|

रुपन्देही : झण्डै एक दर्जन तहमा उम्मेदवारी दर्ता गराएका राष्ट्रिय जनता पार्टी समर्थित उम्मेदवारले अपेक्षा अनुसार जित निकाल्न सकेनन्। रुपन्देही र कपिलवस्तुमा जम्मा दुई प्रमुखमा मात्रै राजपा समर्थित स्वतन्त्रले जित हासिल गरेका छन्।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनमोहन चौधरी विजयी भए। राजपाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष मण्डलका सदस्य रहेका चौधरीले अन्तिम समयमा मेयरमा उम्मेदवारी दिएका थिए। 

लुम्बिनी सहित कोटहीमाई, सम्मरीमाई, मर्चवारी र मायादेवीमा राजपाका नेताहरुले उम्मेदवारी दिएका थिए। तर लुम्बिनीमा मात्रै सफलता मिलेको छ। लुम्बिनीको वडा नम्बर १ को अध्यक्षमा धर्मप्रसाद कुर्मी विजयी भए। राजपाका राष्ट्रिय उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ला नै चुनावी प्रचारमा हिँडेपनि उम्मेदवारहरु विजयी हुन सकेनन्। 

लुम्बिनी सांस्कृतिक नगरपालिकामा संघीय समाजवादी फोरमका फकुरुद्दिन खाँलाई पराजित गर्दै चौधरी प्रमुख बने। चौधरीले ८ हजार १ सय ७५ मत पाए भने खाँले ७ हजार ३९ मत प्राप्त गरे।
राजपाका नेताले नै उपप्रमुखमा उम्मेदवारी दिए पनि संघीय समाजवादी फोरमकी जानकीदेवी श्रीवास्तव विजयी भइन। उनी ५ हजार ७ सय २० मत ल्याएन विजयी भइन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रमावती यादवले ४ हजार ५ सय ८८ मत पाइन्।
कपिलवस्तुको कपिलवस्तु नगरपालिकामा राजपाका नेता रामदास गुप्ताले जित्नेमा धेरै ढुक्क थिए। तर कांग्रेसका उम्मेदवार किरण सिंहसंग भारी मतले पराजित भएपछि राजपालाई झड्का लागेको छ।

राजपाका नेता गुप्ताले ५ हजार ६ सय ३१ मत पाउदा कांग्रेसका सिंहले झण्डै साढे तीन हजार बढी अर्थात ९ हजार २ सय ६५ मत पाए। गुप्ता विगत ४० वर्षदेखि कपिलवस्तुमा राजनीतिक गर्दै आएका थिए  भने यसअघि जनप्रतिनिधि थिए।

राजपाका नेता निसार अहमद खाँले मात्रै कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा अध्यक्ष पद जितेका छन्। एक अध्यक्ष पद सहित राजपाले कपिलवस्तुका तीन, महाराजगञ्जको एक वडाध्यक्षमा चित्त बुझाएको छ। शुद्धोधनमा केही सदस्य पद जितेको छ।

स्वतन्त्र उम्मेदवारी दिँदा पाएको चुनाव चिन्हको प्रचार गर्न नसक्दा हार व्यहोरेको नेताहरुले बताएका छन्। निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारी दिएका राजपाका नेतालाई चिन्ह छान्ने मौका भने दिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.