|

दाङ : नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले आजको स्थितिमा देशभरका सबै मेडिकल कलेजहरू बन्द हुन अवस्थामा रहेको बताएका छन्।

बिहीबार दाङको तुलसीपुरमा रिपोर्टस् क्लब दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलन उनले यस्तो बताएका हुन्।

उनले भने,‘कलेजहरू बन्द हुने अवस्थामा छन्। धेरै कलेजहरूको सेयरहरू बिक्री  भइरहेका छन्। यो तीन वर्षको अवधिमा ९० प्रतिशत कलेजहरू एक पटक किनबेच भएका छन्। माथि बसेका नेताहरू जिम्मेवार नहुँदा यस्तो अवस्था आएको हो ?’ देशभरका कुनै पनि नर्सिङ क्याम्पसले नर्सिङ पढाउन नपाउने भन्दै अहिले देशमा १४ सय मात्र नर्सहरू उत्पादन हुने समेत बताए। 

उनले भने,‘देशभर रहेका ३७५ वटा नर्सिङ कलेजहरू बन्द गरिएको छ। बच्चाहरू नर्सिङ पढ्न चाहन्छन्। तर, कलेजहरू छैनन्। पढाउन सक्ने क्षमता भएकाले पढाउन पाउँदैनन्। पर्खाइमा रहेका मेडिकल कलेजहरूलाई सरकारले लाइसेन्स दिँदैन। वार्षिक रुपमा एमबिबिएसको लागि ६ हजार बढि र पारामेडिकलमा ३० हजार बढि पढ्न विदेश जान्छन्। अनि पैसा बाहिर गयो भन्ने गरिन्छ।'

राज्यका माथिल्लो निकायमा बसेका व्यक्तिहरूले गर्दा कठै भन्नु बाहेक अरु विकल्प नभएको उनको भनाइ छ।

यस्तै, उनले यस आर्थिक वर्षको बजेट ४ जना दाजुहरूको क्षेत्रमा मात्र गएको समेत आरोप लगाए। उनले ५३ प्रतिशत विकास बजेट  शेरबहादुर दाइ , प्रचण्ड दाइ , प्रकाशशरण दाइ र पूर्ण बहादुर दाइको क्षेत्रमा गएको बताए। 

यो देश चार जनाको मात्र हो? भन्दै प्रश्न गरे।  उनले देशभरका नागरिकहरूले तिर्ने गरेको कर बजेटको नाममा ४ जना दाजुहरूकोमा मात्र गएको भन्दै यो कलियुगमा राज्य सत्ता र पार्टी सत्तालाई कब्जामा लिएर लुटेको आरोप लगाए। उनले भने,‘आवश्यकता र समान रुपमा बजेटको विनियोजन हुनु पर्छ। तर, त्यो भएको छैन।'

यसैगरी उनले आफू कुनै पनि व्यक्तिहरूको विरुद्ध  नभइ बेथितिका विरुद्धमा आवाज उठाउँदै आएको समेत बताए। उनले भने,‘ सुनील शर्मा प्रचण्ड वा रामशरणका विरुद्धमा बोलेको जस्तो देखिन्छ, होला। तर, म व्यक्तिका विरुद्धमा नभइ बेथितिका विरुद्धमा बोल्ने गरेको छु। यो देशको प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्रीमा हुने क्विन्टल क्विन्टल सुन तस्कर एयरपोर्टबाट हुने ? जहाँ प्रहरी, सेना, कर्मचारीहरू रहेका छन्। तर, हाम्रा नेताहरू थाहा नहुने भन्ने हुन्छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.