|

बझाङ : बझाङको मष्टा गाउँपालिका–६ ले गाउँपालिकाभित्रका विकासका योजना निर्माणका लागि महिनाको २ दिन जनश्रमदान गर्नु पर्ने नियम बनाएको छ। ​सोहीअनुरुप मंगलवारदेखि बझाङको मष्टा गाउँपालिकाका जनप्रतिनिधिहरु स्थानीयसँगै जनश्रमदानमा जुटेका छन्।

गाउँपालिकाले मंगलवारदेखि वडा नं. ६ स्थित निर्माणाधीन खेलमैदान बनाउन स्थानीयसँगै गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहरा, मष्टा गाउँपालिका–६ का अध्यक्ष शिवराज बोहरासहित स्थानीयहरु जनश्रमदानमा जुटेका हुन्।

पछिल्लो समय गाउँपालिकाबाट निर्माण हुने योजनाहरुमा १० प्रतिशत अनिवार्य जनसहभागितामा निर्माण हुनुपर्नेमा अधिकांश योजनामा जनसहभागिता शून्य हुने अवस्था देखिएपछि जनश्रमदान प्रोत्साहन गराउन आफूहरु नै श्रमदानमा जुटेर खेलमैदान निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष बोहराले बताए।

‘खेलमैदान निर्माणका लागि करिब २० लाख रुपैयाँ लाग्ने देखिन्छ, हामी कम्तीमा पनि ३० प्रतिशत जनश्रमदान गर्नेछौं‚’ उनले भने‚ ‘दक्ष प्राविधिकको शुल्क, सामाग्री खरिद र ढुवानीका लागि चाहिने खर्चबाहेक बाँकी श्रमदान हामी जुटाउँछौँ।’

उक्त खेलमैदान निर्माणका लागि प्रदेशबाट ८ लाख र गाउँपालिकाको स्वरोजगार कार्यक्रममार्फत ५ लाख रुपैयाँ छुट्याइएको छ। विकासका लागि अरुको मुख ताक्नेभन्दा पनि जनप्रतिनिधिसहित काम शुरु गर्दा विकासले फड्को मार्ने अध्यक्ष बोहराको भनाइ छ। 

जनप्रतिनिधि र जनताको सम्बन्ध नङ र मासुको जस्तै बनाउन गाउँपालिकाले सँगसँगै काम गर्ने नीति बनाएको र सोहीअनुरुप दीगो विकासका लागि योगदानमा आधारित श्रमदान कार्यक्रम आज शुरु गरिएको मष्टा गाउँपालिका–६ का अध्यक्ष शिवराजले बताए।

श्रमदान नीतिले श्रम गर्नेलाई सम्मान गर्न सिकाउने भएकोले यसले योजनामा हुने भ्रष्टाचार पनि नियन्त्रणमा आउने गाउँपालिकाको दाबी छ। जनप्रतिनिधिले अनिवार्य श्रमदान गर्ने व्यवस्था कार्यान्वयनमा आएकाले अब विकास निर्माणमा स्थानीयको अपनत्व रहने समेत उनको भनाई छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.