|

विराटनगरः चुनाव प्रचारको समय सकिनुभन्दा एक दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओली विराटनगरको चुनावी प्रचारमा आएका थिए। विराटनगरको मुख्य बजार गुद्री छेउको बी प्लटको खाली जग्गामा भएको उक्त चुनावीसभामा मानिस खचाखच थिए। भोलिपल्ट त्यही स्थानमा भएको कार्यक्रममा कांग्रेसले सभा गरेको थियो। मास हेरेर गरिने विश्लेषणका आधारमा भन्ने हो भने कांग्रेसको सभा लज्जास्पद थियो।

निकै ठूलो मासका बीच केपी ओलीले भनेका थिए, ‘विराटनगर कांग्रेसका हस्ती जन्मिएको ठाउँ मात्रै होइन, एमालेका हस्ती पनि जन्मिएको ठाउँ हो।’ उनको यो भाषणपछि गडगडाहट ताली बज्यो।

एमाले अध्यक्ष ओलीले भनेजस्तै विराटनगर कांग्रेसका आदर्श पुरुष वीपी कोइराला, गिरिजाप्रसाद कोइरालाको जन्म थलो र राजनीतिक थलो मात्रै थिएन, एमालेका नेता मनमोहन अधिकारी, भरतमोहन अधिकारीदेखि पछिल्लो पुस्ताका लालबाबु पण्डित र गुरु बरालको जन्म/कर्मथलो पनि हो।

तर, एमालेको देशैभर लहर चलेको र पहिलो स्थान हासिल हुने देखिरहेको अवस्थामा नेताहरूले भनेजस्तो यहाँ कांग्रेससँगको प्रतिस्पर्धा त्यति सहज देखिएको छैन एमालेका लागि। प्रारम्भिक परिणामअनुसार अहिले एमालेका मेयरका उम्मेदवार विनोद ढकाललाई कांग्रेसका उम्मेदवार भीम पराजुलीले झण्डै तीन हजार मत अन्तरले पछि पारिरहेका छन्।

उम्मेदवारको ‘वेट’कै कुरा गर्दा पराजुलीभन्दा ढकाल ‘हेभी वेट’ उम्मेदवार हुन्, तर मतमा पराजुलीले ठूलै अन्तर बनाएका छन्।

के विराटनगरवासीले कम्युनिष्ट मनपराउँदैनन् या कांग्रेसको जनमत बढी भएर हो? यो विषयमा विश्लेषण गर्दा अलिक हतारो होला। तर, देखिने गरी भन्न सकिन्छ, यहाँ एमाले मत नभएको होइन। स्थानीय निकायको २०५४ सालमा भएको निर्वाचनमा एमालेले नै जितेको थियो यहाँ। तर, जितेपछि एमालेले मेयरलाई काम गर्न दिएको थिएन भन्नेहरूको संख्या पनि विराटनगरमा कम छैन।

तर, तत्कालीन एमालेबाटै उपमेयरमा जितेका भूराज राई यो कुरा अस्वीकार गर्छन्। विराटनगरमा अहिले एमाले पछि पर्नुको कारण त्यतिखेरको काम गराइ नभएर अहिलेको एमालेको मधेसप्रति हेर्ने दृष्टिकोण भएको बताउँछन् उनी। ‘एमाले विराटनगरमा कमजोर हुनु ०५४ सालको परिस्थिति फरक बन्नु, एमालेप्रति मधेसका जनताको वितृष्णा फैलनु, एमालेभित्रको गुटगत राजनीति र संगठनको कमजोर क्षमता नै मुख्य कारण हो’, राईले भने, ‘विराटनगरमा ०५४ सालमा जितेर विकासको जग बसाल्ने काम त्यतिखेरकै टिमले गरेको हो।’

यस्तै, विराटनगरका बुद्धिजीवी चूडामणि आचार्य एमाले विराटनगरमा पछि पर्नुका सात कारण रहेको दाबी गर्छन्। २ नम्बर प्रदेशको प्रभाव यहाँ रहनु, पार्टीभित्र एकता नहुनु, उम्मेदवार चयन प्रक्रियामा केही असहमति देखिनु, चुनावमा सबै पक्ष परिचालन नहुनु, कमजोर जनाधार र कांग्रेसको सशक्त उपस्थिति, मधेसीले एमालेलाई हेर्ने फरक दृष्टिकोण र विराटनगरको बौद्धिक, व्यापारिक, औद्योगिक सर्कलमा एमालेले काम गर्छ भन्ने सकारात्मक धारणा बन्न नसक्नु मुख्य कारण रहेको उनको तर्क छ। यसका साथै विराटनगरलाई नेतृत्व तहबाट सशक्त उपस्थिति नदेखाउने र जित्ने गरी कमाण्ड सम्हालेर नबस्नाले पनि यहाँको अवस्था यस्तो भएको आचार्यको भनाइ छ।

प्राध्यापक तथा समाजशास्त्री बाबुराम तिम्सिनाले भने एमाले पछि पर्नुको मुख्य कारण कांग्रेसका अमृत अर्याल, एमालेका विनोद ढकाल र माओवादीका शिवकुमार मण्डलको विराटनगरको सिन्डिकेटले जनता वाक्क भएको बताउँछन्। एमाले पछि पर्नुका तीन कारण रहेको बताउँदै उनले अर्याल, ढकाल र मण्डलको अवैध साँठगाँठ, एमालेका पूर्व अध्यक्ष महेश रेग्मीलाई विश्वासमा लिन नसक्नु र मधेसविरोधी एमालेको चरित्र जिम्मेवार रहेको बताए।

मत परिणाम नआइसक्दा गरिएको विश्लेषण गलत हुनसक्ने भए पनि कांग्रेसले नै जित्ने कतिपय विश्लेषकको दाबी छ। अहिलेसम्म विराटनगरका आठवटा वडाको परिणाम आउँदा एमाले एउटा वडामा मात्रै विजयी भएको छ। पछिल्लो परिणामअनुसार कांगे्रसले सबैभन्दा बढी १, ३, ४ र १६ नम्बरमा विजय हासिल गरेको छ भने संघीय समाजवादी फोरम १७ र १८ नम्बर वडामा, स्वतन्त्र १९ नम्बर वडामा र एमाले २ नम्बर वडामा विजयी भएका छन्।

अहिले गणना भइरहेका वडा ५ मा एमालेले झिनो मतले लिड गरेको बताइए पनि आधिकारिक परिणाम बाहिर आएको छैन। १५ नम्बर वडामा भने फोरम नेपालले लिड गरेको छ। एमालेका उम्मेदवार विनोद ढकालको वडा ५ नम्बर हो, तर त्यही वडामा पनि आशा गरेअनुसार मत नखसेको बताइएको छ। अन्य वडाहरूमा एमालेले लिड गर्नसक्ने कुनै वडा देखिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.