|

काठमाडौं : औषधी मूल्याङ्कन समितिबाट प्राप्त राय भन्दै औषधी व्यवस्था विभागले १० वटा स्ट्रेन्थमा (प्रकार) उत्पादन भएका औषधी उत्पादनमा रोक लगाएको छ।

विभागले  औषधी उत्पादन/बिक्री वितरण सम्बन्धी अत्यन्त जरुरी सूचना’ भनेर केही दिनअघि सार्वजनिक सूचना निकाल्दै चार प्रकारका ‘मोलिक्यूल’ र तिनको सम्मिश्रणबाट उत्पादन भएका नेपाली बजारमा निकै चलेका  १० वटा स्ट्रेन्थ (प्रकार)का औषधी उत्पादन नगर्न उद्योगलाई रोक लगाएको हो।

उत्पादनमा रोक लगाए पनि उत्पादन भएर बजारमा बिक्री भइरहेका यी औषधी बिरामीले खान हुने वा नहुने तथा चिकित्सकले सिफारिस गर्न हुने वा नहुनेबारे विभाग केही बोलेको छैन।

औषधी व्यवस्था विभागका एक कर्मचारीका अनुसार चार प्रकारका मोलिक्यूल र तिनको सम्मिश्रणबाट उत्पादन भएका  १० वटा स्ट्रेन्थका यी औषधी नेपाली बजारमा निकै बिक्री वितरण हुने र धेरै नेपालीले खाने औषधी हुन्।

ती कर्मचारीका अनुसार १० वटा स्ट्रेन्थका यी औषधी दुखाइ कम गर्ने र मधुमेहका बिरामीले अहिले पनि किनेर खाइरहेका छन्। ती कर्मचारीले भने ‘अहिले उत्पादनमा रोक लगाइएका यी १० वटा स्ट्रेन्थका औषधी नेपाली बजारमा एकदमै चलेका छन्। उत्पादनमा रोक लगाइए पनि अहिले पनि बजारमा बिक्री भइरहेका छन्। चिकित्सकले  पनि सिफारिस गरिरहेका छन्।’

विभागले नयाँ र थप उत्पादन नगर्न सूचना जारी गरेका स्ट्रेन्थमा लिनाग्लिफ्टिन २.५ एमएल र १० एमएल ट्याब्लेट, एसिक्लोफिनेक २०० एमजीको इमिडेट रिलिज ट्याब्लेट, ३०० एमजीको एमिडेट/डिस्प्यारिबल, कन्ट्रोल/एक्सटेण्डेड/सस्टेण्डेड ट्याब्लेट, लिनाब्लिफ्टिन २.५ एमजी र मेटाफर्मिन ५०० एमजीको कम्बाइन ( एक्सटेण्डेड/सस्टेण्डेड रिलिज) ट्याब्लेट हुन्। यस्तै लिनाग्लिफ्टिन २.५ एमजी र मेटाफर्मिन ८५० एमजीको (एक्सटेण्डेड/सस्टेण्डेड रिलिज) ट्याब्लेट, लिनाग्लिफ्टिन ५ एमजी र मेटाफर्मिन ५०० एमजीको इमिडेट रिलिज ट्याब्लेट र लिनाग्लिफ्टिन ५ एमजी र मेटाफर्मिन ५८० एमजीको इमिडेट रिलिज ट्याब्लेट हुन्।

विभागले यी औषधी उत्पादनमा रोक लगाए पनि यही  मोलिक्यूलका अन्य स्ट्रेन्थ भने बन्द नभएको  जनाएको छ।

विभागका अनुसार आर्थिक वर्ष २०७३/०७४ देखि ०७५/७६ मा नेपालमा  यी १० प्रकारका स्टेन्थका औषधी उत्पादनका लागि विभागबाटै दर्ता अनुमति पाएर उत्पादन भइरहेका हुन्। तर अहिले  किन यी औषधी उत्पादन बन्द गर्नु पर्ने अवस्था आयो त? विभागका महानिर्देशक नारायण ढकाल भन्छन्, ‘ १० वटा स्ट्रेन्थका औषधीको उत्पादनको मोलिक्यूल मानव स्वास्थ्यका लागि उपयुक्त नभएको भेटियो। त्यसैले अहिलेलाई बन्द गरिएको छ,भविष्यमा यसको उत्पादन मोलिक्यूलको बारेमा अध्ययन गरेर फेरि उत्पादनका लागि अनुमति दिन सकिन्छ।’

अझै अचम्मको कुरा के छ भने यी १० प्रकारको औषधी हाल नेपालमा मात्रै उत्पादन हुन्छ र नेपालीले मात्रै खाने गरेका छन्। ‘ नेपालमा नै उत्पादन भएका यी औषधी नेपालमा मात्रै दर्ता भएको पाइयो। त्यसैले तत्काल बन्द गरिएको हो’, उनले भने, ‘अब यी १० प्रकारको औषधीको बारेमा थप के निर्णय गर्ने भन्ने विषय अब बस्ने औषधी सल्लाहकार समितिको बैठकले थप निर्णय गर्ने छ। हामीले अबको बैठकमा यसलाई मुख्य एजेण्डा बनाउने छौँ।’

तर हाल उत्पादनमा रोक लगाइएका तर बजारमा बिक्री वितरण भइरहेका यी औषधी अबदेखि बिरामीले किनेर खाने कि नखाने?  विभागका महानिर्देशक ढकालले भने, ‘उत्पादनमा नै रोक लगाएपछि सम्भवत: चिकित्सकले पनि यो औषधी सिफारिस गर्नु हुँदैन होला। तर हाललाई यी औषधी नखाएकै राम्रो हुन्छ। यसबारे थप अध्ययन गरेर सल्लाहकार समितिबाट थप निर्णय पनि हुन्छ।’  

विभागका एक क्लिनिकल फर्माक्लोजिष्ट शुरुमा नै राम्रोसँग अध्ययन नगरी उत्पादनका लागि अनुमति दिँदा अहिले समस्या आएको बताउँछन्। ‘खासमा उत्पादन अनुमति दिने समयमा नै यी औषधीको गुणस्तर र प्रभावकारिताबारे राम्रोसंँग अध्ययन गरेर अनुमति दिएको भए समस्या आउने थिएन’, उनले भने, ‘अहिले ५/६ वर्षसम्म त नेपालीले औषधी खाइएको पाइयो नि त!’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.