|

सविता जिसी-

    असार : जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुर्लभ वन्यजन्तु रेड पाण्डा र चितुवाको छालासहित ३ जनालाई पक्राउ गरेको छ। ठूलो परिणाममा दुर्लभ वन्यजन्तुको छाला तथा विभिन्न अंगको कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा सुर्खेत प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलबार दिउँसो ४ बजेतिर उनीहरुलाई पक्राउ गरेको थियो। विशेष सूचना पाएको गत ८ दिनदेखि सुर्खेत प्रहरीले निगरानी राखिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेत मंगलबार साझ ५ बजे पत्रकार सम्मेलन गरेर जनाएको छ। बेचबिखन गर्ने उदेश्यले उक्त कारोबारमा संलग्न व्यक्तिहरुलाई खोजी र निगरानी राखीरहेको आठौं दिनमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक रेशम बोहोराको नेतृत्वमा खटिएको प्रहरी टोलीले कोठामा लुकाइराखेको अवस्थामा पक्राउ गरेको हो।

    चितुवाको छाला, हड्डी, विश्वकै दुर्लभ वन्यजन्तु रेडपान्डासहित प्रहरीले सुर्खेत वीरेन्द्रनगर ३ मा डेरा गरी बस्दै आएका कालिकोट खाडाचक्र नगरपालिका वडा नम्बर ३ का २४ वर्षीय रमित मल्लको डेरा कोठाबाट रमित मल्ल, कालिकोट माबु गाउँपालिका वडा नम्बर ३ का  ३८ वर्षीय दीपक सिंह र दैलेख नारायण नगरपालिका वडा नम्बर ११ का ३५ वर्षीय बल बहादुर सिंहलाई पक्राउ गरेको हो।

    वीरेन्द्रनगर ३ का गीता विकको घरमा बस्दै आएका उनीहरुले बेचबिखन गर्ने उदेश्यले चितुवाको छालासहितको वस्तुहरु लुकाई राखेको सुर्खेत प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुको साथबाट २ वटा रेडपान्डाका छाला, २ वटा चितुवाको चितुवाको छाला सहित मेरुदण्डको हड्डी २७ थान, करङ्ग २० थान दात सहितको बंगारा ६ थान, फिरपाताको हड्डी २ वटा, १४ वटा दात नजिकैका हड्डी फेला पारेको हो।

    रेडपान्डा दुर्जभ वन्यजन्तु भएकाले रेडपान्डाको बिक्रिवितरण अन्तर्राष्ट्रिय बजारमा हुने सुर्खेतका जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहन आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।प्रहरी प्रमुख आचार्यका अनुसार एउटा रेडपान्डाको मूल्य अन्तर्राष्ट्रिय बजारमा अनुमानित ५ देखि साढे ५ लाख रुपैयाँसम्म पर्छ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतले यति ठूलो परिमाणमा यो वस्तु पहिलो पटक फेला पारेको हो। प्रहरीले नियन्त्रणमा लिएको चितुवाको छाला र रेडपान्डालाई आवश्यक छानबिन र अनुसन्धानका लागि जिल्ला वन कार्यालय सुर्खेतलाई बुझाउने तयारी गरेको छ।

    यता, जिल्ला वन कार्यालय सुर्खेतका सहायक वन अधिकृत सूर्यप्रसाद शर्माले प्रहरीले पक्राउ उक्त गरेको दुर्लभ वन्यजन्तुको छाला तथा विभिन्न अंग जिल्ला वन कार्यालयमा आइपुगेपश्चात अनुसन्धान गरी आवश्यकताअनुसार कारबाहीको प्रक्रिया सुरु गरिने बताएका छन्।

    शर्माले प्रहरीले फेला पारेको चितुवाको छाला सामान्य भएमा २० हजारसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुनेछ। यदि, संरक्षित चितुवाको छाला भएमा १ लाखदेखि ५ लाखसम्म जरिवाना र ५ वर्षदेखि १० वर्ष सम्मको कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ।

    सम्वन्धित समाचार

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.