वाचित अध्यक्ष भएका छन्।

खड्का एमालेबाट उपाध्यक्षसहित बहुमत वडा लिएर गाउँपालिका अध्यक्ष बनेका छन्। खड्काले गाउँपालिकाको सरकार बन्न नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार वीरेन्द्र मगरलाई पराजित गर्न निकै संघर्ष गर्नुप¥यो। खड्काले जम्मा दुई हजार ७४२ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका वीरेन्द्र मगरले दुई हजार ६२४ मत प्राप्त गरे।

उपाध्यक्षमा एमालेकी कुमारी रानाज्यु ठकुरीले प्रतिद्वन्द्वीलाई ५११ मतको भारी अन्तरले पराजित गरिन्। उनले दुई हजार ७७९ मत प्राप्त गरेकी छन्। उनकी प्रतिद्वन्द्वी माओबादी केन्द्रकी हस्तशोभा राईले दुई हजार २६८ मत प्राप्त गरेकी छन्।

रौतामाईमा एमालेले चारवटा वडा, माओवादी केन्द्रले दुईवटा वडा र कांग्रेसले एउटा वडा जितेका छन्।

मत परिमाण र वडामा निर्वाचित उम्मेदवारको संख्यामा एमालेको पल्ला भारी छ। रौतामाई गाउँपालिकालाई हुर्काउने, बढाउने र समृद्ध बनाउने जिम्मेवारी पनि एमालेलाइ सुम्पिएका छन् यहाँका जनताले।

साविक गाविसहरू नामेटार, भुट्टार, लाफागाउँ, पोखरी, रौता र आँपटार मिलेर रौतामाई गाउँपालिका बनेको हो। यसको जनसंख्या २३ हजार ४८१ छ भने क्षेत्रफल सय २०४ वर्ग किलोमिटर छ।

साविक भुट्टार गाविस कार्यालय रौतामाई गाउँपालिकाको केन्द्र हो। भौगोलिक विकटता रहेकाले सजिलै समृद्धिको नारा लगाउन समस्या छ यहाँ। पुनर्संचरना गर्दा गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विषयले धेरै ठूलो विवादसमेत भएको थियो। रौता, आँपटार, पोखरी गाविसले भुटारबाट सार्नसमेत माग गरेका थिए।

यस्ता छन् नवनिर्वाचित खड्काका योजना

स्थानीय घोषणापत्रसमेत जारी गरेका खड्का आफ्नो घोषणापत्रको आधारमा जितेको बताउँछन्। घोषणापत्रमा नीतिगत योजनाहरू जनतासँग भनेको दाबी छ उनको।

रौतामाईको नामेटार, भुट्टार, लाफागाउँ, पोखरी, रौता र आँपटारमा भएका सम्सया समाधान गर्ने योजनाहरू आफूले ल्याएको बताउँछन् उनी।

‘संविधानले दिएका अधिकारहरू प्रयोग गरेर मेरो घोषणापत्रका बचन पूरा गर्ने मेरो दायित्व हो’, खड्का भन्छन्, ‘यहाँ मुख्य समस्या भनेको सडक र सञ्चार हो। तत्काल त्यसको समाधान गर्नु मेरो कर्तव्य हो।’

उनको प्राथमिकताको पहिलो योजना सडक हो। रौतामाई गाउँपालिकाको केन्द्र जाने बाटो र केन्द्रलाई जोड्ने सडक व्यवस्थित र आधुनिक बनाउने उनको पहिलो योजना छ। पहिलो पटक सडक नपुगेका वडाहरूमा सडकको ट्र्याक खोल्ने र ट्र्याक खोलिएका सडकलाई हिउँद वर्षा नै चल्ने बनाउने उनी बताउँछन्। ‘मुख्य सडकलाई पिच गर्नेछु। बनेका सडकहरूको स्तर उन्नति गर्नेछु’, आत्मविश्वासका साथ भन्छन् खड्का।

रौतामाईका सबै क्षेत्रमा टेलिफोनको अझै पनि सहज पहुँच छैन। सबै वडाका टोलहरूमा रहेका वस्तीमा सञ्चारको सहज पहुँच बनाउन पहल गर्ने उनको दोस्रो योजना छ। सञ्चार तथा निजी क्षेत्रका सञ्चार माध्यमहरूको विकास गर्न प्रयास गर्ने उनी बताउँछन्। ‘सबैभन्दा पहिला सबैतिर मोवाइल फोन लाग्ने बनाउने छु। मोवाइलबाट इन्टरनेट चल्ने बनाउनु मेरो दायित्व पनि छ’, खड्का भन्छन्।

उनको तेस्रो प्राथमिकता स्वास्थ्य हो। रौतामाईका स्वास्थ्य चौकीका भवनहरू पनि आधुनिक बनाउँदै सुविधा सम्पन्न बनाउने योजनामा छन् खड्का। ‘आठवटै वडामा रहेका स्वास्थ्य कार्यालय, कृषि कार्यालय, वडा कार्यालयको वैज्ञानिक व्यवस्थापन गर्नु मेरो चुनौती पनि हो’, खड्काका योजना सुनाए।

परिर्वतनको चेतना जगाउने शिक्षा रौतामाईमा खस्कँदो रहेकाले त्यसलाई आधुनिकीकरण गर्नु आफ्नो अर्को प्राथमिकता भएको खड्का बताउँछन्। ‘प्रत्येक विद्यालयमा भवन तथा भौतिक संरचनाहरूको कमजोर छन्’, खड्का भन्छन्, ‘भएका ठाउँमा स्तर उन्नति गर्ने र नभएका ठाउँमा बनाउनु मेरो काम हो।’

विद्यालयमा पठनपाठन कमजोर रहेको र त्यसलाई पनि उकास्ने जिम्मा आफू र आफ्नो टिममा आएको उनको बुझाइ छ। रौतामाईमा कृषि क्षेत्र मुख्य मेरुदण्ड हो। पहाडी क्षेत्रमा आलु उत्पादनको पकेट क्षेत्र बनाउने उनको योजना छ। अलैँचीलगायतका नगदेबाली खेतीमा कृषकलाई प्रेरित गर्दै गइएमा मात्र आर्थिक समृृद्धिको बाटोमा अघि बढ्न सकिने विश्वासमा छन् खड्का।

खेतीका लागि सिँचाइ महत्तवपूर्ण भएकाले सिँचाइको विकास पनि उनको प्राथमिकतामै छ। रौतामाईलाई हराभरा नमुना गाउँपालिका बनाउने अठोट पनि छ खड्कामा। ‘कृषि क्षेत्रको विकास नै रौतामाईको आर्थिक समृद्धिको बाटो हो’, उनी भन्छन्, ‘अनि त्यसपछि पर्यटकीय स्थल पनि पर्दछ।’

उदयपुरको पर्यटकीय स्थलको रूपमा पर्ने रौतमाई, माझखर्कलगायत क्षेत्र व्यवस्थित र मर्यादित बनाउने उनको सोच छ। चित्रेथान, रौतामाईलगायतमा भ्यु टावर निर्माण गर्ने काम गर्नु मुख्य जिम्मेवारी सम्झेका छन् उनले। जनतालाई घुम्ती शिविरमार्फत् संविधानले दिएको सेवा सुविधा पु¥याउने कर्तव्य पनि उनको आफ्नै हो भन्ने ठानेका रहेछन्।

विवादित गाउँपालिको केन्द्रबारे यस्तो छ खड्काको योजना?

रौतामाई गाउँपालिका बनाउँदा केन्द्र कहाँ राख्ने भन्ने विषयमा आन्दोलनसमेत भएको थियो। चुरेको फेदीदेखि सुनकोसी गढतिरसम्म भूगोल रहेको यस गाउँपालिकामा केन्द्रबारे निर्वाचित जनप्रतिनिधिहरूले छलफल गर्ने बेला आएको उनको बुझाइ छ। ‘यसमा सबै जनप्रतिनिधि, प्राविधिकहरूको सल्लाह, सुझाव लिएर निर्णय लिने योजना छ’, खड्का भन्छन्।

रौतामाईमा एक समूहले केन्द्र भुटार भने पनि अर्को समूहले रौताको चिसापानी राख्न माग गरेका थिए। त्यो विवाद अझै पनि कायमै छ। त्यसलाई वैज्ञानिक रूपमा व्यवस्थापन गर्ने उनी बताउँछन्।

को हुन् खड्का?

२०२४ बैशाख १५ गते बाबु खड्गबहादुर खड्का र आमा डम्बरकुमारी खड्काको कोखबाट ज्येष्ठ सुपुत्रको रूपमा जन्मिएका हुन् उनी। त्रिभुवन विश्वविद्यालयबाट कानुन विषयमा स्नातक गरेका खड्का सानै उमेरदेखि कम्युनिष्ट आन्दोलनमा चासो राख्थे रे! २०४७ सालमा रौता गाविसको गाउँपाटीका सदस्य बनेका उनी २०५४ सालको स्थानीय निर्वाचनमा रौता गाविसमा एमालेबाट उपाध्यक्षमा निर्वाचित भएका थिए।

त्यसपछि निरन्तर एमाले राजनीतिमा सक्रिय भूमिका निभाउँदै आएका खड्का उदयपुरको पुरानो ७ नम्बर इलाकामा कहिले सचिव भए त कहिले जिल्ला कमिटीको सदस्य। ‘पार्टीले जुन जिम्मेवारी दिन्छ’, खड्काले भने, ‘त्यो अहिलेसम्म पूरा गर्दै आएको छु।’

उदयपुरको निर्वाचन क्षेत्र नम्बर– २ को एमालेका अध्यक्षसमेत भएर काम गरे उनले। २०६२÷०६३ सालको जनआन्दोलनको क्रममा रौतालगायतबाट गाईघाटमा जनता ल्याएर आन्दोलनलाई सशक्त बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँछन् उनी।

गाउँ विकास महासंघदेखि विघटित जिल्ला विकास समितिको आन्तरिक लेखा समितिको सदस्यसमेतको जिम्मेवारी पूरा गरेको बताउँछन् उनी। ‘जनताको भावनाअनुसार सामाजिक, राजनीतिकलगायतका क्षेत्रमा सक्रिय भूमिका निभाउँदै आएको छु’, खड्का भन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • सरब परथम त परमुख गजेन्द्र खड्का जिउ लाई मेरो तरफ बाट नमस्कार म केभनन चाहानछु भने म पनि तेहि जागिरभिता काे बेकति हु पाटि काे कुरा गरनु परदा म पनि एमाले केईहु केन्द्र कुरा गरनु परदा यहाँ काे मन मा काहा राखदा जनता लाई सेनटर हुनेछ तेहि रखनु परछ हसत नमस्ते