|

संखुवासभा :  जिल्लाका किसानहरू यतिबेला गोरु घुमाएर दाइँ लाउने,धान स्वाहार्ने चटारोमा छन्। किसानहरू एकआपसमा धेरै मान्छे मिलेर दाइँ हाल्ने परम्परा थियो तर हिजोआज बिरलै त्यस्ता दृश्य देख्न पाइन्छ। संखुवासभामा पछिल्लो समय गोरुको सहायताले हाल्ने दाइँ संस्कृति लोप हुन थालेको छ।

गोरुको अभाव र कृषिमा भित्रिएको प्रविधिका कारण गाउँघरबाट दाइँ संस्कृति हराउँदै जान थालेको हो। गाउँघरमै कतिपयले अहिले फाँटमा त्रिपाल बिछ्याई धान झाँटेर धान पराल घरमा भित्र्याउन थालेका छन्। जसका कारण पहिलेजस्तो मियोमा गोरु घुमाएर दाइँ हाल्ने चलन गाउँघरबाटै हराउँदै जान थालेको छ।

एक दशक अघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ हाल्दै आएका  किसानहरू पछिल्लो समय खेतालाको अभाव हुने थालेपछि आधुनिक मेशिनको सहायताबाट दाइँ हाल्न थालेका छन्।

कृषिमा प्रविधिको विकास सँगै गोबर माटोले पोतेको खलोमा गोरुले पराल मिचेर धान झराल्ने दाइँ हाल्ने परम्परा लोप हुन थालेको हो। युवाशक्ति विदेश पलायन हुनु, साथै गाउँघरमा गोरु र काम गर्ने मान्छे पाउन समस्या हुनु र पाइएका खेतालाको ज्याला खर्च महँगो भएकाले दाइँ हाल्ने संस्कृति लोप हुन थालेको सोही ठाउँका स्थानीय सुरेश पुरीले बताए।

दाइँको तयारीका लागि ५÷७ दिन अगाडिदेखि नै फाँटको सबैभन्दा ठूलो गह्रो खुर्केर खलो लिपपोत गरेर, मियो गाडेर, धानको कुनियो लगाउने प्रचलन अहिले लोप हुने थालेको पाँचखपन नगरपालिका –१ ओक्तेनको स्थानीय भैरव बहादुर थापाले बताए।

पहिले पहिले दाइँमा सिमेभुमे नागहरूको पुजा गर्ने चलन भएपनि पछिल्लो युवापुस्ताले त्यो छाडेर आधुनिकता तर्फ लागेको थापाले बताए । एक दशक भन्दा अघिसम्म  मङ्सिर पुष महिनामा एकाबिहानै फाँटका गह्राहरूबाट धुँवा आइरहेका हुन्थे। घरकी मुल मान्छे खानाको तयारी गर्दै, गह्राभरी मानिसहरू हुन्थे कोही धान झाँट्दै, कोही गोरु धपाउँदै, कोही खानाको तयारी गर्दै त कोही पराल मियोमा हाल्दै हुन्थे स्थानीय थापाको भनाइ छ।

दाइँको दिन कुनियोबाट धानको मुठा निकाली दयराहरूले झाँट्ने, खलोमा पराल छर्ने, धेरैभन्दा धेरै गोरु मियोमा बाँधेर, दाईँगीतका भाका हाल्नुको मज्जा नै बेग्लै हुने गरेको उमेर ढल्कँदै गरेका अग्रजहरू बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.