|

काठमाडौं :त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मेधावी विद्यार्थीलाई पुरस्कार तथा पदक वितरणमा अन्याय गरेको पाइएको छ। 

सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, विश्वविद्यालयले सोमबार आयोजना गर्न लागेको ४९ औँ दीक्षान्त समारोहमार्फत उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीलाई वितरण गर्न लागेको विभिन्न पदक तथा पुरस्कारमा गलत निर्णय गरिएको फेला परेको हो।

विभिन्न विषयमा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीमध्ये त्रिविले वातावरण केन्द्रीय विभाग अन्तर्गतका क्याम्पसबाट स्नातकोत्तर (एमएस्सी) तहमा उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीलाई  ‘मदन विद्या वातावरण विज्ञान पुरस्कार र पदक’ वितरण गर्दैछ। तर उक्त विषयमा दुई छात्राले समान अङ्क ल्याए पनि त्रिविले आफूखुशी एक जनाको नाम सार्वजनिक गरेर अर्कालाई अन्याय गरेको छ। यो विषयमा उन्नति अर्याल र सुस्मा तिम्सिनाले समान ३.८४ सीजीपीए प्राप्त गरेका छन्।

परीक्षा नियन्त्रण कार्यालयले कुनै आधारबिना नै तिम्सिनालाई मात्रै उक्त पुरस्कार र पदकका लागि योग्य भनेर सूचना सार्वजनिक गरेको छ। समान प्राप्ताङ्क भए पनि तिम्सिनालाई मात्रै किन पुरस्कार दिइयो भन्ने विषयमा त्रिविका जिम्मेवार अधिकारी चित्तबुझ्दो जवाफ दिन सक्दैनन्। ‘डिन कार्यालयदेखि परीक्षा नियन्त्रण कार्यालयमा गुनासो गर्दा पनि चित्त बुझ्दो जवाफ पाइएन’, अर्यालले भनिन्, ‘समान अङ्क ल्याउने विद्यार्थीमध्ये एउटालाई काखा र अर्कोलाई पाखा लगाउने त्रिविको नियतले चित्त दुखेको छ।’ 

यसबारेमा जानकारी दिन आफू आइतबार विभागमा जाँदा त्यहाँका पदाधिकारीले पुरस्कारका लागि नाम सार्वजनिक गरिएका तिम्सिनाको शैक्षिक प्रमाणपत्र ल्याउन भनेको उनले बताइन्। ‘हामीले अर्काको प्रमाणपत्र कहाँबाट खोजेर लैजाने हो?’, उनले भनिन्, ‘प्रमाण जुटाउने काम त विश्वविद्यालयको हो।’

वातावरण केन्द्रीय विभाग विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत पर्छ। संस्थानका सहायक डिन महेन्द्र महर्जनले वातावरण विज्ञान विषयमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीको नाम खोज्ने क्रममा तिम्सिनाको नाम शुरुमा आएको र सोही आधारमा परीक्षा नियन्त्रण कार्यालय (पनिका) लाई सिफारिस गरेको जवाफ दिए।

उत्कृष्ट विद्यार्थीको नाम पनिकाले सार्वजनिक गर्ने भएकाले थप जानकारी पनिकाबाटै लिन उनले भने। परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने डिन कार्यालयबाट आएको उत्कृष्ट विद्यार्थीको तथ्याङ्कका आधारमा सूचना जारी गर्ने र सोही आधारमा पदक तथा पुरस्कार वितरण गर्ने स्पष्ट पारे।

एक तहका विद्यार्थीको समान अङ्क आएको विषयमा आफूले जानकारी नपाएको उनको भनाइ छ। ‘यस्तो अवस्थामा पदक वितरण नै रोकिन सक्छ’, उनले भने, ‘यस विषयमा म अध्ययन गर्छु।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.