|

काठमाडौँ : गर्मीभन्दा जाडो मौसममा स्वास्थ्यमा धेरै खालका समस्या देखिन्छन्। यो मौसममा मुख्यतया निमोनिया र दम जस्ता फोक्सोसम्बन्धी समस्या देखिन्छन्।

चिसो मौसममा धेरै देखिने अर्को समस्या मुटुसम्बन्धी हो। चिसोले मुटु शिथिल बनाउँछ। चिसो मौसममा शरीरलाई तातो बनाउन तथा रक्तसञ्चार गर्न मुटुले बढी काम गर्नुपर्छ। यसबाट मुटुलाई बढी भार पर्ने भएकाले यो मौसममा मुटु तथा मुटुजन्य समस्या भएकालाई अप्ठ्यारो पार्छ। अत्यधिक चिसोले स्वस्थ व्यक्तिमा पनि हृदयघात तथा मस्तिष्कघात हुने जोखिम बढाउँछ।

वैज्ञानिक आधार नभए पनि चिसो मौसमले हृदयघात‚ मुटुको भल्ब र रक्तनली/नसा सम्बन्धी समस्या बढी देखिने सम्भावना चिकित्सकले बताउँदै आएका छन्।

चिसो मौसममा किन हृदयघात, मुटुको भल्ब र रक्तनली/सम्बन्धी समस्या बढी देखिन्छ? यसबाट बच्न के कस्ता सावधानी अपनाउनुपर्छ?

यो विषयमा वरिष्ठ मुटु, फोक्सो तथा नसा रोग विशेषज्ञ डा. सञ्जीतकुमार शाहसँग गरिएको कुराकानी:-​

गर्मीभन्दा जाडोमा मुटु तथा मुटुजन्य समस्या धेरै देखिन्छ भन्छन् नि?

चिसोकै कारण मुटुसम्बन्धी समस्या देखिने भन्ने त होइन तर चिसोको कारण मानिसमा शारीरिक सक्रियता कम हुने, खानपानको तुलनामा शारीरिक व्यायाम कम हुँदा रक्तचाप र मोटोपन जस्ता समस्या बढ्छन्। यसले गर्दा मुटुसम्बन्धी समस्या देखिने हो। चिसोले गर्दा प्रायः धेरै मानिस कम हिँडडुल गर्छन्‚ अर्कोतर्फ चिसोबाट बच्न भन्दै बढी चिल्लोपिरो खान्छन्। एक त हिँडडुल कम गरिरहेको अवस्थामा अधिक मात्रामा खानेकुरा खाँदा मोटोपन र कोलेस्टरोलको समस्या बढ्छ। यसको प्रत्यक्ष असर हाम्रो मुटुमा पर्छ।

हृदयघातको जोखिम पनि यो मौसममा धेरै हुन्छ भनिन्छ नि?

चिसोकै कारण हृदयघात हुने भन्ने यकिन वैज्ञानिक कारण त छैन। तर अघि मैले भने जस्तै यो मौसममा शारीरिक व्यायाम कम हुने तर खानपान धेरै हुँदा मोटोपन, उच्च रक्तचाप र कोलेस्टरोल जस्ता मुटुलाई प्रत्यक्ष असर गर्ने समस्या बढ्दा हृदयघातको जोखिम बढ्ने हो।

त्यसैले चिसोबाट बच्न भन्दै यो मौसममा खाइने चिल्लो तथा धेरै बोसो भएका खानेकुरा सकभर कम गर्नुपर्छ। बोसोयुक्त मासु खान हुँदैन। धेरै चिसोका कारण घरबाहिर हिँडडुल गर्न नसकिने अवस्था आए घरभित्रै पनि नियमित शारीरिक अभ्यास गर्नु उचित हुन्छ।

चिसोले रक्तनलीलाई पनि प्रभावित भइरहेको हुन्छ?

हो, चिसोको कारण प्रत्यक्ष असर पर्ने भनेको रक्तनलीहरूलाई हो। विशेषगरी हाम्रो शरीरको बाहिरी भाग (हात, औँला, गोडा) रहेका नसा चिसोबाट धेरै प्रभावित हुन्छन्। चिसोले गर्दा विशेषगरी यस्ता नसा साँघुरिदा शरीरमा रक्तप्रवाह हुन पाउँदैन र त्यसको प्रत्यक्ष असर हाम्रो मुटु, मस्तिष्क तथा शरीरका ठूला अंगमा पर्छ।

चिसोमा साधारणतया रक्तनलीहरू साँघुरिने सम्भावना बढ्छ।  शरीर चिसो भयो भने नसाले आवश्यक मात्रामा  रगत सञ्चार हुन नसक्ने भएपछि मुटुले नै बढी बल लगाएर रगत पुर्‍याउने कोसिस गर्छ, अन्ततः मुटुलाई भार पर्न जान्छ। यदि कुनै कारणले मुटु उच्च जोखिममा छ भने एन्जाइना हुनुका साथै हृदयघात पनि हुनसक्छ, हृदयघात भयो वा मुटुले राम्ररी काम गरेन भने मस्तिष्कमा स्वतः असर पर्ने हुन्छ। यति मात्रै होइन मुटुका साथै हातगोडाका नसामा समस्या भएर इस्केमिया भई कुहिएर हातगोडा काट्नुपर्ने हुन सक्छ।

यस्तो जोखिममा अझै पहिलेदेखि नै नसा सम्बन्धी समस्या भएका, भाइब्रेसन धेरै आउने मेसिनमा काम गर्नेहरूमा देखिन सक्छ। किनभने नसासम्बन्धी समस्या भएका र भाइब्रेसन धेरै आउने मेसिनमा धेरै काम गर्नेहरूको रक्तनलीको कार्यक्षमता पहिलेदेखि नै अलि कमजोर हुन्छ। चिसोले झनै यो समस्या बढाउँछ। जसले गर्दा रक्तचापको समस्या बढ्ने, मुटुको धड्कन बढ्ने र मुटु सम्बन्धी समस्या भएकाहरूलाई अप्ठ्यारो बनाउने गर्छ।

कस्ता-कस्ता लक्षण देखिए डराउनुपर्छ?

चिसो मौसममा अन्य समयमा भन्दा रक्तचापको समस्या पनि देखिने गर्छ। गर्मीको तुलनामा चिसोमा खानेकुरामा धेरै रुचि हुन्छ‚ यसले मोटोपन बढ्छ भने अर्कोतर्फ चिसोका कारण शारीरिक अभ्यास कम हुने गर्छ। यसले गर्दा रगतमा कोलेस्टरोलको मात्रा बढ्छ, जसको प्रत्यक्ष असर मुटुमा पर्ने हुँदा हृदयघातको जोखिम बढ्छ।

अधिकांश मानिसले यो लक्षण थाहै पाउँदैनन्। उकालो हिँड्दा, भर्‍याङ चढ्दा स्वाँस्वाँ हुने, सास फेर्न असजिलो हुने, चिसो मौसममा पनि पसिना बढी आउने र निमोनियाको लक्षण जस्तै छातीको बीच भागमा दुख्ने हुन्छ। चिसोको मौसममा धेरै छाती भारी भयो र बारम्बार हातगोडा झमझमाए सतर्क रहनुपर्छ। यसैगरी पहिलेदेखि नै रक्तनली सम्बन्धी समस्या भएका, उच्च रक्तचाप, कोलेस्टरोल जस्ता समस्या भएकाले विशेष सावधानी अपनाउनुपर्छ।

यस्ता समस्याबाट बच्न कस्ता उपाय अपनाउन जरुरी छ?

मुटु तथा रक्तलनीमा देखिने समस्याबाट बच्न जाडोमा सबैभन्दा पहिला शरीरलाई न्यानो राख्नुपर्छ। चिसो मौसममा न्यानो कपडा लगाएर घाम लागेका वेला एकदुई घन्टा हिँडडुल गर्नुपर्छ। यसले हाम्रा नसा साँघुरिन पाउँदैन र रक्तसञ्चार पनि राम्रो हुन्छ।

चुरोट तान्दा धुवाँसँगै चिसो हावा पनि भित्र जाने र यसले सोझै मुटुमा असर गर्न सक्छ। अर्कोतर्फ धूमपानले हाम्रा रक्तनली साँघुरो बनाउँछ। कार्बोहाइड्रेट भएको खानेकुरा कम खाने। जाडोमा धेरै खाना रुच्ने हुन्छ, जसले शरीरमा मोटोपन बढ्छ र हृदयघातको जोखिम बढ्छ। त्यसैले कार्बोहाइड्रेट भएको खाना कम खानुपर्छ।

यसका साथै खानपानमा विशेष सावधानी दिनु राम्रो हुन्छ। सकभर हरियो सागसब्जी‚ सलाद खानुपर्छ, ​चिल्लो कम भएको झोलिलो खाने कुरा पर्याप्त खान सकिन्छ। लामो समय एउटै आसनमा बस्नु हुँदैन। चिसोले गर्दा हाम्रो शरीरको बाहिरी भागका नसा प्रभावित भएका हुन्छन् जसले गर्दा राम्ररी रक्तसञ्चार नहुँदा हातगोडा झमझमाउँछ। त्यसैले कम्तिमा ३० मिनेटको अन्तरमा शरीरको आसन परिवर्तन गर्ने र शरीर तन्काउने गर्नुपर्छ।

अर्को महत्त्वपूर्ण कुरा पहिलेदेखि नै रक्तनलीमा समस्या भएका, मुटुजन्य समस्या तथा उच्च रक्तचाप र उच्च कोलेस्टरोलको समस्या भएकाले विशेष सावधानी अपनाउनुपर्छ। यस्ता समस्या भएकाहरूले यो मौसममा सकभर एकपटक चिकित्सकलाई देखाउँदा राम्रो  हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.