|

सर्लाही : उखु किसानका लागि विभिन्न ६ बुँदे माग राख्दै हरिवन नगरपालिका–११ निवासी शेष इस्तिहारले आमरण अनशन शुरु गरेका छन्।

गत स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट हरिवन–११ मा वडाध्यक्षका प्रत्यासीसमेत रहेका इस्तिहारले आज (सोमवार) विहान साढे ११ बजे इन्दुशंकर चिनी उद्योगको मूलगेटमा अनशन शुरु गरेका हुन्। 

इस्तिहार उखुको मूल्य प्रतिक्विन्टल ७ सय ५० रुपैया हुनुपर्ने, सरकारले गत सिजनकै दिन बाँकी अनुदान रकम तुरुन्त भुक्तानी गर्नुपर्ने, उखुको अनुदान रकम नियमानुसार सोही आर्थिक वर्षमा भुक्तानी गर्नुपर्ने, उन्नत जातको उखुको बिउको प्रवन्ध गर्नुपर्ने, कृषियोग्य जमीनमा सिँचाइको व्यवस्था गर्नुपर्ने, किसानलाई चाहिने मलखादको प्रवन्ध गर्नुपर्ने लगायत ६ बुँदे माग राखेर अनशन बसेका हुन्।

उनलाई प्रदेशसभा सदस्य जवाहर कुशवाहा, मिलगेट उखु उत्पादक समिति हरिवनका अध्यक्ष राजकुमार उप्रेती, नेकपा माओवादी केन्द्र हरिवनका अध्यक्ष अर्जुन पन्त, किसान नेता दिपेन्द्र मैनालीलगायतले माला लगाएर सम्मान गर्दै अनशन शुरु गराएका हुन्।

केही वर्षअघि हरिवन नगरपालिका–११ का वडाध्यक्ष शेष मेहबुब रेजासमेत उखु किसानको समस्या समाधानको माग राख्दै आमरण अनशन बसेका थिए।

उखुको मूल्य विषयमा सर्लाहीका उखु किसानले हिजो (आइतवार) दिउँसो हरिवनमा संघीय सरकारका अर्थ र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको ब्यानरको प्रतिमा बनाएर दहन (आगो लगाएका) गरेका थिए।

कृषि तथा पशुपक्षी विकास नभई विनाश मन्त्रालय तथा अर्थ नभई अनर्थ मन्त्रालयको रुपमा व्यंग्यात्मक ब्यानर प्रदर्शन गर्दै उक्त व्यानर जलाएका हुन्। 

महेन्द्र राजमार्गको कडरिया चोकमा जम्मा भएका किसानले सरकार र चिनी उद्योगीविरुद्ध नाराबाजीसमेत गरेका छन्। उखुको मूल्य तत्काल तोक्न र गत वर्षको बाँकी बक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलन थालेका किसानले शनिवार हरिवनमा उखुको लाँक्रा बोकेर नाराबाजीसहित जुलुस निकालेका थिए। 

हरिवन बजारबाट शुरु भएको जुलुस इन्दुशंकर चिनी उद्योग सामुन्ने पुगेर पुनः हरिवन बजारमै आई विरोधसभामा परिणत भएको थियो।

आन्दोलनको तयारीस्वरुप शुक्रवार नै हरिवनमा किसानहरुको बृहत भेलासमेत सम्पन्न भएको थियो। किसान नेताहरुले यो वर्ष उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपैयाँ कायम गर्न माग गरेका छन्। 

गत वर्ष सरकारले दिनुपर्ने ७० रुपियाँमध्ये अहिलेसम्म २१ रुपियाँ मात्रै प्राप्त भएको र बाँकी ४९ रुपियाँ यथाशीघ्र भुक्तानी गर्न माग गर्दै आन्दोलन थालेका हुन्।

नेपाल उखु उत्पादक महासंघ, मिलगेट उखु उत्पादक समिति र किसान हकहित संरक्षण समितिको संयुक्त आयोजनामा विरोध प्रदर्शन भइरहेको छ।

धमाधम उखु काटेर बेच्नुपर्ने बेला सरकारले उखुको मूल्य नतोक्दा किसान निराश बनेका छन्। मूल्य नतोकी मिल नचलाउन किसानले आग्रह गरेपछि देशकै सबैभन्दा ठूला दुई चिनी उद्योग इन्दुशंकर चिनी उद्योग हरिवन र एभरेष्ट चिनी मिल रामनगर महोत्तरीले उखु क्रसिङ सुरु गर्न पाएका छैनन्।

चिनीको बढ्दो मूल्य र उखु उत्पादन लागतलाई आधार मानेर यो वर्ष उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपियाँ पाउनुपर्ने नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीको भनाई छ।

मंसिर २५ गते कृषि मन्त्रालयमा भएको वार्तामा सरकारले उखुको मूल्य ५६५ प्रस्ताव गरेपनि अस्वीकार गरिएको मिलगेट उखु उत्पादक समितिका अध्यक्ष राजकुमार उप्रेतीले जानकारी दिए। गत वर्ष सरकारी अनुदानसहित उखुको मूल्य ६१० रुपैयाँ कायम भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.