|

काठमाडौं : सुदर्शन थापा निर्देशित नयाँ फिल्म 'म यस्तो गीत गाउँछु' यही असार ३० गतेबाट प्रर्दशनमा आउँदैछ। अहिले निर्माण युनिट त्यही फिल्मको प्रोमोसनमा ब्यस्त छ। 

फिल्मको ट्रेलर तथा ३ गीत सार्वजनिक भइसकेका छन्। ट्रेलर तथा गीतमा पूजा शर्मा र पल शाहको जोडीलाई रुचाइएको छ। बिहीबारसम्म युट्युबमा फिल्मको ट्रेलरलाई १२ लाख बढी पटक हेरिसकिएको छ। जसमा दर्शकबाट राम्रो प्रतिक्रिया पनि पाएको छ। फिल्मको गीतले पनि युट्युबमा राम्रै दर्शक पाएको छ। 

निर्देशक सुदर्शन आफ्नो फिल्मको ट्रेलर र गीतबाट पाएको प्रतिक्रियाले हर्षित छन्। फिल्म हेर्नलाई दर्शक उत्साहित भएको उनी बताउँछन्। 'दर्शक फिल्म हेर्न एकदमै आत्तुर हुनुहुन्छ' उनी भन्छन् 'दर्शकले म्यासेज र फोन गरेर पनि फिल्म हेर्न आतुर छौं भन्नुहुन्छ। त्यसैले म एकदमै उत्साहित छु।'

'म यस्तो गीत गाउँछु' फिल्मको नाम यसअघिको सफल फिल्म 'प्रेम गीत'को शीर्ष गीतबाट तानिएको हो। फिल्म 'प्रेम गीत'लाई पनि थापाले नै निर्देशन गरेका थिए। प्रदर्शनको समयमा निर्माण युनिटबीच खटपट भई टिम फुट्न पुग्यो। 'प्रेम गीत' निर्माता सन्तोष सेन र नायक प्रदीप खड्का एकातिर भए र निर्देशक थापा र नायिका पूजा शर्मा अर्कातिर भए।

अहिले 'प्रेम गीत' निर्माता सेनले नायक प्रदीप खड्कालाई लिएर 'प्रेम गीत-२' निर्माण गरेका छन् भने 'प्रेम गीत' निर्देशक थापाले पनि नायिका पूजा शर्मालाई लिएर 'म यस्तो गीत गाउँछु' बनाएका हुन्। 

फिल्म बजारमा अहिले यी दुई फिल्मको निकै चर्चा हुने गरेको छ। दुई फिल्मलाई एकअर्कासँग दाँज्नेहरु पनि धेरै छन्। फिल्म 'प्रेम गीत-२' को ट्रेलर पनि सार्वजनिक भैसकेको छ। युट्वुबमा दर्शकहरुले दुई फिल्मको ट्रेलर तथा गीतलाई पनि तुलना गरेर हेरेका छन्। 'प्रेम गीत-२' लाई म 'यस्तो गीत गाउँछु'को प्रतिस्पर्धी र 'म यस्तो गीत गाउँछु'लाई 'प्रेम गीत-२' को प्रतिस्पर्धी भन्नेको जमात पनि ठूलो छ। प्रेम गीत २ पनि साउनको १३ गते प्रदर्शन हुँदैछ।

आफ्नो प्रतिस्पर्धा आफैसँग भएको भन्दै म यस्तो गीत गाउँछुका निर्देशन थापा आफूलाई अरुसँग तुलना गरेर हेरिरहन नपर्ने बताउँछन्। भन्छन् 'मेरो प्रतिस्पर्धा 'प्रेम गीत-२' सँग नभएर 'प्रेम गीत'सँग नै हो।'

'प्रेम गीत' मन पराएका दर्शकले 'म यस्तो गीत गाउँछु'लाई पनि मन पराउने आशा निर्देशकमा छ। 'मैले दर्शक फोकस भएर फिल्म निर्माण गरेको छु', उनी भन्छन् 'मैले यस फिल्ममा 'प्रेम गीत'मा भन्दा बढी मेहनत गरेको छु। काम पनि राम्रो भएको छ। यो फिल्मले दर्शको मन अवस्य जित्ने छ।'  

फिल्म 'म यस्तो गीत गाउँछु' म्युजिकल लभ स्टोरी फिल्म हो जहाँ लभ, रोमान्स, इमोसन छ। नयाँ कथावस्तुमा निर्माण भएको फिल्ममा दर्शकले नयाँ स्वाद पाउने छन्। फिल्ममा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, सञ्जय लामाको छायांकन रहेको छ। त्यस्तै सुदर्शन थापा र पूजा शर्माको लगानि रहेको फिल्ममा पूजा शर्मा, पल शाह, सरोज खनाल, रुपा राणा, राजाराम पौडेल लगायतको अभिनय रहेको छ।  

हेर्नुहोस् म यस्तो गीत गाउँछु ट्रेलर :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.