|

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले आज (आइतवार) देखि सफ्टवेयर डेभलपमेन्ट तालिम सुरु गरेको छ।

चालू आवबाट कार्यान्वयनमा आएको ‘रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत ३४ विधामा १५ हजार युवालाई सीपमूलक तालिम दिने र तीमध्ये ५ हजार व्यक्तिलाई रोजगार तथा स्वरोजगार बनाउने लक्ष्यसहित तालिम कार्यक्रम थालिएको हो।

राष्ट्रिय सभागृहमा तालिम शुभारम्भ गर्दै सामाजिक समितिका संयोजक रामकुमार के.सी.ले भने, ‘काठमाडौँका कोही पनि युवा बेरोजगार बस्नु नपरोस् भन्ने हाम्रो उद्देश्य हो। हामीले प्रदान गरेको निःशुल्क तालिम रोजगारमूलक तथा स्वरोजगारमूलक हो। हामी युवालाई आफैँ उद्यम गर्न सक्षम बनाउँछौँ, रोजगार क्षेत्रमा जान चाहनेलाई योग्य बनाउँछौँ।’ 

तालिमबाट व्यक्तिमा भएको सीप रोजगारका लागि योग्यता मापन गर्न सक्ने क्षमता हुने उनले बताए। कार्यक्रममा समितिका सदस्य महेश नेपालीले भने, ‘क्षमता भएका तर योग्यताका लागि पेश गर्नुपर्ने प्रमाणपत्र नभएका युवालाई तालिमबाट प्रतिस्पर्धी र योग्य जनशक्ति बनाउँछौँ। यसरी सिकेको सीप स्वरोजगारबाट आयमा रूपान्तरण गर्न सकिनेछ।’

त्यस क्रममा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले महानगर गौरव र स्वर्णिम योजनाबाट अपेक्षा गरिएको उपलब्धिका विषयमा चर्चा गर्दै तालिमबाट बजारका लागि प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने लक्ष्य पूरा गराउन कार्यक्रम थालनी भएको उल्लेख गरे।

पहिलो ब्याचको तालिमको नतिजा अन्य तालिममा पनि प्रतिविम्बित हुने भएकाले यसलाई सफल बनाउन प्रशिक्षक र प्रशिक्षार्थी दुवैको समान भूमिका हुने उनको भनाइ थियो। 

प्रशिक्षार्थीको सक्रियताले नतिजा मापन हुने उल्लेख गर्दै कार्यक्रममा सामाजिक विकास विभागका प्रमुख विमला कोइरालाले भनिन्, ‘महानगरपालिकाले तालिम दियो, कस्तो हुँदो रहेछ हेरौँ भनेर तालिम लिने होइन, लिएको तालिमबाट म केही गर्छु भन्ने सोच राख्नुपर्छ। यसकारण तपाईंहरूको इच्छाशक्तिलाई सक्रिय बनाउनुपर्छ।’

दुईमहिने तालिमका लागि २४४ जनाले आवेदन दिएका थिए। उनीहरूमध्ये सूचकका आधारमा छानिएका ४० जनालाई २ सिफ्टमा विभाजन गरेर तालिम आयोजना गरिएको फोकल पर्सन शान्ता पहाडीले जानकारी दिइन्।   

उनका अनुसार सफ्टवेयर विकास तालिम पाठ्यक्रमको उद्देश्य सहभागीलाई सफ्टवेयर विकाससम्बन्धी एकीकृत ज्ञान र सीप प्रदान गर्नु हो। १२५ घण्टे यो तालिममा ७५ घण्टा ‘अन द जब’ तालिममा आधारित हुन्छ। सिकाइको २० प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत प्रयोगात्मक कक्षा हुनेछ। 

कम्प्युटर विज्ञान, सूचना प्रविधि, इञ्जिनियरिङजस्ता विषयमा भर्खर स्नातक तह उत्तीर्ण गरेका, अन्य गैरप्राविधिक क्षेत्रबाट प्राविधिक क्षेत्रमा आउन तीव्र इच्छा भएका‚ कोडिङ तथा प्रविधिको विकासमा लाग्न जोश भएका व्यक्तिलाई तालिममा सहभागी गराइएको छ।

मोडलिङ, ब्रेन स्टोर्मिङ, दृश्य संकेतको प्रयोग, व्यक्तिगत कार्यशाला तथा सामूहिक कार्यशाला, प्रदर्शन तालिमका विधि हुन्।

प्रोग्रामिङको आधारभूत ज्ञान, कम्प्युटर साक्षरता, तालिम लिएर केही गर्न सक्छु भन्ने प्रतिबद्धता, अंग्रेजी भाषाको ज्ञान भएका, इन्टरनेट र व्यक्तिगत कम्प्युटर वा ल्यापटपमा पहुँच भएका आवेदकलाई तालिममा छनोट गरिएको हो। 

यसरी तालिम पाएका ९० प्रतिशत सहभागी रोजगारी क्षेत्रमा गएको वा स्वरोजगार भएको, रोजगारमा गएकाहरूको कार्यसम्पादनबाट रोजगारदाता सन्तुष्ट भएको, अहिलेभन्दा ५० प्रतिशत बढी आम्दानी गर्न थालेकोलाई तालिम सफलताको सूचकका रूपमा राखिएको छ। 

सीपमूलक तालिमका ३४ विधामध्ये १० विधामा सरकारी तालिम प्रदायक कार्यालयसँगको सहकार्य हुनेछ। यसमा इलेक्ट्रिसियन, प्लम्बिङ, कम्प्युटर हार्डवेयर, मोटरसाइकल मर्मत तालिम, हलुका सवारीसाधन मर्मत तालिम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)सँगको सहकार्यमा हुनेछ।

यसैगरी फास्टफुड, चाइनिज, इन्डियन कुकिङ, बारिस्ता, बारटेन्डर‚ वेटर वेट्रेस र पर्यटक पथ प्रदर्शक (टुरिष्ट गाइड) तालिम नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानसँगको सहकार्यमा हुनेछ। 

तालिमबाट उत्पादन भएका जनशक्तिलाई अवसर प्रदान गर्ने विषयमा यस अघि उद्योग तथा वाणिज्य क्षेत्र, विकास साझेदारसहित क्षेत्रगत छलफल भइसकेको छ।यसरी तालिम दिएका युवालाई अर्को स्वर्णिम योजना ‘श्रम बैंक’मा आबद्ध गराएर रोजगारदातालाई आवश्यक परेका जनशक्ति प्राप्त गर्न सक्ने व्यवस्था मिलाइनेछ।

बेरोजगार, युवा (महिला/पुरूष), रोजगारी गुमाएर बसेकाहरू, विदेशबाट सीप सिकेर तथा काम गरेर फर्केका (अहिले काम खोज्दै गरेका), सीप नजानेका, सीप जानेका तर स्तरोन्नति गर्नुपर्ने अवस्थामा रहेका व्यक्ति तालिमका लक्षित वर्ग हुन्। 

तालिमका लागि सार्वजनिक सूचनामार्फत आह्वान गरिएको थियो। तालिम लिन इच्छुकले कुनै न कुनै विधामा अवसर प्राप्त गर्न सकून् भनेर फाराम भर्दा आफूलाई रुचि लागेको क्षेत्रमध्ये पहिलो रुचि भएको विधालाई १ त्यसपछि दोस्रो रुचिको क्षेत्रलाई २ गर्दै क्रमशः ३, ४ र ५ नम्बर दिन लगाइएको थियो।

यसमा आफूले रोजेका ५ विधामध्ये कुनै न कुनै विधामा तालिम प्राप्त गर्न सकिने महानगरपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.